विद्यामा दक्ष हरिवंश राजोपाध्याय र मन्त्रमा दक्ष विश्वनाथ राजोपाध्याय पाटनका राजा सिद्धिनरसिंह मल्लका गुरू थिए। सिद्धिनरसिंहका उनै दुई गुरूको 'कात्तिक नाच' सिर्जनामा प्रमुख भूमिका थियो भन्ने कथन 'नृपविनोद काव्य' मा पाइन्छ।
साढे तीन सय वर्षभन्दा पुरानो यो नाच बुधबारबाट पाटन, मंगलबजारको कात्तिक डबलीमा प्रदर्शन हुँदैछ।
राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।
दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।
तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई 'कात्तिक नाच' भनियो।
'नेपाल संवत् १०७० (विसं २००७) अघिसम्म यो नाच प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी महिनादिन नचाउने परम्परा थियो,' ललितपुर महानगरपालिकाले निकालेको किताब 'ललितपुर र कात्तिक नाचको पृष्ठभूमि' मा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्, 'पछि यो नाचमा शिथिलता देखा पर्न थालेको छ।'
राजाका पछिल्ला पुस्ताले नयाँ नयाँ कथा थपेर बढाउँदै लगेको नाचलाई अहिलेका मान्छेले भने अभिवृद्धि गर्दै लग्न सकेका छैनन्। बरू भएका दिन पनि घटाउँदै जार्ने क्रम बढेको छ।
२००७ सालअघिसम्म यो नाच छेभडेल अड्डाबाट सञ्चालन हुने गर्थ्यो। यसमा भाग लिने सहभागीहरू (गायक, वाद्यवादक, नृत्य र नाटक कलाकार) को संख्या २ सय ८० सम्म पुगेको थियो। पछिल्लो समय नाचको परम्परा वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य प्रदर्शनमा मात्र सीमित छ।
'कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि कुनै वर्ष ८ दिन र कुनै वर्ष १० दिनसम्म प्रत्येक दिन नयाँ कार्यक्रम समावेश गरी सार्वजनिक रूपमा प्रदर्शन हुँदै आएको छ,' सत्यमोहन जोशीले लेखेका छन्।
कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट सुरू हुन्छ। पछिल्लोपटक यो नाच प्रदर्शन हुँदा कोरोना कारण दुई दिन मात्र देखाइएको थियो। यस वर्ष आठ दिन देखाइने जानकारी समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले दिए। कोरोनाले नाच तयारी गर्ने समय कम भएको उनले बताए।
'कात्तिक नाचको उद्देश्य देशमा विध्नवाधा रोक्नु र शान्ति, सुस्वास्थ्य कायम राख्नु हो,' शाक्यले भने, 'यसले जनतालाई मनोरञ्जन दिनुका साथै धार्मिक, नैतिक र समाजिक ज्ञान पनि दिन्छ।'
आठ दिनसम्म देखाउन लागिएको कात्तिक नाचमा कस्ता-कस्ता कथा हेर्न पाइन्छ भनेर हामीले शाक्यसँग कुराकानी गरेका छौं।
१. कात्तिक २४ गते – सुदामा प्याखँ
यो नाचमा भगवान कृष्ण र उनका साथी सुदामाको कथा देखाइनेछ। सुदामा गरिब भए पनि भगवान कृष्णसँग उनको घनिष्ठ मित्रता हुन्छ। दुवैको प्रेमपूर्ण सम्बन्ध यो नाचमा देखाइने छ।
बाल्यकालदेखिको साथी भए पनि सुदामा जवान हुँदै जाँदा लोभी हुँदै जान्छन्। मान्छे लोभी हुँदै गयो भने दरिद्रता पनि भोग्नुपर्छ भन्ने सन्देश यो नाचले दिन्छ।
२. कात्तिक २५ गते – बाथः प्याखँ – च्वले खुदाँ दाँ खुँदा
एक जना महिला बाख्रा बेचिरहेकी हुन्छिन्। सानो बाख्राको मूल्य ६ दाम र ठूलोको १२ दाम हुन्छ। एक जना चलाख मान्छे आएर १२ दामको ठूलो बाख्रालाई ६ दाममा कसरी लैजान्छ भन्ने कथा यो नाचमा छ।
