भारतीय पक्षको अतिक्रमणको कारण पटक-पटक विवादित बन्दै आएको पश्चिम नवलपरासीको सुस्तामा फेरि भारतीय अर्धसैनिक बल (एसएसबी) का जवानले अतिक्रमणको प्रयास गरेका छन्।
गत आइतबार र सोमबार हतियार र पोशाकसहित आएका एसएसबीका जवानले विवादित बनेको क्षेत्रमा नापजाँच गरेको स्थानीयले दाबी गरेका छन्।
सुस्ता गाउँपालिका वडा नं. ५ नारायणी नदीपारिको सुस्ता गाउँ कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। त्यसमध्ये ७ हजार ५ सय हेक्टर जमिनमात्रै नेपालीले भोगचलन गर्दै आएका छन्। १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षले यसअघि नै अतिक्रमण गरिसकेको छ भने भारतीय पक्षको दबाबको कारण करिब साढे १९ हेक्टर जमिन आफ्नो भएर पनि स्थानीयले त्यसै छोडिदिएका छन्।
२०६२ जेठ १७ गतेदेखि भारतीय पक्षले सुस्तामा अतिक्रमण बढाउँदै गएपछि २०६४ सालमा दुबै देशका सुरक्षा अधिकारीका बीचमा भएको वार्ताबाट एउटा सहमति भयो। सहमती थियो, अतिक्रमणका कारण विवादित बनेको १९ हजार ४ सय ८० हेक्टर जमिन नेपाल र भारतीय कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने।
उक्त जग्गा भारतको रहेको दाबी भारतीय पक्षको थियो भने, सुस्ताबासी उक्त जग्गाको लालपुर्जा आफूहरूसँग रहेकोले आफूहरूको भएको बताउँदै आएका थिए। सोही जग्गाको कारण सीमावारि र पारि पटक-पटक विवाद बढ्दै गएपछि दुबैतर्फका सुरक्षा अधिकारीले कुनै पनि पक्षले उपभोग र जोतभोग नगर्ने सहमति गरेका थिए। तर अहिले फेरि भारतीय पक्षले सोही जग्गामा 'आँखा लगाउँदै' नापजाँच गर्न लागेको स्थानीयको दाबी छ।
स्थानीय रवीन्द्र जयसवालले आइतबार र सोमबार दुई दिनसम्म एसएसबीको पोशाक र हतियारसहित आएको समूहले विवादित जग्गा नापजाँच गरेको र बाँकी रहेको जमिनसमेत फेरि भारतले खोस्ने हो कि! भन्ने चिन्ता बढाएको बताए।
जयसवालले छ महिनाअघि सोही क्षेत्रमा ड्रोन चलाएको भारतीय एसएसबीले अहिले भने आफैं आएर डोरी लगाएर नापजाँच गरेको बताए।
‘फेरि अतिक्रमण गर्ने उद्देश्यले नै भारतीय एसएसबीले नापजाँच गर्दै आएका छन्, ६ महिना अघि ड्रोन उडाए पनि आइतबार र सोमबार हतियार सहितका एसएसबी आफैंले डोरी लगाएर नापेका छन्,’ उनले भने।
नारायणी नदीको किनारमा रहेको विवादित क्षेत्रबाट सुस्ता बाँधको एक नम्बर ठोक्करसम्मको जग्गा एसएसबीका जवानहरूले नापजाँच गरेको उनले बताए।
सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको आफ्नै जग्गा भइकन पनि दुबै देशका सुरक्षा अधिकारीहरूको वार्तापछि कुनै पक्षले भोगचलन नगर्ने सहमति गरिए पनि अहिले भारतीय पक्षले सहमतिविपरीत नापजाँच गर्न लागेको बताए।
पाण्डेका अनुसार उक्त जमिनको लालपुर्जा सुस्ताबासीसँग छ। तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षा अधिकारीहरूले जोतभोग नगर्ने सहमति गरेका थिए।
पाण्डेले भारतीय पक्षको दबाब र डरका कारण जमिनको लालपुर्जा गोजीमा भए पनि जमिन बाझो राख्न बाध्य स्थानीयको जमिनमाथि भारतीय पक्षले फेरि आँखा लगाउन थालेको बताए।
‘अहिले पनि १ सय १३ जना स्थानीयले उक्त जमिन आफ्नो भएको प्रमाणको रूपमा लालपुर्जाको फोटोकपीसहित गाउँपालिकामा मालपोत बुझिदिन भन्दै निवेदन दिनुभएको छ, २०३४ सालदेखिको जति लाख भए पनि मालपोत बुझाउन आफूहरू तयार भएको उहाँहरू बताउनुहुन्छ, यता भारतीय पक्षले फेरि डोरीले नाप्न सुरू गरेको छ,’ अध्यक्ष पाण्डेले भने।
स्थानीय कैलन हरिजनका अनुसार करिब १२ जनाको समूहमा आएको एसएसबीको समूहले झोलुंगे पुलदेखि करिब १ सय ५० मिटरको दूरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए।
नेपाली भूमि नापजाँच गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी त्यहाँ पुग्दा एसएसबीको समूह भने त्यहाँबाट हिँडिसकेको थियो।
एसएसबीले नापजाँच सुरू गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरूको टोलीले सुस्ता क्षेत्रको अनुगमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले स्थानीयका अनुसार हतियारसहित आएका एसएसबीले नापजाँच गरेको भन्ने बुझिएकोले त्यसका बारेमा माथिल्लो निकायमा जानकारी गराएको बताए।
‘यसअघि ड्रोन उडाएको भन्ने कुरा कतैबाट पुष्टि नभए पनि आइतबार र सोमबार विवादित क्षेत्रको पश्चिम तर्फको भागमा नापजाँच गर्न एसएसबीको टोली हतियारसहित आएको भन्ने बुझिएको छ, यद्यपि प्रहरी टोली त्यहाँ पुग्दा भने एसएसबीको टोली हिँडिसकेको थियो, त्यसबारेमा गृहसचिव र शान्तिसुरक्षा महाशाखा प्रमुखलाई सोमबार नै जानकारी गराइसकेको छु,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोष्ट सुस्तामा रहे पनि भारतीय एसएसबीका अगाडी निरिह बन्दा सुस्तामा पटक-पटक अतिक्रमणको घाउ बल्झिने गरेको छ।
सरकारले सुस्ताको विवाद समाधान गर्न तत्काल पहल नगर्ने हो भने बाँकी रहेको जमिन पनि भारतीयको कब्जामा पर्नसक्ने भन्दै जमिन जोगाउन तत्काल पहल गर्न स्थानीयले सरकारलाई आग्रह गरेका छन्।
सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरूङले अहिलेसम्मका सरकार भारतका सामु झुकेकै कारण भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि फिर्ता गर्न नसकिएको बताए।
उनले नेपाली भूमि जोगाउने अभियानलाई साथ दिन सबैलाई आग्रह गरे।
सुस्ताको भूमि अतिक्रमणका लागि अहिले पनि भारतीय एसएसबीले आफूलाई धम्क्याउने गरेको उनले दाबी गरे।
स्थानीय गोपाल गुरूङले पटक-पटक भारतीय नम्बरबाट फोन गरेर धम्क्याउने गरेका कारण मोबाइलको सिमसमेत बदल्नु परेको गुनासो गरे।
२०३४ सालमा नारायणी नदीले धार बदलेसँगै भारतीय पक्षले अतिक्रमण सुरू गरेको उनको भनाइ छ।