रूपन्देहीको देवदह-६ ज्योतिनगरस्थित बुद्ध सामुदायिक वनको यो खोंच तीन वर्षअघिसम्म काँडेझाडीले ढाकिएको थियो।
२०७२ सालदेखि स्थानीय युवाहरूको अगुवाइमा दुई तीन वटा सेड निर्माण गरी गौतमबुद्ध राष्ट्रिय उद्यान नामकरण गरी वनभोज खाने स्थान बनाइएको थियो।
नयाँ वर्ष, कुनै चाड वा जाडो याममा स्थानीय युवाको समूह वर्षमा एकपटक वनभोज खान जान्थे।
गाउँदेखि नजिकै रहेको सामुदायिक वनमा स्थानीय युवाहरूले लागुऔषध प्रयोग गर्ने स्थान बनाउँदा अभिभावक चिन्तित थिए। तर अहिले झाडी र बुट्यानले ढाकिएको वन रूपन्देहीको मात्र नभई बुद्धजीवनी बुझ्न चाहनेहरूका लागि आकर्षक पर्यटकीय केन्द्र बनेको छ।
सामुदायिक वनका कोषाध्यक्ष रेशमबहादुर गुरूङ २०७६ सालमा एक साता चलाइएको काष्ठकला कार्यशालाले सामुदायिक वनको मुहार नै फेरिदिएको बताउँछन्।
‘पहिले खेतमा सिँचाइको लागि लैजाने कुलो सफाइ गर्न आउन पनि डर लाग्थ्यो, झाडीले ढाकिएको जंगलमा गाँजा खाने युवाको अखडा हुन्थ्यो, सुधार्न पनि सकिएको थिएन पार्क बनेपछि उनीहरूलाई पनि सुधार्न सकिएको छ,’ उनले भने।
२०७६ सालमा ललितकला प्रज्ञा प्रतिष्ठानले काष्ठकला कार्यशालाको लागि २ लाख रुपैयाँ छुट्याएको थियो। त्यति सानो रकमले कार्यशाला सम्पन्न गर्न गाह्रो थियो।
ड्रिम देवदहको अगुवाइमा बुद्ध सामुदायिक वनले कार्यशाला गर्ने आँट देखायो। जेठको दोस्रो साता चलेको कार्यशालामा देशका विभिन्न स्थानबाट आएका १७ जना कलाकारले काठका ढलेका मुढामा बुद्ध जीवनीसँग जोडिएका मूर्तिहरू कुँदे। अहिले तिनै मूर्तिहरू गौतमबुद्ध राष्ट्रिय उद्यानका प्रमुख आकर्षक बनेका छन्।
गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क व्यवस्थापन समितिका सहसंयोजक सम्मरबहादुर खड्का त्यस्तो काँडेझाडी भएको जंगललाई एउटै कार्यशालापछि यति सुन्दर पार्क बनाउन सकिएकोमा अचम्म मान्छन्।
‘त्यस्तो झाडी भएको जंगलमा यस्तो पार्क बन्ला भनेर त सोचिएकै थिएन, एउटै काष्ठकला कार्यशालाले देवदहको मुहार फेरिदिएको छ,’ उनले भने।
पार्क सञ्चालनमा आएपछि नै देशमा कोरोना महामारी फैलिए पनि पार्क अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरूको संख्यामा भने कमी आएको छैन।
खड्काका अनुसार कोरोना महामारीका कारण जारी गरिएको लकडाउनको समयमा केही महिना पार्क बन्द भए पनि अरू समय दैनिक ६ देखि ७ सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पार्क अवलोकनको लागि पुग्ने गरेका छन्।
‘कात्तिक २२ गते तिहारको भोलिपल्ट त १२ सय जनाले पार्कको अवलोकनको लागि टिकट काटेका थिए, गत वैशाख १ गते नयाँ वर्षको दिन ७ हजारभन्दा बढीले पार्कको अवलोकन गरेका थिए, पार्कको भुइँमा कतै टेक्ने ठाउँ थिएन,’ उनले भने।
पार्क अवलोकनको लागि २० रुपैयाँको टिकट काट्नुपर्छ। पिकनिक लागि भने २५ जनाको समूहलाई २ सय र त्योभन्दामाथि ४ सय रुपैयाँ लिने गरेको वन रक्षक जीवन काफ्लेले बताए।
स्टलको लागि भने ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ। पार्क सञ्चालन भएको छोटो अवधिमै टिकट बिक्रीबाटै करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको पार्कका संयोजक गुरूङले बताए।
