नागरिकस्तरबाटै पटक/पटक दबाब सृजना भए पनि बुटवलको ६ लेन सडक निर्माणमा भने निर्माण कम्पनीले चासो दिएको छैन।
बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरूवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दै आएको छ।
२०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरू नगर्दै ०७४ साल र ०७७ सालमा दुईपटक गरी मोबिलाइजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ। तर सडक निर्माण गर्नेतर्फ भने वेवास्ता गर्दै आएको छ।
कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले १८ प्रतिशत बढी रकम लगिसकेको छ। तर राजमार्ग चौराहदेखि बसपार्कसम्म नाली खन्ने काम गरे पनि देखिनेगरी काम गर्न सकेको छैन।
सबै क्षेत्रबाट सडक निर्माणको लागि दबाब सृजना गरिएपछि तिहारलगत्तै नाली बनाउन सुरू गरेको थियो। तर पछिल्लो एक सातायता भने सबै काम ठप्प पारेको छ।
डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटक/पटक सडक निर्माणको लागि ताकेता गरे पनि निर्माण कम्पनीले अटेर गर्दै आएको बताए।
मरासिनीका अनुसार निर्माण कम्पनीले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले समेत सडक निर्माणमा ढिलाइ नगर्न दबाब दिएको थियो।
जिल्ला प्रशासन कार्यालयमा निर्माण कम्पनीका तर्फबाट उपस्थित भएका सुमित श्रेष्ठले यथाशिघ्र सडक निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए। तर प्रतिवद्धता जनाएको एक महिना बितिसक्दा पनि सडकको धुलोमा पानी हाल्नेबाहेक निर्माणको कुनै पनि काम अगाडि बढाएनन्।
निर्माण कम्पनीले आयोजनाबाट रकम लगिसकेको भए पनि पेटी ठेकेदार, कामदार र सप्लायर्सहरूलाई भने रकम नदिएपछि निर्माण सामग्रीको आपूर्ति र काम रोकिएको छ।
रकम नपाएका कामदार र सप्लायर्सहरूले सडक निर्माणमा प्रयोग गरिएका मेसिनका पार्टपुर्जा र निर्माण सामग्री समेत लैजाने अवस्था आएको बताएका छन्।
डिभिजन सडक कार्यालयका प्रमुख मरासिनीले तत्काल काम अगाडि नबढाए मोबिलाइजेसन रकम फिर्ता ल्याउने चेतावनी समेत दिएका छन्।
पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ।
सबै क्षेत्रबाट दबाब बढेपछि सडक भत्किएर लथालिंग बनेको अस्पताल लाइन, मिलनचोक, ट्राफिक चोक र राजमार्ग चौराहमा केही दिन पानी छर्किएर धुलो मार्ने प्रयास गरे पनि उक्त काम समेत अहिले बन्द गरेको छ।
मरासिनीका अनुसार ठेकेदार कम्पनीसँगै केही स्थानीयबासी र सडकको सुरूमा गरिएको गलत डिजाइनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो।
उनका अनुसार २०७३ सालमा सडकको डिजाइन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो।
तर मन्त्रालयले नाली थप गरी भेरिफिकेसन अर्डर स्वीकृत नगर्दा निर्माण कम्पनीले आलटाल गर्ने अवसर पाएको छ। मरासिनीका अनुसार भेरिफिकेसन अर्डर सडक विभागले स्वीकृत गरी मन्त्रालयमा पठाए पनि त्यहाँबाट अगाडि बढ्न सकेको छैन।
गृह मन्त्री बालकृष्ण खाण र पूर्वअर्थमन्त्री विष्णु पौडेलको आडमा निर्माण कम्पनीले मन्त्रालयका अधिकारीहरूलाई वेवास्ता गरेपछि फाइल अगाडि नबढाएको बुझिएको छ।
उक्त कम्पनीले बुटवलमा मात्र होइन बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको अन्य दुई खण्डको सडक निर्माण समेत अलपत्र पारेको छ।
बुटवल तर्फको सडकसँगै ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।
निर्माण व्यवसायी सुमित श्रेष्ठकै स्वामित्वमा रहेको बिरूवा कन्स्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त खण्डमा सुरूदेखि नै कुनै अवरोध नभए पनि अहिलेसम्म निर्माण पूरा भएको छैन।
स्थानीयबासीले सडक निर्माणका लागि पटक-पटक दबाब दिँदै सडक समेत बन्द गराए पनि ठेकेदार कम्पनीले भने सडकको दुवैतर्फ नाली बनाउनेबाहेक अरू काम गरेको छैन।
कोरोना महामारीको कारण देखाउँदै पटक-पटक सम्झौता अवधि थप गरिए पनि निर्माण कार्य अगाडि नबढेपछि स्थानीयले सास्ती खेपेका छन्।
सडकमै यत्रतत्र छाडिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढेको छ भने धुलोले सडकमा ओहोरदोहोर गर्ने मानिसहरू चिन्नै मुस्किल पर्छ।
धुलोकै कारण आँखा, घाँटी, फोक्सो र छालाको समेत समस्या देखिने गरेको स्थानीय रामबहादुर बस्नेतले गुनासो गरे।
त्यस्तै, यही सडकको लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक पनि सुमित श्रेष्ठकै बिरूवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो।
२०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो। ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिए पनि सो खण्डको सर्भिस लेन अझै पनि अधुरै छ।
सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काबु बाहिरको परिस्थिति भन्दै सम्झौता अवधि थप गर्दै आएको छ।
बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि सुमित श्रेष्ठकै जिम्मामा रहेका तीन वटा खण्ड अधुरै रहँदा बुटवल बेलहिया सडकको विषयलाई लिएर सरकारको निरन्तर आलोचना भइरहेको छ।
डिभिजन प्रमुख मरासिनीले निर्माण व्यवसायीको अटेरीले आफूहरूको काम समेत ओझेलमा परेको बताए।
‘कति भन्नु, कारबाही गर्छु भनेर समेत चेतावनी दिएकै छ, तर व्यवसायी निकै चाम्रो रहेछ सुनेको नसुने जस्तै गर्छ,’ मरासिनीले भने।