बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र जग्गा गरी बसेकाबीच भएको झडपमा घाइते भएका ४ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
आइतबार भएको उक्त झडपमा गम्भीर घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा लगिएको रुपन्देही प्रहरीले जनाएको छ।
काठमाडौं लगिएकाहरूमा नेपाल प्रहरीका जवान जयकुमार थारु र गेहराज पुन मगर तथा सशस्त्र प्रहरीका सहायक हवल्दार खुशीराम चौधरी र हवल्दार तिलक धामी छन्।
देशका विभिन्न जिल्लाबाट आई मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार दिनभर सुरक्षाकर्मी र उक्त समूहबीच झडप भएको थियो। जग्गा कब्जा गरी बसेकालाई प्रहरीले त्यहाँबाट निकाल्न खोजेपछि उनीहरूले प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गर्न थालेपछि प्रहरीले गोली प्रहार गरेको थियो।
सो क्रममा दुबैतर्फ गरी करिब ७० जना घाइते भएकोमा ४ जना सर्वसाधारणको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुको वाणगंगाका ४८ वर्षीय रमेश परियारको पहिचान खुले पनि तीन जनाको भने अझै पहिचान खुलेको छैन। उक्त समूहका १६ जना घाइते छन्।
त्यस्तै, जग्गा कब्जा गर्ने समूहको आक्रमणमा परी ४९ जना सुरक्षाकर्मी घाइते भएका छन्।
आइतबार दिनभरजसो उक्त समूह र सुरक्षाकर्मीका बीचमा झडप भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आइतबार दिउँसो ४ बजेदेखि नै सो क्षेत्रमा कर्फ्यू जारी गरेको छ।
सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने र पछि महँगोमा विक्री गर्ने गिरोहले मोतीपुरमा सुकुम्बासीको लागि जग्गा खुलेको छ भन्ने हल्ला फिजाएपछि गत वैशाख महिनादेखि औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आउने क्रम बढ्दै गएको थियो।
वैशाख महिनामा पनि प्रहरीले जग्गा कब्जा गरी बसेकाहरूलाई लखेटी करिब १ हजार छाप्रामा आगो लगाइदिएको थियो।
पछिल्लो समय भदौ महिनादेखि भने जग्गा कब्जा गर्ने क्रम व्यापक बनेको थियो।
स्थानीयका अनुसार देशका विभिन्न क्षेत्रका दैनिक ४/५ हजारको संख्यामा आएकाहरूले दिनभरि बैठक गर्ने, जग्गा कुर्न आएनआएको हाजिरी गर्ने र समूह- समूहमा विभाजन भई ब्लक समेत छुट्याएर जग्गा रेखांकन गरी भागबण्डा गरेका थिए।
मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने गरी नेपाल सरकारले २०७२ साल चैत १ मा घोषणा गरेको थियो। घोषणा गर्दा ५ वर्षभित्र औद्योगिक क्षेत्र स्थापना गरिसक्ने बताएपछि ६ वर्ष बितिसक्दा पनि न त औद्योगिक क्षेत्र स्थापना भएको छ न त तारबार गरि संरक्षण गर्न सकेको छ।