आँखामा कालो चस्मा र रातो सल ओढेर बुटवल उपमहानगरपालिकाको सभाहलमा लालपुर्जा लिन पुगेकी वडा नं. २ भिमसेन टोलकी कमलामाया शाक्य सोमबार धेरै खुसी देखिन्थिन्।
आँखाको कमजोर दृष्टिका कारण सहयोगीको हात समाउँदै गएकी कमलाको अनुहारमा भने अन्य दिनको भन्दा भिन्दै चमक देखिन्थ्यो।
साविक बुटवल ४ कित्ता नंं. १११ मा घर बनाएर बसेकी कमलामायाले उक्त जग्गाको लालपुर्जा पाउँछु भन्ने आशै मारेकी थिइन्।
२०२७ सालमा नापी भए पनि लालपुर्जा नपाएकी उनले ५१ वर्षपछि बल्ल लालपुर्जा पाउँदा अचम्म लागेको बताइन्।
‘आफ्नो पालोमा लालपुर्जा पाइएला भन्ने त आशै मारिसकेकी थिएँ,’ लालपुर्जा नहुँदा आफूले जग्गा राखेर भए पनि ऋण निकाल्न पाइएन, अब छोरा नातिले त केही गर्न पाउँछन् कि भन्ने आशा पलायो,’ कमलामायाले भनिन्।
भीमसेनटोलकै इन्दु बज्राचार्यलाई पनि आमाले उपहारस्वरूप दिएको जग्गाको लालपुर्जा नपाउँदा मन खिन्न थियो।
इन्दुका चारै जना दिदीबहिनीलाई विवाह भएपछि आमाले भीमसेन टोलमा रहेको जग्गा बराबर भाग लगाएर दिएकी थिइन्।
जग्गा पाए पनि लालपुर्जा नपाउँदा उनले पनि घर बनाएर बस्नेबाहेक जग्गाको अन्य उपयोग गर्न पाएकी थिइनन्।
अब भने आमाले दिएको चिनो पक्का भएको भन्दै उनले खुसी व्यक्त गरिन्।
‘नापी भएकै ५१ वर्षसम्म पनि लालपुर्जा नपाउँदा त यत्तिकै बित्ने भयो भन्ने धुकचुक थियो, अब लालपुर्जा हातमा आएपछि त ढुक्क भयो नि,’ इन्दुले भनिन्।
रूपन्देहीका अरू पालिकाहरूमा जस्तै बुटवल उपमहानगरपालिकामा पनि गाउँ ब्लकमा बसोबास गरेकाहरूले वर्षौंसम्म पनि लालपुर्जा पाउन सकेका थिएनन्।
अहिले भने बुटवलको एउटा गाउँ ब्लकमा बसोबास गर्ने ३५ घरपरिवारलाई मात्र भए पनि लालपुर्जा वितरण गरिएको हो।
नापी कार्यालय भैरहवाले पुरानो बटौंली भनेर चिनिने भिमसेन टोलमा रहेका ३५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताएको छ।
नापी कार्यालयका प्रमुख अजित कुँवरले पुरानो सहरी ब्लक भए पनि गाउँ ब्लकको रूपमा रहेको बस्तीलाई नयाँ निर्देशिका नै जारी गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिए।
कुँवरले गाउँ ब्लक भनिए पनि बुटवलको जग्गा सहरी ब्लकभित्र पर्ने भएकोले लालपुर्जा वितरणको लागि नयाँ निर्देशिका नै जारी गर्नु परेको बताए।
‘पुरानो निर्देशिकामा वडाभित्रका सबै जग्गाको एकैपटक लालपुर्जा दिन सकिने प्रावधान रहेको थियो, त्यसो गर्दा वडाभरिकै जग्गाको लगत उठाएर मात्रै दिन सकिन्थ्यो, तर नयाँ निर्देशिकामा उक्त प्रावधानलाई हटाएर गाउँ ब्लक छ भने त्यसलाई मात्र उठाएर भए पनि लालपुर्जा दिन सकिने गरी परिवर्तन गरिएको छ,’ कुँवरले भने।
