गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
२०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन्।
अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थ नगरले दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्मेलन केन्द्रको निर्माणको जिम्मा लिएको थियो।
२०७७ असारभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौताको शर्त थियो। तर २ वर्ष ढिलो गरी आगामी असारसम्म सकिने लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले दाबी गरे।
कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बनेपछि २०७९ साल असार मसान्तसम्म समय थप गरिएको थियो।
काम सुरू गर्दा सम्मेलन केन्द्रको भवनमात्रै निर्माण गर्ने योजना थियो। तर पछि विभिन्न संरचनाहरू समेत थप गरिएको छ।
इन्जिनियर भट्टराईका अनुसार पहिलो चरणमा थालिएको ५ हजार मानिस अट्ने सम्मेलन केन्द्रको सबै काम पूरा भएको छ। तर २०७७ साल पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम सक्न बाँकी छ। त्यो पनि ५० प्रतिशत पूरा भएको उनले बताए।
भट्टराईका अनुसार चार बिघा क्षेत्रमा निर्माण भइरहेको सम्मेलन केन्द्रको पहिलो चरणको कामको लागि ३३ करोड रुपैयाँ खर्च भएको छ।
पहिलो चरणमा सभाहल, दुइटा शौचालय र कन्ट्रोल रूम निर्माणको कामसँगै सभाहलको भुइँमा टायल बिच्छाउने, छानो हाल्ने, फल्स सिलिङ जडान, रङरोगन, पार्टेसन, लाइट जडान तथा अन्य फिनिसिङका काम समावेश गरिएका थिए।
तीमध्ये पार्टेसन बाहेकका सम्पूर्ण काम सकिएका छन्।
त्यस्तै, दोस्रो चरण अन्तर्गत कम्पाउन्ड वाल, पाहुनाहरूको लागि प्रतिक्षा कक्ष, ल्यान्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन लगायतका कामको निर्माण भइरहेको छ।
दोस्रो चरणको कामको लागि पनि २७ करोड रुपैयाँ बराबरका संरचना निर्माण गर्ने तय भएको थियो।
त्योसहित सम्मेलन केन्द्रको सम्पूर्ण काम पूरा हुँदा ७० करोड रुपैयाँ लागत पुग्ने भट्टराईले बताए।
बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अलि ठूला सम्मेलन समेत आयोजना गर्न सकिने भएकोले सुविधा पनि थप गरिएको छ।
दोस्रो चरणको काम अन्तर्गत भिआइपीलाई आराम गर्न, छलफल र बैठक गर्न दुइटा भिआइपी कक्ष निर्माण भइरहेका छन्।
पहिलो चरणको काम पूरा भई दोस्रो चरणको काम पनि ५० प्रतिशत पूरा हुँदै गर्दा सभाहल आकर्षक देखिएको छ।
म्युजियम अगाडि रहेको हेलिप्याडदेखि सभाहलसम्म आकर्षक बाटो निर्माण गरिने छ।
सडकको दायाँबायाँ विभिन्न प्रकारका पुष्प वाटिका तथा बुद्धकालीन वृक्षहरू रोपिने गरी डिजाइन गरिएको छ।
भिआइपीको लागि कार पार्किङ, २०/२० जनाले एकैपटक शौच गर्न मिल्ने गरी चार वटा शौचालय निर्माण भइरहेका छन्।
चाइनिज इँट्टाको प्रयोग गरी बनाईएको कम्पाउण्ड वालको निर्माणको काम पूरा हुँदैछ।
कम्पाउण्ड वालको भित्रतर्फ बुद्धको विभिन्न आकर्षक प्रतिमाहरू निर्माण गरिने छ।
भट्टराईका अनुसार ७ सय ५० मिटर लम्बाइको कम्पाउण्ड वालको साढे ७/७ मिटर फरकमा ९७ वटा बुद्धमूर्ति राखिने छ।
त्यस्तै, सभाहलको ठिक अगाडि मानव आकृतिका बुद्धका स्ट्याचुहरू राखिने छन्।
भट्टराईले नेपालमा यति ठूलो सभाहल निर्माण गरिएको लुम्बिनीकै पहिलो भएकोले यसलाई अझै फराकिलो बनाएर काम अघि बढाइएको बताए।
‘काम गर्दै जाँदा विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिकृया आएका छन्, त्यसले पनि हामीहरू अलि उत्साहित भएका छौं,’ भट्टराईले भने।
