म लुम्बिनी टेलिभिजनको कार्यालयमै थिएँ। आइतबार दिउँसो १ बजेतिर फोन आयो, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो रे।
सरकारले तिनाउ नदीको उकास क्षेत्रलाई संरक्षित गरी मोतीपुर औद्योगिक क्षेत्रको नाममा नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने योजना अगाडि सारेपछि नै त्यहाँ केही दिनयता सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गर्नेहरूको आन्दोलन र अवरोध भइरहेको थियो।
पछिल्लो समय पनि सुकुम्बासीको नाममा विभिन्न जिल्लाबाट हजारौंको संख्यामा आएकाहरूले मोतीपुर औद्योगिक क्षेत्रका जग्गा कब्जा गरिरहेका थिए।
आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको थियो। त्यसको अपडेट गर्दै थिएँ। गोली नै चल्यो भन्ने खबर पाएपछि सहकर्मी साथीहरू विकास पराजुली, विष्णु घिमिरे र म घटनास्थलतर्फ लाग्यौं।
घटनास्थलतर्फ जाँदा औद्योगिक करिडोरदेखि करिब डेढ किलोमिटर टाढाको योगीकुटीदेखि नै सडकमा मानिसहरूको आवतजावत बाक्लो थियो।
योगीकुटी शान्तिचोकमा प्रहरीले सडकमा बाँसका घारा तेर्साएर मगरघाटतर्फ जान रोक लगाएको थियो। मैले 'हामीहरू पत्रकार हौं' भन्दै परिचयपत्र देखाएँ।
रोकिरहेका प्रहरीले हामीलाई अगाडि जान दिए। केही अगाडि मगरघाट पुग्दै गर्दा सयौं मानिसहरू बाटो र पुलमा नाराबाजी गर्दै बसेका थिए।
पुलको वारि र पारि दुवैतर्फ ढुंगा, काठका मुढा तेर्साएर सवारीसाधन वारिपारि लैजान रोक लगाएका थिए।
विकास र विष्णुले मोटरसाइकल मगरघाट नजिक ल्याएर राख्न फर्काए। म उनीहरू आउने बेलासम्म पुलमा जम्मा भएका समूहसँग घटनामा के भएको हो भनेर बुझ्न थालें।
त्यतिकैमा पत्रकार साथीहरू दिनेश ज्ञवाली (विश्व) र कृष्ण पाण्डे आइपुगे।
हामी पत्रकार भन्ने थाहा पाएपछि त्यहाँ रहेका २/३ सय जनाको भिड भित्रबाट केहीले आफूहरूको तस्बिर र भिडिओ केही नखिच्न भने।
प्रहरी प्रशासनले आफूहरूमाथि गोली चलाएको र आफ्नो समूहका ५/६ जना घाइते भएको भन्दै उनीहरू हामीमाथि नै आक्रोश पोखिरहेका थिए।
हामी घटना कसरी भएको हो भन्न बुझ्न भनेरै घटनास्थलमा आएको भनेर उनीहरूलाई सम्झाउने प्रयास गरिरह्यौं। तर उनीहरू त्यहाँ गरिएको अवरोध, ढुंगामुढा र उनीहरूको आक्रोश केही पनि मोबाइल र क्यामेरामा नखिच्न भनिरहेका थिए।
विष्णु र विकास मोटरसाइकल राखेर आएपछि पाँच जना नै अगाडि मोतीपुरको बस्तीतर्फ लाग्यौं।
बस्तीका स्थानीय घर बाहिर कमैमात्र थिए। सबै घरका छतमा र कोठाभित्र बसेर बाहिर जग्गा कब्जा गर्ने समूह र प्रहरी बीचको झडप हेरिरहेका थिए।
बस्तीमा कतै प्रहरी देखिएको थिएन। हामी औद्योगिक क्षेत्रको जग्गा भएको जंगल क्षेत्रतर्फ अगाडि बढ्यौं।
बस्तीदेखि पछाडिको अवस्था भयावह थियो। जग्गा कब्जा गर्ने समूह टायर बालेर र बाटोमा ढुंगा राखेर अवरोध गरिरहेका थिए।
औद्योगिक क्षेत्रको जंगलभित्र सुरक्षाकर्मीसँग दोहोर झडप भइरहेको थियो।
