गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विभिन्न कम्पनीका जहाजले दैनिक २४/२५ वटा उडान भर्छन्।
पहिले काठमाडौंको लागि मात्रै उडान गर्ने विमान कम्पनीहरूले पछिल्ला वर्षमा पोखरा, चितवन र विराटनगरका लागि उडान गर्न थालेका छन्।
जति जहाजले भैरहवाबाट काठमाडौं, पोखरा, चितवन र विराटनगरका लागि उडान भर्छन्, त्यत्तिकै संख्याका विमान फेरि भैरहवा अवतरण पनि गर्छन्।
उडान र अवतरण गरी भैरहवाबाट काडमाडौं, पोखरा, चितवन र विराटनगर ओहोरदोहोर गर्ने यात्रुहरूको संख्या दैनिक दुई हजारको हाराहारीमा हुने गर्छ।
मौसम बिग्रिएको समयमा उडान भर्ने विमान र यात्रुहरूको संख्यामा केही कमी भएपनि वर्षायाम र चाडपर्वको समयमा हवाई सेवा प्रयोग गर्ने यात्रुहरूको संख्या धेरै हुने गर्छ।
पछिल्लो दुई वर्षयता बुटवल-नारायणगढ सडकखण्ड निर्माणको क्रममा रहेको र सडकको अवस्था बिग्रिएपछि त झनै हवाई सेवा प्रयोग गर्नेहरू बढेका छन्।
हालसम्म आन्तरिक उडान मात्रै भइरहेको गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिरहँदा विमान कम्पनी र ती कम्पनीले उडान संख्या पनि थप गरिरहेका छन्। तर विमानस्थलसम्म सार्वजनिक सवारी सञ्चालन नहुँदा विमान यात्रुहरूलाई सास्ती हुने गरेको छ।
सडक यात्रा लामो र झण्झटिलो हुने भन्दै हवाई सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलसम्म जाने सार्वजनिक सवारी सञ्चालन नहुँदा भने ट्याक्सीमा महंगो भाडा तिरेर पुग्नुपर्ने बाध्यता छ।
विष्णुप्रसाद गौतम बुटवलदेखि भैरहवा विमानस्थलसम्मको यातायात सुविधा बिजोग रहेको बताउँछन्।
विमान कम्पनीहरूले विभिन्न सिजनमा हवाई टिकट भाडा कम गरे पनि बुटवलदेखि विमानस्थल पुग्ने ट्याक्सी भाडा नै हवाई भाडा भन्दा महँगो पर्ने उनको अनुभव छ।
‘विमान कम्पनीहरूले कहिलेकाहीँ २ हजारमै भैरहवा काठमाडौं उडान गर्छन्, टिकट सस्तो रहेछ बसमा जानुभन्दा जहाजमै जाऊँ न त भन्यो ट्याक्सीलाई नै १५ सय तिर्नुपर्छ अनि कसरी हवाई यात्रा सस्तो भयो त?’ उनी भन्छन्।
अहिले भैरहवा विमानस्थल बिहान र दिउँसोको समयमा मात्रै सञ्चालनमा हुँदा समेत विमानस्थललाई केन्द्रित गरी सार्वजनिक सवारी साधन सञ्चालान गर्न नखोजिनु दुखद् कुरा भएको उनको भनाइ छ।
‘दिनमा समेत यातायातको सुविधा छैन, अहिले मात्रै पनि दैनिक १ हजार यात्रु हवाई सेवामार्फत् भैरहवाबाट एकतर्फी यात्रा गर्छन्, दुईतर्फी गर्दा २ हजार यात्रुले हवाई सेवा लिइरहेका छन्’, गौतमले भने।
आफू लुम्बिनी प्रदेश योजना आयोगको सदस्यको रूपमा कार्यरत रहँदा पनि यस विषयमा विमानस्थल केन्द्रित यातायात सेवा सञ्चालन गर्न धेरै प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ।
‘हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालन गर्न लागिरहँदा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नसकिएको विषयले मलाई सधैं घोंचिरहन्छ, हवाई सेवा लिने अरू यात्रुहरूलाई पनि पक्कै घोच्छ होला’, गौतमले भने।
पुस दोस्रो साता हवाई सेवामार्फत काठमाडौंबाट भैरहवा आएका गौतमले भैरहवादेखि बुटवलसम्म आएको १५ सय ट्याक्सी भाडा तिरेर आउन बाध्य भएको बताए।
‘जुन रूपमा पूर्वाधार बन्छन् त्यही रूपमा अरू सेवा प्रवाह पनि थपिँदै जाने हो भने बल्ल जनताले विकासको अनुभव गर्न पाउँछन्, पूर्वाधार बनेर मात्र हुँदैन त्यससँग जोडिएका सेवा प्रवाह पनि थपिँदै जानुपर्छ', उनले भने।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष समेत रहेका उद्योगी एजाज आलम विमानस्थलसम्म सार्वजनिक यातायात सेवा सञ्चालन हुने हो भने हवाई सेवा लिने यात्रुहरूको संख्या पनि थपिने बताउँछन्।
