पर्यटकहरूको स्वागतका लागि सात करोड बढी रकम खर्चिएर प्रवेशद्वार निर्माण गरेको रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा भने बेवास्ता गर्दै आएको छ।
बेलहिया नाकामार्फत् पैदलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूको लागि नगरपालिकाले डण्डा पुलनजिकै सात करोड बढी रकम खर्चिएर निर्माण गरेको प्रवेशद्वारको यसै महिना उद्घाटन गरेको थियो।
तर, नगरपालिकाले फोहोर व्यवस्थापनको लागि उचित निकास निकाल्न नसक्दा नगरबासीले ६ लेन सडकमै लगेर फोहोर थुपार्ने गरेका छन्। हरियालीसहितको फराकिलो र चिल्लो सडकको किनारमा थुपारिएका फोहोरले सिंगो बजार क्षेत्रलाई नै कुरुप बनाउने गरेको छ।
नगरपालिकाले भैरहवा लुम्बिनीको प्रवेशद्वार भएको दावी गर्दै लुम्बिनीका लागि आउने पर्यटकहरूलाई बुद्ध जन्मस्थल प्रवेश गरेको आभास दिलाउन सडक डिभाइडरमा बुद्धमूर्ति निर्माण र करोडौं खर्चिएर प्रवेशद्वार निर्माण गरेको दाबी गर्दै आएको छ।
तर, बाहिरबाट आउने पर्यटकहरूको सबैभन्दा पहिले ध्यान पुग्ने सडक किनारमा थुपारिएको फोहोर भने सिंगो नगरपालिकालाई गिज्याउने गरेको छ।
सिद्धार्थनगरका बुद्धचोक, लुम्बिनी रोडमा सडक किनारभरि यत्रतत्र फोहोरका थुप्रो थुपारिएको देखिन्छ। घर तथा पसल व्यवसायबाट उत्सर्जन हुने फोहरलाई सडकमै फाल्ने गर्दा सडक दुर्गन्धित मात्रै होइन सवारी साधनका प्रयोगकर्ताहरूलाई समेत दुर्घटनाको जोखिम बढेको छ।
विशेषगरी भैरहवाको मुख्यचोक भनिने बुद्धचोकको मूल सडकको यात्रु प्रतिक्षालयमै स्थानीय व्यवसायीहरूले फोहोर थुपार्दै आएका छन्। सिद्धार्थनगरको वडा नम्बर ९ का स्थानीयले दैनिक रुपमा उत्सर्जन हुने फोहर पनि सोही सडक किनारमा ल्याएर थुपार्ने गर्दा बस पर्खिएर प्रतिक्षालयमा बस्न यात्रुहरूलाई पनि कठिन हुने गरेको छ।
सडक किनारमा थुपारिएको फोहोरलाई कुकुर र छाडा चौपायाले यत्रतत्र पारिदिँदा वरिपरि दुर्गन्ध फैलिने गरेको छ भने विशेषगरी मोटरसाइकल चालकलाई दुर्घटनाको खतरा हुने गरेको छ।
नगरपालिकाका फोहोर व्यवस्थापन शाखा प्रमुख केशवप्रसाद पौडेलले उक्त स्थानमा फोहोर संकलन केन्द्र बनाइएको र फोहोर संकलन भएपछि अन्यत्र लगेर फाल्ने गरिएको बताए। पौडेलले फोहोर थुपार्ने स्थान अन्यत्र नभएको कारण सडक किनारमा थुपारेर पछि ट्याक्टरमा उठाएर अन्यत्र लैजाने गरेको दाबी गरे।
नगरपलिकाले डण्डा नदी किनारमा फोहोर फाल्दै आएकोमा मेडिडिहवा, पक्लिहवा क्षेत्रका स्थानीयले विरोध जनाउँदै आएका छन्। मानिसहरूको मृत्युपछि दाहसंस्कारको लागि घाट निर्माण गरिएको डण्डा नदी किनारमा अव्यवस्थित रूपमा फोहोर फाल्दा नदी नै प्रदूषित बनेको भन्दै स्थानीयले अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन्।
स्थानीयले दुई तीन वर्ष पहिलेदेखि नै फोहोर फाल्न अवरोध जनाएपछि सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन समाधानसहित फोहोरको उचित व्यवस्थापन गर्न पहल गर्ने भनेर सम्झौता गरेको थियो। तर हालसम्म पनि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन।
स्वर्गद्वारी घाट उपभोक्ता समितिका अध्यक्ष राजा प्रताप शाहीका अनुसार २०३५ सालमा ब्रिटिश सेनाको स्थानान्तरण भएपछि सो क्षेत्रमा फोहोर फालिँदै आएको र अहिले बस्ती विकास हुँदै गर्दा बस्तीमा दुर्गन्ध फैलिने गरेको छ।
सिद्धार्थनगरबाट दैनिक ३० टन भन्दाबढी फोहोर उत्सर्जन हुँदै आएको छ। त्यतिधेरै परिमाणको फोहोर सिधै लगेर नदी किनारमा फाल्दा नदीको जैविकतासमेत नष्ट हुँदै गएको स्थानीयको भनाइ छ।