रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परेर घाइते भएका तीन जनाको मृत्यु भएको छ।
उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।
बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा आइतबार सशस्त्र प्रहरीले जग्गा कब्जा गरेर बसेकाहरूबीच झडप भएको थियो।
सोही क्रममा तीन जना सर्वसाधारणको मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख सुशील गुरूङले जानकारी दिए।
‘बुटवल मोतीपुरको झडपमा परेर घाइते भएका ८ जना सर्वसाधारण र ५ जना सशस्त्र प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा ल्याइएको थियो। तीमध्ये ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो,’ गुरूङले सेतोपाटीसँग भने।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु घाइतेहरूको अवस्था सामान्य रहेको गुरूङले जानकारी दिए।
स्थानीय प्रशासनले भने मृत्यु भएकोबारे केही जानकारी दिएको छैन। रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले मृत्यु भएकोबारे आफूलाई जानकारी नभएको बताए।