सशस्त्र प्रहरीको निगरानी फितलो बनेपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले तस्करी नियन्त्रणमा चासो दिन थालेको छ।
अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देही तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक डा. मनोज केसीले जिल्लाको शान्ति सुरक्षाका लागि तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति रहेको बताउँछन्।
भारतसँग खुला सिमानाका कारण रूपन्देहीमा तस्करीको सामान ल्याउनेहरूको बिगबिगी रहेकोले सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेर तस्करी नियन्त्रणमा लागेको उनले बताए।
प्रहरीले बुटवल, भैरहवा लगायतका बजारमा भरियामार्फत् पठाइएका सामान र ढुवानीका साधन समेत नियन्त्रण गरी भन्सार चलान गर्ने गरेको छ। प्रहरी उपरीक्षक केसीले जिल्लाका विभिन्न सीमा नाकामार्फत् भन्सार छली गरेर ल्याइएका त्यस्ता सामानको गोदाममा समेत छापा हानी बरामद गरिएको बताए।
केसीका अनुसार चालू आर्थिक वर्षमा जिल्ला प्रहरीको टोलीले दैनिक एक लाखदेखि झण्डै ५८ लाख रुपैयाँसम्मको तस्करीको सामान बरामद गरेको छ। गत कात्तिक १७ गते दुई वटा पिकअप गाडीमा ल्याउँदै गरेको ५७ लाख ८७ हजार ५ सय मूल्य बराबरको लिपगार्ड, कुर्ता-सरवाल, बनारसी साडी, चुन्नी तथा पटाका प्रहरीले नियन्त्रणमा लिएको थियो।
चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मात्रै ५ करोड १५ लाख ७४ हजार बराबरको सामान बरामद गरी भन्सार चलान गरिएको छ। हरेक महिना डेढ करोडको हाराहारीमा भन्सार छलेर ल्याइएको सामान बरामद हुने गरेको केसीले बताए।
नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणका लागि भनेर नै खटिएको सशस्त्र प्रहरीले भने यही अवधीमा जम्मा १ करोड ७१ लाख रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार चलान गरेको छ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि तस्करी नियन्त्रणमा भने सशस्त्रलाई नेपाल प्रहरीले उछिनेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले १० करोड २३ लाख रूपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार चलान गरेको थियो।
सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा पनि जिल्ला प्रहरी कार्यालयको भन्दा अत्यन्त न्यून २ करोड १४ लाख रुपैयाँ बराबरको मात्रै सामान बरामद गरेको थियो।
गत आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयमा १३ करोड ८२ लाख मूल्य बराबरको चोरी तस्करी गरी लगिएको सामान बुझाइएको थियो। चालू आर्थिक वर्षमा जिल्ला प्रहरीले मात्रै तस्करीका सामान बरामद गरेर १६ करोड बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेको केसीले बताए।
शान्ति सुरक्षा कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने प्रहरी तस्करी नियन्त्रणमा बढी केन्द्रित भएन र? भन्ने प्रश्नमा केसी भन्छन्, ‘कानुन नमान्ने मान्छेहरू नै अपराध र तस्करीमा लागेको हुन्छन्, कहीँ न कहीँ अपराध र तस्करी गर्नेहरूको सम्बन्ध रहेको हुन्छ। त्यसैले, अपराध नियन्त्रण गर्नको लागि तस्करी रोक्नैपर्छ।’
प्रहरीले सिमानामा नै अपराध गर्नेहरूलाई रोकिदिने हो भने अर्को अपराध हुन नपाउने उनको भनाइ छ। ‘तस्करी नियन्त्रणलाई राजश्वसँग मात्र जोडेर हेरिनु हुँदैन, यो शान्ति सुरक्षासँग पनि जोडिएको छ, अवैध रूपमा कमाएको पैसा अवैध तरिकाबाटै खर्च हुने गर्छ, अन्ततः अपराध बढाउँछ,’ उनी भन्छन्।