कुँवरले जग्गाको पुनः नापी गर्दा पनि सरकारी सार्वजनिक जग्गाको विभिन्न अप्ठ्याराले छुट्याउन नसकिएकोमा पुरानो सहर बटौंलीबासीलाई लालपुर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
‘हाम्रा बाबु बाजेलाई नुनदेखि सुनसम्म दिएको व्यापारिक क्षेत्र बटौंलीलाई नापी भएको ५१ वर्षपछि लालपुर्जा दिन पाएका छौं,’ उनले भने।
उनले पुनः नापी गर्दा पनि गाउँ ब्लकसँग जोडिएको सार्वजनिक र सरकारी जग्गाले गर्दा सुरूमा अप्ठ्यारो भए पनि नयाँ निर्देशिका ल्याएर लालपुर्जा वितरणलाई सहज बनाइएको बताए।
स्थानीय प्रविन प्रसाद उदयले पुरानो बटौलीमा मात्रै १ सय ६ घरपरिवारले लालपुर्जा पाउन नसकेकोमा अहिले ३५ घरले मात्र पाएको बताए।
आफूहरूसँगै नापी भएका बाँकी परिवारलाई पनि लालपुर्जा वितरण गर्न उनले आग्रह गरे।
उदयले बुटवल बजारभित्रै जग्गा भएर पनि वर्षौंसम्म लालपुर्जा पाउन नसक्दा त्यसलाई उपयोग गर्न नपाउँदा आर्थिक रूपले अगाडि बढ्न नसकिएको बताए।
‘जग्गालाई बैंकमा धितो राखेर ऋण निकालेर भए पनि छोराछोरीलाई बाहिर पठाउन चाहन्थें, तर धितो राख्नको लागि जग्गाको लालपुर्जा नभए पनि त्यसबाट बञ्चित हुनुपर्यो,’ उनले दुखेसो गरे।
स्थानीय मोहम्मद प्रसाद तेली जग्गा राखेर बैंकबाट ऋण निकाली व्यापारलाई बढाउन चाहन्थे। तर लालपुर्जा नहुँदा ऋण निकाल्ने र व्यापार बढाउने उनको योजना सफल हुन सकेको थिएन।
‘अब त बैंकिङ प्रक्रियाका लागि पनि जग्गा राख्न पाइन्छ, लालपुर्जा नहुँदा बिक्री गर्न र धितो राख्न केही गर्न पनि पाइएको थिएन,’ उनले भने।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले निर्वाचनमा गरेको वाचा अनुरूप वर्षौंसम्म लालपुर्जा पाउन नसकेकाहरूलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताए।
उनले कतिपय कानुनी र सरकारी जटिलताका कारण ढिलाइ भए पनि लालपुर्जा वितरण गर्न सकिएको भन्दै लालपुर्जालाई कागजी प्रमाणको रूपमा मात्र नभई व्यवसायिक वृद्धिको काममा लगाउन सुझाव दिए।
उपप्रमुख गोमादेवी आचार्यले लालपुर्जाको सही सदुपयोग गर्दै आर्थिक रूपमा समृद्ध बन्न सुझाव दिइन्।
उनले जग्गा बिक्री गरेर एकैपटक पैसा बुझ्ने नभई जग्गालाई आर्थिक उत्पादनको क्षेत्रमा प्रयोग गर्न आग्रह गरिन्।
नापी कार्यालयका प्रमुख कुँवरका अनुसार रूपन्देही जिल्लामा अझै १ हजार २ सय ५० गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्न बाँकी छ।
दुईवर्ष भित्रमा गाउँ ब्लकभित्र पर्ने सबै जग्गाधनीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य अनुरूप लालपुर्जा वितरणको लागि काम गरिरहेको उनले बताए।
उनका अनुसार बुटवलमा पनि अझै ३ वटा गाउँ ब्लकको लालपुर्जा वितरण गर्न बाँकी रहेको छ।
चालु आर्थिक वर्षको साउनदेखि यता १ हजार ५ सय लालपुर्जा वितरण गरिएको र अहिले पनि ३० वटा बढी ब्लकमा काम भइरहेको उनले बताए।