नेपालकै सबभन्दा ठूलो र आकर्षक शैलीको यो सम्मेलन केन्द्रमा आवश्यकता अनुसार 'अटोमेटिक पार्टेसन' गर्न सकिने प्रविधि जडान गरिने भट्टराईले बताए।
कहिलेकाहीँ सानो संख्यामा कार्यक्रम गर्नुपरे हललाई सानो साइजको बनाउन मिल्ने छ।
भट्टराईका अनुसार विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरूले दिएका प्रवचनलाई अटोमेटिक विभिन्न भाषामा अनुवाद गर्न मिल्ने प्रविधिसमेत जडान गरिने छ।
लुम्बिनीमा हिउँदयाममा शितलहर पर्ने र गर्मीयाममा अत्यन्त गर्मी हुने भएकोले सम्मेलन केन्द्रभित्र मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ५० एमएमको इपिसएस स्याण्डबिच प्यानल प्रयोग गरेर छाना लगाइएको भट्टराईले जानकारी दिए।
तीन वटा मुख्य प्रवेशद्वार राखिएको सभाहलभित्र ५५ वटा ढोकाबाट प्रवेश गर्न सकिनेछ र ५५ वटै गोलाकार आकारका झ्याल बनाइएको छ।
छानामा लगाइएको इपिएस प्यानलबाट हावाहुरी तथा असिना पर्दा समेत माथिको आवाज तल सुनिँदैन भने पानी र शीत नझर्ने प्राविधिकहरू बताउँछन्।
कोरियाली गुम्बा शैलीको सम्मेलन केन्द्रमा गोलाकार छानो र छानोको माथिल्लो बीच भागमा बुद्धका दुइटा आँखाको आकृति डिजाइन गरिएको छ।
हलको भुइँमा ४ वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ भने हलभित्र उज्यालोका लागि छतमा ४ सय ७६ बत्ती जडान गरिएका छन्।
छाता शैलीमा निर्माण भइरहेको अत्याधुनिक र सुविधा सम्पन्न सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरी त्यसैमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको हो।
दक्षिण एसियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको स्ट्रक्चरबाट डिजाइन गरिएको सम्मेलन केन्द्रको उचाइ १२ दशमलव ३३ देखि २० दशमलव ४९ मिटरसम्म रहेको भट्टराईले बताए।
जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरूयोजनामा मेल खाने गरी निर्माण गरिएको उनले दाबी गरे।
पाँच हजार मानिस अटाउने सभाहल भनिएको छ। तर हलको भुइँको क्षेत्र साढे आठ हजार स्क्वायर मिटर रहेकोले साढे ७ हजार देखि ८ हजारसम्म कुर्ची राख्न सकिने र भुइँमा पलेँटीमा बसेर ध्यान गर्दा ५ हजार जना अटाउने भट्टराईले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारी तथा विदेशी पाहुना समेत सहभागी उक्त कार्यक्रम बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेका थिए।
ओलीको सोही घोषणा अनुरूप पहिलो वर्षमै ४ करोड रूपैयाँ खर्च गरी अस्थायी रूपमा सभाहल निर्माण गरिएको थियो भने दुई वर्षपछि स्थायी सम्मेलन केन्द्रको निर्माण सुरू गरिएको थियो।
लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर भट्टराईले यसको नियमित सञ्चालन तथा व्यवस्थापनको लागि कार्यविधि तयार भइरहेको बताए।
‘सभाहललाई कसरी सञ्चालन गर्ने, कस्ता कार्यक्रमको लागि उपलब्ध गराउने, राजनीतिक दलका कार्यक्रमलाई दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा गृहकार्य भइरहेको छ,'उनले भने, 'कोषले सभाहलको सञ्चालन तथा व्यवस्थापनको लागि कार्यविधि समेत तयार गर्दैछ।’
लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन, गोष्ठी तथा साधना एवं ध्यानका कार्यक्रम भइरहने भएकोले त्यस्ता कार्यक्रमको लागि सभाहल निर्माण पछि सहज हुने कोषको अपेक्षा छ।