उक्त समूहले प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम हानिरहेका थिए।
जवाफमा सुरक्षाकर्मीले फायर गरिरहेको थियो। प्रहरीले फायर गरेको गोली लागेर घाइते भएकाहरूलाई सोही समूहका युवाहरूले अस्पताल लैजाँदै थिए।
त्यहाँ लामो समय बस्नु हाम्रो लागि पनि असुरक्षित थियो। त्यहाँ आएका केहीलाई कहाँबाट आएको र किन आएको भनेर सोद्धा उनीहरू सुकुम्बासीको लागि जग्गा खुलेको थाहा पाएर आएको बताउँदै थिए।
त्यहाँ आएकामध्ये अधिकांश रूपन्देहीभन्दा बाहिरका थिए। रूपन्देही घर बताउने थोरै मात्र भेटिए। उनीहरूसँग केही जानकारी लिएपछि हामीहरू त्यहाँबाट फर्किन खोज्यौं। चर्को गर्मी थियो। मोटरसाइकल वरै छोडेर पैदल हिँड्दा र त्यहाँको दोहोरो झडप देख्दा ओठमुख सुकिरहेको थियो।
त्यसअघि नै जग्गा कब्जा गर्नेहरूको समूहले चारजना प्रहरीलाई नियन्त्रणमा लिएर स्थानीय एकजनाको निर्माणाधीन घरमा राखेको हल्ला फैलिएको थियो। प्रहरीले उक्त समूहले कब्जामा राखेका प्रहरीहरूलाई उद्दार गरिरहेको थियो।
तिनाउ पुल तर्नुभन्दा अगाडि नै हो-हल्ला र गोली चलेको आवाज सुनेका थियौं। पटका पड्किएकोजस्तो निरन्तर गोली चलेको आवाज आइरहेको थियो।
आक्रोशित भिडले नाराबाजी गरिरहेको आवाज पनि सुनिन्थ्यो। हामी सुरक्षित बसेर घटनाक्रम हेरिरहेका थियौं। करिब दुई घण्टाजति बस्दा प्रहरी र सुकुम्बासीका बीच झडप भइरहेको थियो।
हातहातमा पेट्रोल बम लिएका युवाले प्रहरीमाथि आक्रमण गरिरहेका थिए।
थानका थान बियरका बोतलमा पेट्रोल कसरी आइरहेको थियो, कसले बोतलमा पेट्रोल भरेको थियो यो चासोको विषय थियो।
तिनाउ नदीको पुलमाथि पहिलेजस्तै उक्त समूहको नाराबाजी र प्रदर्शन यथावत थियो। पश्चिमतर्फबाट पनि सोही समूह अगाडि बढिरहेको थियो। दुवै तर्फबाट आक्रोशित समूह अगाडि बढिरहेको थियो। बीचमा रहेको सुरक्षाकर्मीको टोली भित्री सडकतर्फ छेलिएर बसेको थियो। हामी भने दुवै समूहको बीचमा परेका थियौं।
त्यहाँ बस्नु असुरक्षित थियो तर निस्किन सक्ने अवस्था पनि थिएन। त्यहाँबाट निस्किने दुबै तर्फको बाटोमा सोही समूहले ढुंगामुढा गरिरहेको थियो। हामीले केही तस्वीर र भिडिओ लियौं।
यत्तिकैमा ४०/५० जनाको समूहले फोटो खिचिरहेका पत्रकारलाई हानौं भन्दै हामीतर्फ दौडिएर आइरहेका थिए। हामीले तस्वीर खिचिरहेकोले उक्त समूहको निशानामा परेका थियौं।
दिनेश र कृष्ण केही अगाडि भएकोले मुख्य सडकको पश्चिमतर्फ दौडिए। विष्णु, विकास र म भने भित्री सडकतर्फ पस्यौं। त्यो समूहले हामीलाई पनि खोज्दै भित्री सडकतर्फ चिच्याउँदै खोज्दै थियो। हामी एउटा घरको कम्पाउण्डको भित्तोमा छेलिएर बसिरह्यौं। हामीलाई नदेखेपछि त्यो समूह फर्किएर गयो।
दिनेशलाई भने लठ्ठी, ढुंगा र हेलमेटले हान्दै डेढ सय मिटर अगाडिसम्म लखेटिरहे। कृष्ण दिनेशको पछिपछि उनलाई जोगाउन लागिरहेका थिए। तर त्यो समूहले दिनेशको टाउको, पिँठ्यू, हात जताजतै लठ्ठी र ढुंगाले हानिरहेको थियो।
उनलाई जोगाउन हामी फर्किएर जान सक्ने अवस्था थिएन। त्यहाँ गएको पत्रकार महिला ममात्र भएकोले म उनीहरूको निशानामा थिएँ। पछि कृष्णले सुनाए अनुसार भिडले 'पत्रकार केटी पनि थिई त्यसलाई पनि पिट्नुपर्छ' भन्दै थिए रे।
त्यहाँको भिड हेर्दा स्थानीयजस्तो कोही देखिँदैनथे। लामो समय बुटवलमै रहेको कारण धेरैपटक समाचार संकलनको लागि बुटवलको सुकुम्बासी क्षेत्रमा गएका छौं। पत्रकारहरू त्यहाँ पुग्दा स्थानीयले कहिल्यै नराम्रो व्यवहार देखाएको अनुभव गर्नु परेको थिएन।
सरकार र राजनीतिक दलप्रति आफ्ना गुनासा राख्दा र आक्रोश व्यक्त गर्दा पनि पत्रकारप्रति सम्मानजनक व्यवहार देखाउँथे। धेरैजसो स्थानिय चिनेजानेका पनि छन्। आइतबारको दृश्य भने ठिकविपरीत थियो।
त्यतिन्जेल मैले पत्रकार दिनेश र कृष्ण आन्दोलनकारीले कुट्दै लिएर गएको जानकारी पत्रकार महासंघका पदाधिकारीलाई गराइसकेकी थिएँ। प्रहरी प्रशासनलाई जानकारी दिन प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, प्रहरी प्रवक्ता लगायतलाई पटक पटक फोन गरें। तर कसैको फोन उठेन।
हामी त्यहाँबाट सुरक्षित रूपमा फर्किन सकिरहेका थिएनौं। उक्त समूहको निशानामा परी लखेटिँदा पनि स्थानीयबासीले सहयोग गर्न डराइरहेका थिए।
मैले हामी पत्रकार हो आन्दोलनकारीले हामीलाई खोज्दै लखेटिरहेका छन्, हामीलाई जोगाउनुस् भन्दै २०/२५ घरमा अनुरोध गरें। तर सबैले हामीलाई भित्र लुक्न दिए आफूहरू पछि असुरक्षित रहने भन्दै गेट खोल्न मानेनन्।
दिनेशलाई फोन गर्दा उनको फोन उठेन, आक्रमणकारीले उनको मोबाइल खोसेर लगिसकेको रहेछ। कृष्णलाई फोन गरेपछि थाहा भयो विश्वको टाउकोमा काटिएको र शरीरभरि चोटैचोट लागेकोले अस्पताल लैजाँदै रहेछन्। हामी लुकिरहेको देखेपछि दुईजना स्थानीय युवाले हामीलाई उद्दार गरी भित्री सडक हुंँदै तिनाउ पुल वारिसम्म ल्याएर छोडेर फर्किए।
हामी पनि त्यहाँबाट निस्किएपछि सिधै अस्पताल गएर दिनेश र कृष्णलाई भेट्यौं। कृष्ण सकुशल थिए, दिनेशको टाउकोमा सिसाले काटेर रगत बगिरहेको थियो।
उक्त घटनापछि धेरै प्रकारका प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। कसैले वर्षौदेखि बसेका निहत्था सुकुम्बासीमाथि प्रशासनले गोली चलायो भनिरहेका छन्। कसैले प्रहरीले संयमता अपनाएन भनिरहेका छन्। तर घटनास्थलमा पुगेर त्यहाँको दृश्य हेर्दा र त्यहाँ आएकाहरूसँग कुरा गर्दा मोतीपुर औद्योगिक क्षेत्रमा आएका अधिकांश व्यक्तिहरू न त सुकुम्बासी थिए, न त वर्षौंदेखि बसोबास गरिरहेका स्थानीय नै।
पछिल्लो तीन चार महिनायता विभिन्न जिल्लाबाट सिधासादा जनतालाई ल्याएर प्रहरीसँग भिड्न उक्साउने गिरोहको कारण चार जनाको ज्यान जाने गरी आइतबार मोतीपुरमा घटना घटाइएको थियो।
नेपाल सरकारले छ वर्ष पहिले औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेपछि नै औद्योगिक क्षेत्रको विषय विवादमा पर्दै आयो। सरकारले २०७२ साल चैत १ गते नै रूपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योेगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो।
