कञ्चनजंघा र त्रिवेणी (परिवर्तित नाम) गत माघ ८ गते आफूले काम गर्दै आएको प्रोजेक्टका लागि लुम्बिनी गएका थिए।
काम सकिँदासम्म दिन ढल्किसकेको थियो। घर पुग्न उनीहरूलाई २० मिनेट गाडीको यात्रा गर्नुपर्थ्यो। बिहान लुम्बिनी जाँदा सार्वजनिक सवारीमा गएका उनीहरूसँग घर फर्किने अर्को विकल्प पनि थिएन।
लुम्बिनीमा दिनैभरिजसो आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भइरहन्छ। विभिन्न स्थानबाट आएका पर्यटकका गाडी ओहोरदोहोर गरिरहन्छन्।
कञ्चनजंघा र त्रिवेणी घर फर्किनलाई पर्सा चोकमा आएर गाडी कुर्न थाले।
त्यही बेला कालो नम्बर प्लेटको एउटा भ्यान उनीहरूको अगाडि आएर रोकियो। भ्यानबाट ओर्लिएर एक जनाले भन्यो, 'गाडी पर्खेर बसेको भए भ्यान खाली छ।'
उनीहरूले गाडीभित्र हेरे। चालक मात्र थिए। यात्रु नभएको गाडीमा जाँदा कतै बिचल्ली पर्ने त होइन भन्ने कञ्चनजंघाको मनमा आएको थियो। तर उनले आफैंलाई सान्त्वना दिँदै सोचिन्, रात परिसकेको छैन, त्यसमाथि यति व्यस्त सडकमा के पो होला र!
यही सोचेर उनीहरू भ्यानमा चढे।
पर्सा चोकबाट हुइँकिएर बढेको भ्यान पाँच/सात मिनेटपछि सुनसान ठाउँमा सडक किनार घ्याच्च रोकियो।
कञ्चनजंघाले सोधिन्, 'यस्तो बस्ती नभएको बीच बाटोमा किन रोकेको?'
भ्यानमा रहेको एक जनाले जवाफ दियो, 'खेतमा परालको मुठा छ लिएर जाने हो।'
कञ्चनजंघाको मनमा चिसो पस्यो तर उनले आफ्नो मनको डर सँगै रहेकी त्रिवेणीलाई सुनाउन सकिनन्।
भ्यानबाट ओर्लिएका दुवै जनाले परालको मुठा उठाउन सहयोग गर्न भन्दै कञ्चनजंघा र त्रिवेणीलाई बोलाए। छेउको सिटमा बसेकी त्रिवेणी पराल उठाउन सहयोग गर्न भन्दै खेततर्फ गइन्। कञ्चनजंघा भने झरेकी थिइनन्।
यत्तिकैमा कञ्चनजंघाको छेउमै उभिएको केटाले उनको हात समातेर भ्यानबाट बाहिर निकाल्यो र उनको मुखमा कपडा कोचिदियो।
कञ्चनजंघा चिच्याउन पनि सकिनन्।
त्यही बेला उनले प्रहरीको १०० नम्बरमा फोन गर्यो भने तत्काल उद्धार हुन सक्छ भन्ने सम्झिइन्। उनले मोबाइल झिकेर फोन गर्न खोजिन् तर त्यो व्यक्तिले उनको हातको मोबाइल खोसेर खेततिर हुत्याइदियो।
त्यही मौकामा उनी मुखमा कोचिएको कपडा फालेर जोडसँग चिच्याइन्।
केही पर गहुँ खेतमा दुई जना युवा सिँचाइ गर्दै थिए। झमक्क साँझ परेका बेला खेतको बीचबाट युवती कराएको सुनेपछि उनीहरू दौडिँदै आए।
उनीहरूलाई दौडिँदै आएको देखेर कञ्चनजंघामाथि जबरजस्ती करणीको प्रयास गरेको युवक भ्यान लिएर भाग्यो। त्यति बेलासम्म त्रिवेणी भने बलात्कृत भइसकेकी थिइन्।
गहुँ खेतबाट दौडिँदै आएका दुई जनाले त्रिवेणीलाई बलात्कार गर्ने युवकलाई रंगेहात समाते।
