दुई वर्षअघिसम्म लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा धेरै सटरहरू थिए। ७३ वटा व्यावसायिक सटरहरू अस्पतालले भाडामा लगाएको थियो।
तिनमा रहेका फार्मेसी र क्लिनिकबाट अस्पताल विकास समितिले ७ करोड बढी आम्दानी गर्थ्यो। यो आम्दानीभन्दा भारी थियो अस्पतालले यिनकै कारण कमाएको बदनामी।
किनभने सरकारी अस्पतालमा काम गर्ने डाक्टर अस्पताल वरिपरिका निजी क्लिनिकमा बढी भेटिन्थे। लुम्बिनी अस्पतालमा आउने बिरामीले भने घण्टौं लाइन बस्दा समेत उपचार पाउँदैन थिए।
अस्पतालको आन्तरिक प्रशासन गतिलो थिएन।
गरिब तथा असहाय बिरामीहरूको लागि सरकारले नि:शुल्क वितरण गर्ने औषधीहरू समेत बिरामीको पहुँचमा थिएनन्।
उपकरण, औषधी खरिद र वितरणमा अनियमितता भएका समाचार बारम्बार सुनिन्थे।
बिरामीहरूलाई जीवन दान दिने अस्पतालका कोठाहरूमा धेरैपटक अख्तियारको टोली छापा हान्न पुग्थ्यो।
पछिल्ला केही वर्षयता भने लुम्बिनी प्रादेशिक अस्पतालले विस्तारै सुधारको बाटो समातेको छ।
नौ दिन अघिदेखि लुम्बिनी अस्पतालमा बुवाको उपचार गराइरहेका सुरेन्द्र परियार अस्पतालको फेरिएको रूप देखेर दंग परेका छन्।
उनी चार वर्ष पहिले कसैलाई लिएर यो अस्पतालमा आएका थिए। त्यो बेला र अहिले धेरै परिवर्तन आएको उनले बताए।
'अस्पतालको संरचनादेखि सेवासम्म राम्रो भएछ', उनले भने, ‘पहिले त यस्तो थिएन, डाक्टरहरूलाई भेट्न पनि पाइँदैनथ्यो, अहिले त धेरै सुधार भएछ।’
चार वर्षअघि आउँदा उनले लुम्बिनी अस्पतालको हालत देखेकाले यसपालि बुवालाई लिएर उनी बुटवलकै निजी अस्पतालमा गएका थिए।
तर निजीले लुम्बिनीमै रिफर गर्यो।
‘पहिले निजी अस्पतालमा लगेको थिएँ, त्यहाँबाट रिफर गरेपछि यहाँ ल्याएको हो। ठिकै भएछ,’ उनले भने।
लामो समयदेखि बुटवलमा सर्जिकल सामग्रीको व्यवसाय गर्दै आएका विजय खनाल यसै साता बिरामी परे।
उनी लुम्बिनी अस्पतालमै भर्ना भए। सुरूमा त यो अस्पतालमा राम्रो सेवा पाइन्न कि भन्ने डर पनि छँदै थियो तर एकदिन बस्दै उनले सुधारको महसुस गरे।
‘अस्पतालले विगतमा गुमाएको आफ्नो साखलाई फर्काएको देख्दा खुसी लाग्यो,’ खनालले भने।
पहिले अस्पतालमा जथाभावी जाने मानिसहरूको प्रवेशलाई रोक्न नसक्दा बिरामीका आफन्त, कुरूवा तथा स्वास्थ्यकर्मीहरूकै समेत गरगहना, मोबाइल र पैसा चोरिने गरेका गुनासो आउने गर्थ्यो।
अहिले भने अस्पतालले बिरामीका कुरूवा तथा भिजिटरलाई कार्ड दिन थालेको छ। कार्ड नभएका मानिस भित्र छिर्न पाउँदैनन्।
‘भिजिटर कार्ड बाहेकका मानिसलाई अस्पतालभित्र जान रोक लगाएपछि अनावश्यक भिडभाड र चोरी हुने समस्या पनि हटेको रहेछ। बिरामीहरूको उपचार सेवासँगै आन्तरिक व्यवस्थापन सुधार भएको महसुस भयो,’ खनालले भने।
अस्पताल सुधारको सुरूआत परिसरमै रहेका निजी क्लिनिकहरू हटाएर भएको थियो।
दुई वर्ष पहिलेसम्म निजी क्लिनिकले घेरिएको अस्पताललाई अहिले सडकबाटै देख्न मिल्ने बनाइएको छ। सटर भत्काएर कम्पाउण्डर लगाइएको छ।
वरिपरिका निजी क्लिनिक हटाएपछि चिकित्सकहरू पनि आफ्नो कार्य समय अस्पतालमै बस्न थालेको अस्पताल प्रशासनका कर्मचारीहरू बताउँछन्।
यता अस्पताल प्रशासनले पनि चिकित्सकको निगरानी बढायो। हाजिरी र ड्युटीमा कडाइ गर्यो।
भर्ना भएका बिरामी हेर्ने राउण्ड सकेर १० बजेसम्म ओपिडीमा बसिसक्नुपर्ने नियम लागु भयो। ४ बजेसम्म अनिवार्य बस्ने नियम लाग्यो।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर भट्टराई दुई वर्षकै अवधिमा अस्पतालको भौतिक संरचनादेखि सेवा विस्तारसम्म निकै परिवर्तन गरिएको दाबी गर्छन्।
