६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोक्कासँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।
उनले धरौटी बुझाए पनि छुटेकी भने छैनन्।
सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएको भन्दै उनलाई पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।
‘दुई लाख धरौटी माग भएको थियो। धरौटी बुझाइसक्नुभयो। उहाँलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाएका छौं,’ उनले भने।
सिआइबीले उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। डेढ वर्षभन्दा लामो समयदेखि फरार रहेकी उनलाई सिआइबीले पक्राउ गरी आइतबार अदालतमा पेस गरेको थियो।
सोमबारसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश लम्सालले धरौटी माग गरेका थिए।
रोक्का ठमेलमा रहेको भियना होटलका सञ्चालक समेत हुन्।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो।
उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो।
दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो।
विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो।
सिआइबीले अनुसन्धान सुरू गर्नु अगावै राजस्व अनुसन्धान विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरेको थियो। तर श्रीमती रोक्का भने फरार थिइन्।
यो पनि:
६१ किलो सुन तस्करी प्रकरण: थुनामा रहेका दावाकी श्रीमती हुन् अमला, डेढ वर्षदेखि थिइन् फरार