नगरभित्रका सबै सामुदायिक विद्यालयको समान शैक्षिकस्तर स्थापित गर्न बुटवल उप-महानगरपालिकामा ‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा कार्यान्वयनमा गएको छ।
२०७४ सालमा नगर शिक्षा ऐन लागू गरेको उप-महानगरपालिकाको यो अवधारणा कार्यान्वयन सफल भएमा बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्ने उपमहानगरपालिकाको दाबी छ।
नगर प्रमुख शिवराज सुबेदीले बुटवल उप–महानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शिक्षाको समानस्तर कायम गरी विद्यार्थीलाई नजिकैको विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्न यस्तो अवधारणा अगाडि बढाईएको बताए।
सुवेदीले बुटवलभित्रका जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक कृयाकलाप प्रदान गर्न ‘सिंगो बुटवलः एक विद्यालय अवधारणा’ अगाडि ल्याईएको जिकिर गरे।
‘बुटवलभित्रका सबै वडाका विद्यालयमा शिक्षाको समानस्तर स्थापित भएमा विद्यार्थी घरदेखि टाढा र महंगो भनिएका निजी विद्यालयमा गएर अध्ययन गर्नुपर्दैन’, सुवेदीले भने, ‘शैक्षिकस्तर राम्रो भएको बहानामा धनीका छोराछोरीले महंगो विद्यालयमा पढ्ने र गरिबका छोराछोरीले कमजोर विद्यालयमा पढ्ने भन्ने विभेदको पनि अन्त्य हुन्छ, यसले शिक्षामा पनि समान विकास हुँदैजान्छ।’
उपमहानगरपालिकाका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले यहीँ अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४० लाख रूपैयाँ विनियोजन गरि कार्यान्वयनमा लगिएको जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षाका लागि ९ करोड बजेट बिनियोजन गरेको खनालले बताए।
उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ देखि शिक्षा कार्यनीतिमा सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने नीति बनाएको छ।
बुटवल उप–महानगरपालिका भित्र ३८ वटा सामुदायिक विद्यालय छन्। ती मध्ये आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन् भने संस्थागत विद्यालयको संख्या ५७ छ।
नगरभित्रका सामुदायिक विद्यालयमा पनि भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्दति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता छैन।
जसले गर्दा कतिपय विद्यालयमा विद्यार्थीको उच्च उपलब्धि र कुनै विद्यालयमा न्यून उपलब्धिका कारण कुनै सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप र कुनै विद्यालयमा अत्यन्त कम हुँदा मर्ज हुने अवस्थामा छन्।
‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा कार्यान्वयनमा गएपछि सबै विद्यालयको भौतिक, आर्थिक, मानवीय प्रशासनिक एवं अन्य प्रकारका साधन स्रोतको उच्चतम प्रयोग भइ अपेक्षित नतिजासमेत हाशिल गर्न सकिने बुटवल उपमहानगरको अपेक्षा छ।
नगर प्रमुख सुवेदीले शिक्षाको स्तरमात्र सुधार गर्ने नभई विद्यार्थीलाई डेढ घण्टा हिँडेर ८-१० वटा सडकका चोक पार गरि विद्यालय पुग्नुपर्ने बाध्यता हट्ने बताए। उनले घर पायक विद्यालयमा नै गुणस्तरीय शिक्षाको सर्वसुलभ र सहज पहुँच सुनिश्चितता गर्ने आफूहरूको योजना रहेको दाबी गरे।
यो अवधारणामा निश्चित मापदण्डको आधारमा नगर भित्रका सामुदायिक विद्यालयलाई ८ वटा समूह (क्लष्टर) मा विभाजन गरिनेछ। ती समूहमा पर्ने कमजोर विद्यालयको नेतृत्व शैक्षिकस्तर राम्रो भएको विद्यालयलाई अभिभावक विद्यालयको रूपमा तोकिएको छ।
अभिभावक विद्यालयले आफ्नो समूहमा रहेका अन्य विद्यालयलाई शैक्षिक, प्राविधिक सहयोग गर्ने, पाठ्यक्रम, शिक्षण प्रक्रियाको सिकाईलगायत नमूना पाठ प्रदर्शन, विद्यार्थी व्यवस्थापन, परामर्श, शिक्षक तथा कर्मचारी नियुक्तिमा सघाउनुपर्ने अवधारणामा उल्लेख छ।
नगरप्रमुख सुवेदीले सबै क्षेत्रमा परिवर्तन गर्न सबैभन्दा पहिले शिक्षामा सुधार गर्नुपर्ने भन्दै यो अवधारणा कार्यान्वयन भए १० वर्ष पछिको बुटवलको अवस्थामा उल्लेख्य सुधार हुनसक्ने बताए।
नगर उपप्रमुख गुमादेवी आचार्यले स्थानीय सरकार गठनपछि शिक्षा ऐन नियमावली निर्माण, छात्रवृत्ति वितरणसम्बन्धी नीति कार्यविधि, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षक दरबन्दी वितरण, विद्यालयको भवन, प्रयोगशाला जस्ता भौतिक पुर्वाधार निर्माण भईरहेको र यो योजनाले शैक्षिकस्तर सुधारमा सघाउ पुग्ने बताईन्।