‘२०७६ साल माघ २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा अध्यक्ष भएर जाँदा मैले अस्पताल आफैं बिरामी भएको देखेको थिएँ। भौतिक संरचना सबै जीर्ण भइसकेका थिए, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू कोहीप्रति पनि जवाफदेही थिएनन्,' उनले भने, 'मैले अस्पतालको सेवा, भौतिक संरचना र आन्तरिक प्रशासन सुधार गर्ने गरी काम अघि बढाएँ, जुन सफल पनि भयो।’
गएको महिनामात्रै स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्यांकन नतिजाले पनि अस्पतालको सेवा सुधार भएको पुष्टि गर्छ।
अघिल्लो वर्ष ४९ प्रतिशत रहेको अस्पतालको न्यूनतम सेवा मापदण्ड यस वर्ष ७४ प्रतिशत पुगेको अनुगमन तथा मूल्यांकन टिमले बताएको थियो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमणले नेपालका सेकेन्डरी बी लेवलका अस्पतालहरूमध्ये यो सेवा उत्कृष्ट भएको बताएका थिए।
वि.सं १९६७ फागुन १५ गते बुटवलको जितगढीमा सामान्य अस्पतालको रूपमा यो अस्पतालको स्थापना गरिएको थियो।
२०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालको रूपमा विकास गरियो। त्यो बेला ५० बेडको अस्पताल भएको थियो। २५ वर्षपछि अरू ५० बेड थपियो।
२०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आयो। यसको नाम फेरेर लुम्बिनी प्रादेशिक अस्पताल राखियो। अहिले ५ सय २० बेडको ठूलो अस्पताल बनेको छ।
दैनिक ८ सयदेखि १ हजारसम्म बिरामीहरू उपचारको लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ६० प्रतिशत बढी बेड बिरामीले भरिने गर्छन्।
अहिले सञ्चालनमा रहेको अस्पतालको पुरानो भवन २०१६ सालमा निर्माण गरिएको थियो।
६२ वर्षे बुढो र जीर्ण भवन उच्च भूकम्पीय जोखिममा रहेकोले नयाँ भवनहरू बनाइएको छ।
अस्पतालको भौतिक संरचना निर्माणमा संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरेको छ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष भट्टराई आफ्नो २३ महिनाको अवधिमा भौतिक पूर्वाधार र उपकरणका लागि झण्डै एक अर्ब रुपैयाँ लगानी गरिएको बताउँछन्।
भट्टराईका अनुसार दुईपटक गरी संघीय सरकारले भौतिक संरचना बनाउन ५८ करोड रुपैयाँ दिएको थियो।
त्यस्तै, अस्पताल विकास समितिले इमरजेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा करिब ३५ करोड रुपैयाँ लगानी गरेको भट्टराईले बताए।
वि.सं. १९६७ सालमा स्थापना हुँदा दुई जना डाक्टर र ६ शय्या रहेको अस्पतालमा अहिले १ सय चिकित्सक कार्यरत छन्। तीमध्ये ७० जना मेडिकल अफिसर र ३० जना विशेषज्ञ चिकित्सक छन्।
२ सय ५० स्टार्फ नर्स तथा प्यारामेडिक्स, कर्मचारी गरी ७ सयभन्दा बढी जनशक्ति अस्पतालमा कार्यरत छन्।
दैनिक ८ सयदेखि १ हजारसम्म बिरामीले सेवा लिन्छन्।
वर्षमा करिब साढे दुई लाख बिरामीले उपचार पाइरहेको तथ्यांक अस्पताल प्रशासनसँग छ।
सामान्य चिकित्सा (मेडिकल) विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थेसिया, आइसियू सेवा, दन्त सेवा विभाग, ल्याबसम्बन्धी सेवा, सिटी स्क्यान सेवासमेत अस्पतालमा छन्।
निवर्तमान अध्यक्ष भट्टराईका अनुसार अस्पतालमा हृदयरोग विभाग र आँखा विभाग थिएन। अहिले दुई वटै विभाग सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ।
