आगामी आइतबारदेखि कपिलवस्तुमा हैजा विरूद्धको खोप खुवाइँदै छ।
गत असोज १८ गतेदेखि फैलिएको झाडापखाला (हैजा) हाल नियन्त्रणमा रहे पनि भविष्यमा पुनः दोहोरिन सक्ने भएकोले त्यसको नियन्त्रणको लागि खोप खुवाउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
जसअनुसार पहिलो डोजको लागि २ लाख ५२ हजार ३ सय ६३ डोज खोप आइतबारदेखि खुवाउन लागिएको हो।
स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हैजा फैलिएको जिल्लाका ५ वटा पालिकाहरू यशोधारा, महाराजगञ्ज, कृष्णनगर, शिवराज र विजयनगरमा लगाउने गरी खोप आएको र आइतबारदेखि पहिलो डोज खुवाउन सुरू गरिने जानकारी दिए।
घिमिरेले दुईदेखि चार हप्ताको अन्तरमा दुई डोज मुखबाट खुवाइने यो खोपले करिब पाँच वर्षसम्म हैजा लाग्नबाट बचाउने बताए।
अहिले आएको साढे दुई लाखभन्दा बढी डोज खोप मंसिर ५ गतेदेखि १२ गतेसम्म पहिलो डोजको रूपमा दिइने र दोस्रो डोजको लागि पुनः खोप आउने उनले बताए।
जिल्लाका पाँच वटा पालिकामा अचानक फैलिएको हैजाबाट करिब एक हजार ५ सय संक्रमित भएका थिए भने ६ जनाको ज्यान समेत गएको थियो।
दूषित खानेपानीको माध्यमबाट कपिलवस्तुमा हैजा फैलिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाउने भ्याक्सिन दिने निर्णय गरेको थियो।
अचानक झाडापखाला र वान्ता हुने समस्या लिएर बिरामीहरू अस्पताल जाने क्रम बढेपछि असोज २० गते नै बिरामीहरूको दिसाको नमूना संकलन गरी परीक्षण गर्दा हैजाको जीवाणु भेटिएपछि नियन्त्रणको लागि उच्च सतर्कता अपनाइएको थियो।
मंसिर ५ देखि १२ गतेसम्म पहिलो डोज खोप खुवाएपछि मंसिर २६ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका छन्।
पाण्डेका अनुसार हैजा फैलिएका जिल्लाका पाँच वटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप खुवाइने छ।
हैजा फैलिएका पालिकाहरूको पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको पुष्टि भएपछि संक्रमितहरूको उपचारसँगै समुदायमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण र व्यक्तिगत सरसफाइलाई बढाएपछि बल्ल नियन्त्रणमा आएको हो।
पाण्डेका अनुसार हैजा फैलिनुको कारण खोजी गर्दै जाँदा कृष्णनगरका विभिन्न क्षेत्रबाट संकलन गरिएका १४ वटा पानीका नमूना खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा परीक्षण गर्दा ८ वटा नमूनामा दिसामा पाइने ई कोलाई जीवाणु भेटिएको थियो।
स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले हैजा विरूद्धको खोपको प्रभावकारिता ७० प्रतिशतमात्रै भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनुपर्ने बताए।
सफा पानी पिउने, शौचालयमा दिसापिसाब गर्ने, खाना बनाउनु र खानुअघि हात धुनेजस्ता कार्य नगरेसम्म हैजाको प्रकोप फैलिन सक्ने उनको भनाइ छ।