रंगेहात समातिएका युवक २० वर्षीय गणेश यादव हुन्। घटनास्थलबाट भागेका युवक भने लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बस्ने २६ वर्षीय सुवास यादव थिए जसलाई त्यसै रात ११ बजेतिर प्रहरीले महजिदिया चोकबाट पक्राउ गर्यो।
यसबीच कञ्चनजंघाले खेतमा फालिएको आफ्नो मोबाइल खोजिन् र प्रहरीलाई फोन गरिन्।
प्रहरी कन्ट्रोल रूमले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीलाई तुरून्तै घटनास्थल पठायो। फोन गरेको १० मिनेटमै उनीहरूको उद्धार गरियो।
'१०० नम्बरमा फोन गर्न त पहिले नै खोजेकी थिएँ, हातमा लिएको मोबाइल फालिदिएपछि सम्भव भएन,' कञ्चनजंघाले सेतोपाटीसँग भनिन्।
यस्तो आपत् पर्दा १०० नम्बरमा फोन गर्नुपर्छ भनेर रेडियो र टेलिभिजनमा बजाइने सूचना र सार्वजनिक स्थलहरूमा टाँसिएका पोस्टर-पम्प्लेटबाट उनले थाहा पाएकी थिइन्।
'फोन गरेँ भने तत्काल प्रहरी आउँछ भन्ने सोचाइले हिम्मत बढेर प्रतिकार गर्न सकेकी थिएँ। कमजोर भएकी भए जे पनि हुन सक्थ्यो,' उनले भनिन्, 'उसले मेरो घाँटी अँठ्याइरहेको थियो। मलाई मार्न पनि सक्थ्यो।'
केही समयको घम्साघम्सीपछि आफू बलात्कृत हुनबाट जोगिए पनि सँगै गएको साथीलाई जोगाउन नसकेकोमा दुःख लागेको उनले बताइन्।
'साथीको हालत खराब छ,' उनले भनिन्, 'घटनापछि एकोहोरो भएको छ, टाउको र पेट दुख्यो भनिरहन्छ।'
आफूमाथि भएको घटना आफैंले बाहिर ल्याउन हिम्मत जुटाएकी कञ्चनजंघाले अगाडि भनिन्, 'बलात्कृत हुनुमा छोरी मान्छेको कुनै कमजोरी वा दोष हुँदैन तर समाजले हामीमाथि नै प्रश्न उठाउन थाल्छ।'
यस्ता घटनामा संलग्नहरूलाई नेपालको कानुनले कस्तो सजाय दिन्छ भन्ने पनि उनलाई थाहा छैन। 'खोइ प्रहरीले पक्राउ गरेर लैजानुभएको हो, कारबाही हुन्छ होला नि,' उनले भनिन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरेपछि भोलिपल्टै जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान सुरू गरिएको बताए।
युवतीले घटनास्थलबाटै फोन गरेका कारण अभियुक्तलाई रंगेहात पक्राउ गर्न सक्दा कारबाही बढाउन सहज भएको प्रहरी उपरीक्षक केसीले बताए।
'हामीले घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्नू भनेर भनिरहेका हुन्छौं तर धेरै जना हिच्किचाउने गर्छन्। बलात्कारजस्ता घटना त धेरैपछि मात्र प्रहरीकहाँ आइपुग्छन्। तत्काल खबर भयो भने अनुसन्धान गर्न सजिलो हुन्छ,' उनले भने।
उनले अगाडि भने, 'हामीकहाँ यस्तो घटनामा पीडितलाई नै दोषी देखाउने प्रवृत्ति छ। त्यसैले अहिलेसम्म धेरैले हिम्मत जुटाउन सक्नुभएको छैन। सबैले हिम्मत गर्ने र प्रहरीलाई सहयोग गर्ने हो भने समाजबाट यस्ता आपराधिक कार्य रोक्न सकिन्छ।'
यो पनि हेर्नुहोस्: