दिनप्रति दिन आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि रुपन्देही प्रहरीले आत्महत्या न्यूनीकरणको लागि कार्ययोजना अगाडि सारेको छ।
प्रहरीले आत्महत्या न्यूनीकरणका लागि जोखिम समूहको तथ्यांक संकलन गरी उनीहरूलाई मनोपरामर्श उपलब्ध गराउनेबारे मनोचिकित्सकहरूसँग छलफल गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफू मातहत रहेर मुद्दा दर्ता गर्दै आएका ईलाका र वडा प्रहरी कार्यालय गरी १२ वटा कार्यालयबाट २५ हजार ६ सय ९१ घरधुरीबाट नागरिक सूचना कार्ड संकलन गरेको थियो।
जसमध्ये ९ सय ९६ जना जोखिम समूहको रातो घेराभित्र परेको र उनीहरूलाई मनोचिकित्सकमार्फत् मनोपरामर्श आवश्यक रहेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
‘यसअघि आत्महत्याको प्रयास गरेका, विगतमा परिवारका कुनै सदस्यले आत्महत्या गरेको, मानसिक समस्या भएका र घरेलु हिंसा भोगिरहेकाहरू रातो घेराभित्र राखिएको छ,’ उनले भने।
त्यस्तै, आत्महत्याको मध्यम जोखिम समूह पहेंलो घेराभित्र ३ हजार ५ सय ४० र निलो घेराभित्र २१ हजार १ सय ५५ जनाको नागरिक सूचना कार्ड भरिएको छ।
पहेंलो घेराभित्र दीर्घरोगी, दुर्व्यवसनी, अत्यधिक आर्थिक ऋणको भार बोकेका र विभिन्न कारण विक्षिप्त अवस्थाका मानिसहरूलाई राखिएको छ।
प्रहरी उपरीक्षक केसीले जोखिम क्षेत्रभित्र रहेका घर-घरमै पुगेर यससम्बन्धी तथ्यांक संकलन भइरहेको बताए।
‘रातो र पहेंलो घेराभित्र रहेकाहरूलाई तत्काल मनोपरामर्श आवश्यक छ, सूचना संकलनलाई निरन्तरता दिँदै तिहारलगत्तै उनीहरूलाई परामर्श सेवा उपलब्ध गराउने तयारी थालेका छौं,’ उनले भने।
छलफलमा आत्महत्या बढी भएका स्थान वरिपरि किटनाशक औषधीको विक्री वितरणको अवस्थाको बारेमा समेत तथ्यांक समेत प्रस्तुत गरिएको थियो।
आत्महत्याको सम्भावित जोखिम घेराभित्र रहेकाहरूलाई मनोपरामर्श दिने र किटनाशक औषधीको विक्री वितरणलाई कडाइ गर्न सके पनि आत्महत्याको संख्या घट्न सक्ने प्रहरीको विश्लेषण छ।
प्रहरी उपरीक्षक केसीले प्रहरी युनिटहरूलाई आ-आफ्नो क्षेत्रमा के/कति किटनाशक बिक्रेता छन् उनीहरूको यकिन गरी बिक्री गरिने सम्पूर्ण औषधीहरूको तथ्यांक राख्न निर्देशन गरिएको बताए।
केसीले आत्महत्याबारे अझै पनि धेरै मिथकहरू रहेको र त्यसबारे खुलेर कुरा गर्न नसक्दा आत्महत्याको घटना बढ्दै गएको बताए।
विभिन्न किसिमका हिंसा, मानसिक तनाव, दीर्घ रोग, आर्थिक संकट लगायतको कारण मानिसहरू आत्महत्या गर्न बाध्य हुने गरेको प्रहरीको निष्कर्ष छ।
मनोचिकित्सक डा. मनोज ढुंगानाले आत्महत्याको जोखिम समूहमा रहेका व्यक्तिहरूलाई समयमा मनोपरामर्श दिनसके उनीहरूको ज्यान जोगिनसक्ने बताए।
‘मानिसहरू आत्महत्या गर्ने अवस्थामा एकैपटक पुग्दैनन्, मानसिक तनाव, विभिन्न किसिमका हिंसामा रहेकाहरूले खुलेर कुरा गर्ने वातावरण नबनेको कारण आत्महत्या गर्ने अवस्थामा पुग्ने गर्छन्, त्योभन्दा पहिले नै उनीहरूलाई त्यो अवस्थाबाट बाहिर निकाल्नुपर्छ,’ डा.ढुंगानाको तर्क छ।
गत आर्थिक वर्ष २०७७/८८ मामात्रै जिल्लाभित्र २ सय ५० जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा पनि ५८ जनाले आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार आत्महत्या गर्नेहरूमा जिल्लामा महिलाभन्दा पुरूषको संख्या धेरै रहे पनि चर्चामा भने महिलाहरू आउने गर्छन्।
तीन महिनाको अवधिमा ३० जना पुरूषले आत्महत्या गरेका छन् भने महिलाको संख्या २१ छ।
त्यस्तै, ४ जना बालक र एक जना बालिकाले समेत आत्महत्या गरेको प्रहरी तथ्यांक छ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै देवदह मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताल भैरहवामा गरी ७३ जना आत्महत्या प्रयास गरी उपचारको लागि आएकाहरू निको भएर फर्केका छन्।
उनीहरूलाई तत्काल मनोपरामर्श दिन नसके फेरि पनि प्रयास दोहिरिन सक्ने खतरा छ। तर अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी निकायलाई छैन।