उनी आफैं पनि महिनामै ४/५ पटक भैरहवा काठमाडौं गरिरहन्छन्। तर यातायात सेवा नहुँदा आफ्नै गाडी लगेर विमानस्थलमा राख्न बाध्य हुने गरेको बताउँछन्।
‘निजी गाडीमै गए पनि एकतर्फ बढी खर्चिलो हुन्छ, अर्कोतर्फ विमानस्थलमा पार्किङमा छोडेर जाँदा गाडी केही भयो कि भन्ने डर हुन्छ। विमानस्थललाई भनेर नै राम्रा गाडी दैनिक सञ्चालन गर्ने हो भने निजी गाडी भएकाहरूलाई पनि गाडी लिएर जानुपर्ने बाध्यता हट्छ,’ आलम भन्छन्।
तिलोत्तमाकी संगीता अर्याल पनि गाडी लिएर नियमित विमानस्थल गइरहनुपर्छ।
आफूले भैरहवा-काठमाडौं कमैमात्र हवाई यात्रा गर्ने संगीता सार्वजनिक यातायात सञ्चालन नहुँदा आफन्त र नजिकका साथीभाइलाई लिन भने भैरहवा विमानस्थल गइरहनुपर्ने बताउँछिन्।
‘सडक यात्राभन्दा हवाई यात्रा छिटो र आरामदायी त हुन्छ तर विमानस्थलसम्म पुग्ने सवारी साधनको भने समस्या हुन्छ,’ उनी भन्छिन्।
नियमित कामका लागि आफैंले गाडी चलाउने गरेका कारण चालक नराखेकी संगीतालाई विमानस्थलमा गाडी पार्किङ गर्ने झण्झटले नै हवाई यात्रा गर्न मन लाग्दैन।
‘विमानस्थलका लागि नै सार्वजनिक यातायात सञ्चालन भए ट्याक्सीमा महंगो भाडा तिर्नेहरूलाई मात्र होइन मजस्तै निजी गाडी प्रयोग गर्नेहरूलाई पनि राहत हुनेथियो। चालक राखिएको छैन, विमानस्थलमा लगेर गाडी राख्दा कसैले केही गरिदियो कि भन्ने त्रास भइरहन्छ,’ संगीताले भनिन्।
लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तार भइरहे पनि सार्वजनिक यातायात सेवा सञ्चालन नहुँदासम्म पर्यटकहरूको संख्या नबढ्ने भएकोले सार्वजनिक यातायात सञ्चालन गर्न उनीहरूको सुझाव छ।
जिल्लाको यातायात व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी विमानस्थलमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि प्रशासनको ध्यान केन्द्रित भएको बताउँछन्।
उनले केही यात्रुहरूले यस विषयमा जिल्ला प्रशासनमा समेत गुनासो गरेकोले विमानस्थल कार्यालय, बस व्यवसायी, ट्याक्सी व्यवसायी, सुरक्षा निकायको समेत बैठक राखेर यातायात सेवा सञ्चालनको विषयमा छलफल गरिने बताए।
‘अहिलेसम्म हामीले पनि यातायात व्यवसायीहरूलाई विमानस्थलसम्म यातायात सेवा सञ्चालन गरौं भनेर भनेका छैनौं, उहाँहरूले पनि भन्नुभएको छैन, अब भने यातायात सेवा सञ्चालन गर्नुपर्छ भन्ने तयारी गरेका छौं,’ तिवारीले भने।
यसक्षेत्रकै सबभन्दा ठूलो यातायात व्यवसायीहरूको संस्था पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले विमानस्थलका लागि यातायात सेवा सञ्चालनका लागि समन्वयको अभाव भएको बताए।
‘हामीहरूलाई पनि विमानस्थलसम्म गाडी चलाउनुपर्छ भन्ने लागेको हो, तर कसैले समन्वय त गर्नुपर्यो नि,’ खरेलले भने।
खरेलले विमानस्थल कार्यालयले समन्वय गरे हवाई उडान र अवतरणको समयलाई हेरेर गाडी सञ्चालन गर्न सकिने बताए।
‘कसले कसरी समन्वय गर्छ भनेर हामी पनि खोजीमा छौं, कम्तीमा भैरहवामा जहाजहरूको उडान र अवतरणको समय तालिकासहित विमानस्थल कार्यालयले समन्वय गर्ने हो भने हामीले त्यही समयमा विमानस्थलकै लागि भनेर सवारी साधन सञ्चालन गर्ने थियौं,’ उनले भने।
विमानस्थल सुरक्षा निकायका अनुसार अहिले दैनिक १ सयभन्दा बढी निजी सवारी साधन र २ सयभन्दा बढी ट्याक्सीहरू विमानस्थल जाने यात्रुहरू लिएर पुग्ने गर्छन्।
सार्वजनिक यातायात सेवा नहुँदा कतिपय यात्रुहरू अटोरिक्सा र मोटरसाइकलमा समेत विमानस्थल पुग्ने गर्छन्।