रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थिति नियन्त्रणमा राख्नका लागि कर्फ्यू आदेश जारी गरेको हो।
जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भीड जम्मा गर्न र अनावश्यक भीड नगर्न प्रशासनले आग्रह गरेको छ।
औद्योगिक क्षेत्रमा घरटहरा बनाई बस्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको थियो। जग्गा कब्जा गरी बसेकाहरूले प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका थिए। झडपमा परी दुबैतर्फका एक दर्जन बढी घाइते भएका छन्।
प्रत्यक्षदर्शीले प्रहरीको गोली लागेर एक जनाको मृत्यु र कम्तीमा पाँच जना घाइते भएको जनाएका छन्। प्रहरीतर्फ पनि आधा दर्जन बढी घाइते छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजनासहित गत वैशाख महिनायता देशका विभिन्न जिल्लाबाट समूह बनाएर सर्वसाधारण आउने गरेका छन्।
स्थानीयका अनुसार रुपन्देहीका बुटवल आसपासमात्र नभई कपिलवस्तु, नवलपरासी, रोल्पालगायत अधिकांश जिल्लाबाट २५ देखि ३० जनाको समूह बनाई एरिया छुट्टयाएर जग्गा कब्जा गर्ने गरिएको छ।
दिनहुँजसो गाडी रिजर्भ गरी आउने र साँझ फर्किने क्रम गत वैशाखदेखि नै जारी रहे पनि स्थानीय प्रशासनले सुरूमै चासो नदिँदा जग्गा कब्जा गर्नेहरूलाई बल पुगेको स्थानीयको गुनासो छ।
औद्योगिक क्षेत्रको लागि छुट्याएर राखिएको क्षेत्रमा सयौं छाप्रा बनाएर बसिरहे पनि आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको थियो। मोतिपुर औद्योगिक क्षेत्र गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र हो।
यसैबीच घटनाको समाचार संकलन गर्न गएका रुपन्देहीका दुई जना पत्रकार भीडको कुटपिटबाट घाइते भएका छन्। बुटवल एफएममा कार्यरत दिनेश ज्ञवाली र लुम्बिनी टेलिभिजनमा कार्यरत कृष्ण पाण्डेलाई आक्रोशित भीडले कुटपिट गरेको हो। पाण्डेको अवस्था सामान्य रहेको छ भने ढुंगा, लठ्ठी र हेलमेट प्रहारबाट ज्ञवालीको टाउकोमा चोट लागेको छ। उनको बुटवलमा उपचार भइरहेको छ।