छिट्टै नै क्याथल्याब सहितको मुटुको उपचार गर्ने तयारीमा रहेको उनी बताउँछन्।
साविक लुम्बिनी अञ्चलका जिल्लाहरू मात्र नभई सिंगो लुम्बिनी प्रदेशसँगै अन्य प्रदेशका बिरामी पनि उपचारको लागि यहाँ आउने गर्छन्।
गत वर्षदेखि कोरोना संक्रमितको उपचारमा लुम्बिनी प्रदेशकै नेतृत्व गरेको अस्पतालले त्यसयता पनि सेवा सुधार र विस्तार गर्दै गएको छ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल घोषणा गरेपछि कोभिड महामारीकै बीचमा पनि अस्पतालले करिब आधा दर्जन सेवा विस्तार गरेको थियो।
केही महिना अघिमात्रै अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी लिएका डा. इन्द्र ढकाल कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले निकै कुरा सिकाएको बताउँछन्।
तेस्रो लहरललाई लक्षित गरी एउटै भवनबाट ७ बेडको इमर्जेन्सी, ३३ बेडको एचडियू र ६ भेन्टिलेटरसहित २० बेडको आइसियू सञ्चालन गरिएको बताउँछन्।
कोभिड संक्रमितहरूको लागि डायलासिस सेवा दिन छुट्टै मेसिन,र शल्यक्रिया सेवा समेत सुरू गरेको ढकालले बताए।
सरकारले मिर्गौलाका बिरामीहरूको डायलासिस सेवालाई नि:शुल्क गरेपछि ५ बेडबाट सुरू गरिएको डायलासिस सेवालाई अहिले १२ बेड थपेर १७ पुर्याइएको छ।
अहिले २४ घण्टा डायलासिस सेवा सञ्चालनमा छ।
पहिले एचआइभी र हेपाटाइटिस बि भएका बिरामीलाई डायलासिसको लागि काठमाडौं जानुपर्ने बाध्यता थियो। अहिले बुटवलबाटै सेवा दिन थालिएको छ।
सेरो पोजेटिभ डायलासिसको लागि २ बेडको संरचना तयार गरिएको डा. ढकाल बताउँछन्।
पूर्वपश्चिम र सिद्धार्थ राजमार्गको छेउमै रहेको यो अस्पतालमा दुर्घटनामा परेका बिरामीहरूको पनि अत्यन्त चाप हुने गर्छ।
त्यसैले अस्पतालले अहिले इमर्जेन्सी नजिकै ट्रमा वार्ड सुरू गरेको छ।
डा. ढकाल आपतकालीन अवस्थामा सेवा लिन आउने बिरामीहरूको लागि एक दुई मिनेट पनि महत्वपूर्ण हुने भएकोले तत्काल उपचार गर्न सकियोस् भनेर ट्रमा वार्ड सुरू गरिएको बताउँछन्।
बुटवलमै प्रसूति तथा बालबालिकाको लागि सिद्धार्थ बाल तथा महिला अस्पताल सञ्चालनमा रहे पनि लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाहरूको संख्या ठूलो छ।
डा. ढकाल दैनिक ३० बढीलाई सामान्य प्रसूति र १२ देखि २० जनासम्मको अपरेसन गरी करिब ५० जनाको प्रसूति गराउने सेवा दिने गरेको बताउँछन्।
तीबाहेक जटिल प्रकारका १० देखि १२ र मध्यम प्रकारका पनि १० देखि १२ जनासम्मको अपरेसन हुने गरेको छ।
लुम्बिनी प्रदेश सरकारले यो अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाएको छ।
गुरूयोजना बनाएरै १२ सय बेडको ठूलो अस्पतालका रूपमा विकास गर्ने प्रदेशको योजना छ।
प्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन र डिपिआरको काम पूरा भइसकेको छ। चालु आर्थिक वर्षभित्रै टेण्डर प्रक्रियामा लैजाने योजना रहेको ढकालले बताए।
विकास समितिको पहलमा नेपाल सरकारले अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरूयोजना बनाइ काम अगाडि बढाएको हो।
नयाँ गुरूयोजना अनुसार यो अस्पतालमा अहिले थप गरिने सेवा सुविधाले १ सय वर्षसम्म धान्ने अनुमान गरेको छ।
गुरूयोजना अनुसार अस्पतालको संरचनाका लागि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नयाँ बन्ने अस्पतालको भवनमा १२ सय शय्या, क्याथ-ल्याब, एमडी आइसियू, एसआइसियू, सिसियू, सिटिभी र स्वीट वार्डको समेत डिजाइन गरिएको छ।