जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत दाङले परियारलाई पक्राउ गर्न सोमबार बेलुका पक्राउ पुर्जी जारी गरेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिए।
त्यस्तै, घोराहीमा कार्यरत एक जना प्रहरीका असई र एक जना हवल्दारविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। ती प्रहरी अधिकारी को हुन् ? भन्ने बारेमा भने खुलाइएको छैन।
कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी उनको ठाउँमा तत्कालका लागि तुलसीपुर कारागारका जेलर समेत रहेका वलीलाई नै जिम्मेवारी तोकिएको छ।
यसअघि आइतबार नै घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएका थिए ।
जेलर परियारकोसमेत कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको आशंका भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
मिलेमतोको आशंकापछि कारागारका जेलरसहित तीन जनाविरूद्ध सोमबार बेलुका थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध कारागार प्रशासनको आग्रहमा अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।
कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउने भनेर कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर लगेका थिए।
त्यसपछि एउटा रेष्टुराँमा नास्ता खाने क्रममा युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाई दिएर प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।
राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो।
घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न थप दुई युवतीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।