लामो समयसम्म औद्योगिक क्षेत्रको विस्तार नहुँदा नयाँ उद्योग सञ्चालन गर्न नसकिएको उद्योगीहरूको गुनासोलाई सम्बोधन गर्न सरकारले तिनाउ नदीको उकास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो।
औद्योगिक क्षेत्रको लागि छुट्याएको जग्गा धेरैजसो बुटवल उपमहानगरपालिकाको वडा नं. १७ र १८ मा पर्ने भए पनि छिमेकी पालिकाहरू तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकाको पनि केही क्षेत्र जोडिएको छ।
सरकारले १२ अर्बभन्दा बढीको लागतमा ९ सय ४६ दशमलव ४६ विघा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अगाडि सारिरहँदा सो क्षेत्रका केही बासिन्दाले उतिबेला नै विरोध जनाएका थिए।
२०७५ साल जेठ २१ गतेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संचालक समितिको बैठकबाट ९४६ दशमलव ४६ विघा जग्गाको डिपिआर स्वीकृत गरिएको थियो। तर लालपूर्जा भने औद्योगिक क्षेत्रको नाममा ८ सय १३ विघाको मात्र प्राप्त भएको थियो।
बाँकी रहेको १ सय ३३ दशमलव ४६ विघा जग्गामा बसोबास गर्दै आएकाहरूले आफूहरूले वर्षौंदेखि बसोबास र जोतभोग गर्दै आएको भन्दै आफूहरूको समस्या समाधान गरेपछि मात्र औद्योगिक क्षेत्र शिलान्यास गर्न दिने शर्त अगाडि सारे।
स्थानीयबासीका प्रतिनिधि, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कर्मचारी र स्थानीय प्रशासन समेतको सहभागितामा १ सय ३३ विघा क्षेत्रमा बसोबास गरेकाहरूको समस्या समाधान गर्ने सहमति भयो। सोही अनुरूप गत फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गरिरहँदा कार्यक्रम बिथोलियो।
स्थानीयको नाममा बुटवल बाहिरबाट समेत ल्याइएका अराजक समूहले कार्यक्रममा ढुंगामुढा गरी शिलान्यास कार्यक्रम बिथोलेका थिए।
कार्यक्रम बिथोलिएपछि केही समय मोतीपुरको चर्चा त्यतिकै हरायो। तर गत वैशाख महिनादेखि भने औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने क्रम सुरू भइरहेको थियो। केही दिन जग्गा कब्जा गरेर बसेकाहरूलाई वैशाखमै स्थानीय प्रशासनले लखेटी छाप्राहरूमा आगो लगाइदिएको थियो।
वैशाखदेखि नै कोरोना महामारीको दोस्रो लहर सुरू भएपछि स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गर्यो। निषेधाज्ञाको कारण साउनसम्म औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न रोकियो। तर भदौ महिनादेखि भने जग्गा कब्जा गर्ने क्रमले यति व्यापकता पायो कि सुकुम्बासीको नाममा देशका अधिकांश जिल्लाबाट बुटवलमा डेरा लिएरै जग्गा रोक्न थालिएको थियो।
सोही क्रममा आइतबार स्थानीय प्रशासनले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेकाहरूलाई बाहिर निकाल्न खोज्दा उक्त समूह र सुरक्षाकर्मीका बीचमा झडप भएको थियो।
(सबै तस्बिर कर्फ्यू लागेपछि खिचिएको हो।)