सामुदायिक वनको ८ हेक्टर क्षेत्रमा पार्क निर्माण गरिएपछि गाउँमा पर्यटकहरूको आगमन बढ्नुको साथै स्थानीय बालबालिकालाई लागुऔषधको दुर्व्यसनमा लाग्नबाट पनि जोगाएको स्थानीय बुद्धिकला सारुले बताइन्।
पार्कमा निर्माण गरिएको सेल्फी ब्रिज, पानीको फोहोरा, बुद्धसँग सम्बन्धित काठका मूर्तिहरूले उद्यानलाई सजिव बनाएको छ।
सोमबार पार्क अवलोकनका लागि पुगेका नवलपरासीको सुनवल १३ बडेराका जीवन पाण्डेले आकर्षक भौगौलिक बनावट र हरियालीको बीचमा बनेको पार्क सुनेभन्दा धेरै सुन्दर र आकर्षक रहेको बताए।
‘पार्कको बारेमा साथीहरूबाट सुनेको थिए, सुन्दा यति आकर्षक होलाजस्तो लागेको थिएन, तर सोचेभन्दा आकर्षक रहेछ,’ उनले भने।
देवदहको खैरेनी चोकदेखि करिब ३ किलोमिटर उत्तरतर्फ रहेको उक्त पार्क सिमसार क्षेत्र समेत रहेकोले गर्मी समयमा शितल हुने भएकोले पर्यटकको रोजाइमा पर्ने गरेको छ।
त्यसैमाथि बुद्धजीवनप्रति रुचि राख्नेहरूलाई काठमा कुदिएका बुद्धमूर्ति, सेल्फी पुल, थरिथरिका बाटिका, प्रवेशद्वार नजिकै बनाइएको पानीको फोहोराले त्यहाँ जाने सबैलाई आकर्षित गर्छ।
चारैतिर हरियालीसहितको वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरूले पार्कलाई साँच्चिकै सुन्दर बनाएका छन्।
बुद्धपार्कको नामबाट चिनिने पार्कमा घुमफिर गर्ने र टिकटक तथा फेसबुकमा राख्न तस्वीर खिच्ने र भिडिओ बनाउनेहरूको भिड लागिरहने गर्छ।
पार्क निर्माणको लागि अहिलेसम्म प्रदेश, संघीय र स्थानीय सरकारको साथै विभिन्न दाता र सामुदायिक वनको गरी २ करोड भन्दा बढी लगानी भइसकेको छ।
देवदह नगरपालिकाले पहिलो वर्ष २ लाख र त्यसपछि २० लाख रुपैयाँ सहयोग गरे पनि पछिल्लो वर्ष भने रकम उपलब्ध गराएको छैन।
लुम्बिनी प्रदेश सरकारले भने २०७६ सालमा ५० लाख र ७७ सालमा २० लाख गरी हालसम्म ७० लाख रुपैयाँ लगानी गरिसकेको छ। अरू रकम विभिन्न दाता र सामुदायिक वनबाट लगानी गरिएको पार्क सह-संयोजक खड्काले बताए।
बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना यो पार्कलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट पार्कको रूपमा विकास गर्न लागिएको बताए।
'भगवान गौतम बुद्धको मावली देवदह पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल रहे पनि ओझेलमा थियो, यही पार्कको माध्यमबाट पनि देवदहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ कि भन्ने आशा जगाएको छ,’ उनले भने।
पार्कले देवदहको पर्यटन विकासमा कोशेढुंगाको रूपमा काम गर्न सकोस् र यहाँ आउने पर्यटकहरूले कम्तीमा एकदिन देवदहमा बसाइँ बसून् भन्ने आफूहरूको उद्देश्य रहेको उनले बताए।
बुद्ध सामुदायिक वन पार्क निर्माण र व्यवस्थापनमा मात्र होइन सामुदायिक वन संरक्षणको हिसाबले पनि मुलुकमै उत्कृष्ट बन्दै आएको छ।
यसै वर्षमात्रै सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित भएको थियो।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागद्वारा हरेकवर्ष प्रदान गर्दै आएको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७८ यसवर्ष बुद्ध सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गरेको थियो।