कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन।
गत सोमबार साँझदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का अधिकांश गाउँहरूमा झाडापखाला र बान्ताको प्रकोप फैलिएको हो।
झाडापखालाको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ थपिँदै गएको छ।
बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल भर्ना भएकोमा बिहीबार थप एक सय जना बिरामी थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बिहीबार बिहानसम्म ३ सय ४० जना बिरामी अस्पतालमा भर्ना भएको जानकारी दिए।
अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकमा आउने क्रम जारी रहेको छ। घर-घरमा पनि अधिकांश व्यक्तिहरू बिरामी भेटिएका छन्।
कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।
तीन वटा वडाका गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि अहिले वडा अध्यक्षहरूको नेतृत्वमा नौ वटा टोली बनाएर घर- घरमा पुगी बिरामीहरूको पहिचान र उनीहरूको अवस्थाबारे जानकारी लिन थालिएको घिमिरेले बताए।
बुधबार झाडापखाला फैलिएका सबै गाउँमा टोली पुगेको र सो क्रममा गाउँका ७० प्रतिशतभन्दा बढी घरमा झाडापखालाका बिरामी भेटिएको उनले जानकारी दिए।
झाडापखाला फैलिएको घरका अधिकांश व्यक्तिहरू बिरामी छन्।
´प्रभावित गाउँका अधिकांश घरमा बिरामी भेटिएका छन्, तीमध्ये सिकिस्त अवस्थाका बिरामीलाई अस्पताल ल्याउने र सामान्य अवस्थाका बिरामीलाई घरमै बसेर औषधि सेवन गर्न भनिएको छ,´ घिमिरेले भने।
ती टोलीले आज पनि प्रभावित गाउँहरूको अनुगमन तथा निरीक्षण गर्ने उनले बताए।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली पनि झाडापखाला फैलिएका गाउँ र बिरामीहरूको अवस्था बुझेर फर्किइसकेको छ। मंगलबार नै पुगेको स्वास्थ्य टोलीले परीक्षणको लागि बिरामीहरूको दिसा र पानीको नमूना संकलन गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको छ।
पानीको रिपोर्ट आइसके पनि दिसाको रिपोर्ट भने बिहीबार साँझसम्म आइपुग्ने हेल्थ असिष्टेन्ट घिमिरेले बताए।
पानी परीक्षणको रिपोर्टमा इकोलाई ब्याक्टेरिया भेटिए पनि दिसाको रिपोर्ट आइसकेपछि मात्र झाडापखाला फैलिनुको कारण पत्ता लाग्ने उनले बताए।
घिमिरेका अनुसार बिरामीहरूको अवस्था र उनीहरूमा देखिएको लक्षणलाई हेर्दा हैजा फैलिएर झाडापखालाको प्रकोप देखिएको हुनसक्ने आशंका गरिएको छ।
अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली, बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको छ।