३. कात्तिक २६ गते – बाथः प्याखँ – कौला खिचा
एक जना बाह्रमण दानमा बाख्रा लिएर आउँछन्। तीन जना मान्छे तीन ठाउँमा बसेर उनलाई 'यो त ब्राखा होइन कुकुर हो' भन्दै झुक्याउँछन्। तीन जनाले पालैपालो कुकुर भनेपछि आफ्नो इज्जत घट्ने डरमा ती ब्राह्मणले त्यो बाख्रा त्यहीँ छाडेर हिँड्छन्।
'कौला खिचा' अर्थात् साहु–महाजनको कुकुरले पनि बाख्राजस्तै कराउन जानेको हुन्छ भन्ने पुरानो भनाइ छ। त्यही आधारमा यो रमाइलो नाटक प्रस्तुत गरिनेछ।
पहिले बाथः प्याखँअन्तर्गत नै लेवो लाइगु (नाठोको सुराक), चोले खुदाँ, दाँ खुँदा, भिन्द्यः पूजा (भीमसेन पूजा), माकः सि मीगु (कानमा लगाउने माकः सि गहना बेच्ने), खुसि छिकीगु (खोला तार्नु) र महामुर्ख नाटक देखाइन्थे। यसपटक दुइटा कथा मात्र देखाइन लागिएको छ।
४. कात्तिक २७ गते – युद्ध कला
यो नाचअन्तर्गत शितज्वर र विष्मज्वर अनि महादेव र कृष्णबीचको युद्ध देखाइन्छ। युद्धका विभिन्न कला देखाइने यो नाटकमा संवाद कम छन्।
५. कात्तिक २८ गते – देवी प्याखँ
सुरूमा खाली डबलीमा नाट्यश्वर आह्वान गरेर बाजा बजाइन्छ। अनि देउला (माछा मार्ने नाच) नचाइन्छ र ख्या (नाचको पात्र) नचाइन्छ।
त्यसपछि कंकाल अनि भैरव, कुमारी र महालक्ष्मीहरूले नृत्य देखाउँछन्। उनीहरूको पूजा पनि गरिन्छ।
६. कात्तिक २९ गते – जल शयण
नारायण र कैदव (जलबाट उत्पन्न भएको) बीचको युद्ध यो नाचमा देखाइन्छ। कमलमा आरामले बसिरहेका ब्रह्मालाई कैदवले सास्ती दिन आएका हुन्छन्। यो देखेर सुतिरहेका नारायण उनीसँग युद्ध लड्छन्।
७. कात्तिक ३० गते – वराह अवतार – हिरण्यकश्यप वध
यज्ञ गरिरहेको बेला वराह अवतारमा भगवान इन्द्र आएर हिरण्यकश्यपलाई लात्ताले हान्छन्। यज्ञ भंग गर्छन्। उनीहरूबीच झगडा हुन्छ। वराहले हिरण्यकश्यपलाई हराउँछन्। हिरण्यकश्यप भागेर जान्छन्।
८. मंसिर १ गते – नरसिंह अवतार – हिरण्यकश्यप वध
हिरण्यकश्यपका दाइ हिरण्याक्षलाई विष्णुको अवतार वराहले मारेको हुन्छ। यो नाचमा विष्णुकै अर्को अवतार नरसिंहले हिरण्यकश्यपको निर्ममतापूर्वक वध गर्छन्।
यो नाचमा हिरण्यकश्यप बनेका व्यक्ति साँच्चिकै बेहोस हुन्छन् भनिन्छ। उनलाई गुठीयारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीजसरी कुरेर बस्छन्। उनलाई चोखो पानी पिलाएर मन्त्रद्वारा ब्यूँझाइन्छ।
कात्तिक नाचभरमा सबभन्दा लोकप्रिय यो नाचको अवधि निकै लामो हुन्छ। त्यही भएर मध्यरात पनि पर्न सक्छ।
यी नृत्यनाटक हरेक दिन बेलुकी ७ बजेदेखि मञ्चन हुन्छन्।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार हाँसो ठट्टाबाट सुरू हुने भए पनि यो एक दुखान्त नाटक हो। बाहिरका चर्चित दुखान्त नाटकले विश्वभर चर्चा कमाएको भए पनि यति सुन्दर नाटक विरलै बन्ने उनी बताउँछन्।
'संसारमा अनेकन दुखान्त नाटकहरू मञ्चन भए र हुँदै जालान् तर नेपाली दुःखान्त नृत्यनाटकको परम्परामा ललितपुरमा प्रत्येक वर्ष मञ्चन हुँदै आएको यो नाटकजस्तो दुखान्त अन्यत्र पाउन दुर्लभ नै हुनेछ,' उनले किताबमा लेखेका छन्।
सबै तस्बिर: प्रनिशन राजभण्डारी