प्रहरीले तस्करी गर्नेहरूलाई चल्न-हल्न नदिएको कारण सीमा क्षेत्रमा अपराध कम भएको उनले दाबी गरे। ‘रूपन्देहीका मर्चवार, मझगाँवा, धकधईजस्ता सीमा क्षेत्रमा तस्करी रोक्नेबित्तिकै अपराध पनि रोकिएको छ,’ उनले भने।
केसीका अनुसार प्रहरीले विभिन्न माध्यमबाट सामान तस्करी गर्नेलाई नियन्त्रण गर्ने तथा विगतमा तस्करीमा संलग्नहरूको पनि निगरानी बढाइएको बताए। यसअघि तस्करी गरी ल्याइएको सामग्री मात्र नियन्त्रण गरी भन्सार चलान गर्ने गरिएकोमा पछिल्लो समय सामान लोड गरी ल्याइएका सवारी साधन समेत भन्सार चलान गर्ने गरिएको छ।
केसीले सामान नियन्त्रण गरेर मात्र पेशेवर तस्करलाई निरुत्साहित गर्न नसकिने भएकोले सामान सहित ढुवानीको लागि प्रयोग गरिएको साधन र ढुवानीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न थालिएको बताए। ‘सामान मात्रै नियन्त्रणमा लिएर भन्सार पठाउने तर सामान ल्याएको साधन छोडिदिँदा फेरि तस्करीमै संलग्न हुने गरेको पाइयो, साधन समेत नियन्त्रणमा लिएर भन्सार चलान गर्न थालेपछि त्यही व्यक्ति फेरि तस्करीमा नलाग्न सक्छ,’ उनले भने।
तस्करीलाई रोक्ने हो भने सामान मात्र होइन, साधन पनि समात्नुपर्छ भन्ने लागेर साधन पनि समात्न थालिएको उनले बताए। ‘भन्सार कार्यालयले त थोत्रो बाइक लिलाम पनि हुँदैन नसमाते पनि हुन्छ भन्छ, तर हाम्रो उद्देश्य लिलाम गराएर राजश्व बढाउने मात्र नभई तस्करी नै रोक्नु हो,’ केसी भन्छन्।
कतिपय ठूलो तस्करीमा संलग्नहरूलाई धरौटी समेत लिन थालिएको उनले बताए। यसै महिना एउटै व्यक्तिबाट १८ लाखको जुत्ता-चप्पल बरामद गरिएपछि तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर ९ लाख धरौटी लिइएको उनले बताए।
सानो परिमाणमा हुने तस्करीमा सीमा आसपासका व्यक्तिहरू भरियाको रूपमा प्रयोग हुने गरे पनि ठूलो परिमाणमा हुने तस्करीमा भने पेशेवर तस्कर र गाडीका चालक समेत प्रयोग हुने गर्छन्। ‘ठूलो परिमाणमा सामान ल्याउने ८/९ जना पहिचान भइसकेका छन्, तीमध्ये तीन जना त पक्राउ परी धरौटीमा छुटेका छन्,’ उनले भने।
प्रहरी उपरीक्षक केसीले सीमा क्षेत्रका प्रहरी चौकीलाई तस्करी नियन्त्रणसँगै अपराध नियन्त्रणमा समेत उच्च सतर्कतामा राखिएको बताए। खुला सीमाको फाइदा उठाउँदै रूपन्देहीमा विशेषगरी कपडा, सूर्ती, जुत्ता-चप्पल, छालाका सामान, खाद्यान्न, किराना, हार्डवेयरका सामान, मोटर पार्टस्, मेसिनरी सामान लगायत तस्करी हुने गरेको केसीले बताए।
त्यस्तै, सुपारी, केराउ, मरिच, चिनियाँ स्याउ, बालुवालगायतका वस्तुहरू नेपालबाट भारततर्फ तस्करी हुने गर्छ। केसीले जनसम्पर्क र सबै ठाउँमा पहुँच पुर्याउन सक्ने भएकोले तस्करी नियन्त्रणमा आफूहरू अगाडि रहेको हुनसक्ने बताए।
प्रहरी उपरीक्षक केसी प्रहरी र तस्करहरूको बीमा सम्बन्ध हुन्छ भन्ने आरोपलाई पनि चिर्न चाहेको बताउँछन्। उनले तस्करहरूलाई प्रहरीसँगको भेटघाट र कार्यालय प्रवेशमा निषेध नै गरेको बताए।
‘यदाकदा सुनिन्छ तस्करहरू र प्रहरीबीचमा सम्बन्छ हुन्छ भन्ने, तर मेरो कार्यालयमा तस्करहरूलाई नो इन्ट्री, म मातहतका प्रहरी अधिकृत र अन्य प्रहरीहरूलाई पनि तस्करीमा संलग्नहरूलाई नभेट्न निर्देशन दिएको छु,’ केसीले भने।