चप्पलले खुट्टामा पारेका ठेलाले खुट्टा भतभती पोले पनि ९ दिनदेखि उनीहरूको यात्रा रोकिएको छैन।
खुट्टामा उठेका ठेलाले रातभरि खुट्टा भतभती पोल्छ, खुट्टाको ठेलाभन्दा पनि दिनहुँजसो महिलामाथि भइरहने हत्या हिंसाका घटना र ती घटनाको अनुसन्धानमा प्रहरी प्रशासनले गर्ने बेवास्ताले उनीहरूको मन पोल्ने गर्छ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ गते आफ्नै घरमा मृत भेटिइन्। वर्षौदेखि घरेलु हिंसा खेप्दै आएकी धोबीको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले आत्महत्या गरेको भनिदियो।
गतवर्ष मंसिरमा बाँकेकै परस्पुर गाउँकी निर्मला कुर्मी बेपत्ता भइन्। एकल महिला कुर्मीको खोजी गर्न उनका आफन्त र महिला अधिकारकर्मीले मंसिर १६ गते प्रहरीमा किटानी जाहेरी दिए। प्रहरीले उनको खोजी र अनुसन्धानलाई अगाडि बढाएन। बेपत्ता भएको भनिएकी कुर्मीको मृत्यु भइसकेको बताएको प्रहरीले उनको शव भने देखाएन।
घरमै मृत भेटिएकी धोबी र बेपत्ता कुर्मीको घटना शंकास्पद रहेको भन्दै उनीहरूका आफन्त तथा स्थानीय महिलाले जाहेरी दिए पनि प्रहरीले अनुसन्धान गरेन। अहिले मृतकका आफन्त र महिला अधिकारकर्मी उनीहरूको मृत्युको अनुसन्धान गर्नु पर्ने माग गर्दै बाँकेदेखि काठमाडौंसम्म पैदल यात्रामा निस्किएका छन्।
प्रहरीले न्याय संगत छानबिन नगरेको भन्दै असोज १ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट पैदल यात्रा तय गरेका उनीहरू नवौं दिन शनिबार बुटवल आइपुगेका छन्।
बुटवल आए पनि उनीहरूको यात्रा रोकिने छैन। न्यायको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालय बुटवलमा आइतबार र सोमबार धर्ना दिएपछि फेरि उनीहरूको यात्रा काठमाडौंका लागि अगाडि बढ्ने छ।
‘न्यायको लागि आइतबार र सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएपछि हामी काठमाडौं प्रस्थान गर्ने छौं,’ यात्रामा सहभागी रुबी खानले भनिन्।
‘लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएकी धोबीको शव झुन्डिएको अवस्थामा घरमै भेटिए पनि उक्त घटना शंकास्पद भएकाले अनुसन्धानको लागि प्रहरी गुहारेका थियौं। प्रहरीले अनुसन्धान नै नगरी आत्महत्या भनेर अनुसन्धान अगाडी बढाएन,’ उनले भनिन्।
राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्षसमेत रहेकी खानले धोबी र कुर्मी दुबै जनाको सम्पत्ति हड्पन हत्या भएको हुन सक्ने भए पनि प्रहरीले छानबिनमा तदारुकता नदेखाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताइन्।
‘महिलामाथि भएको घटनालाई ढाकछोप गर्न हत्यालाई आत्महत्या गराउन खोजिएको छ, हामी उनीहरूको न्यायको लागि हिँडेका हौं,’ उनले भनिन्।
उनीहरू बाटोमा जहाँ जसले सहयोग गर्छ त्यही खाना खान्छन्।
‘यात्रा सुरू गर्दा कहाँ पुगेर बास बस्ने भन्ने निश्चित नै हुँदैन, हिँड्दै जाँदा जहाँ पुग्दा रात पर्छ त्यहीँ बास बस्छौं,’ खानले भनिन्, ‘बास बस्ने कतिपय ठाउँमा पुग्दा स्थानीय महिला अधिकारकर्मी र होटल व्यवसायीले खाना खुवाउने र बास बस्ने प्रबन्ध गरिदिए पनि अधिकांश स्थानमा भने आफैंले मागेर खाना खायौं।’
दिनभरिको थकान र भोलिको यात्राको सोचाइले राति निदाउनसमेत गाह्रो हुन्छ।
‘वर्षौदेखि हिंसा खेपिरहेकी एउटी महिला घरमा मृत भेटिन्छन्, अर्की एकल महिला बेपत्ता छन्। प्रहरी प्रशासन खोजी र अनुसन्धान गर्नुको साटो मृत भेटिएकी महिलालाई आत्महत्या गरेको भनिदिन्छ, बेपत्ता महिलाको पनि मृत्यु भइसकेको भन्छ आखिर महिलाले कहाँ गएर न्याय पाउने हो?,’ खानले भनिन्,‘सरकारलाई यो देशमा न्याय छ कि छैन भनेर सोध्न पैदल यात्रामा निस्किएका हौं।’
यात्रामा २३ वर्षदेखि ४५ वर्ष उमेरसम्मका ११ जना महिला र ३ जना पुरुष गरी १४ जना सहभागी छन्। पैदल यात्रामा मृतक नन्कुन्नी धोबीका भाइ माताप्रसाद, दिदी विष्टा र बहिनी शिला धोबी पनि सहभागी छन्।
उनीहरूले दिदीले घरेलु हिंसाकै कारण हत्या गरिएको भए पनि प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिएको बताए।
‘दिदीको न्यायको लागि पटक-पटक जिल्ला प्रशासन कार्यालय बाँकेमा गयौं, त्यसको कुनै सुनुवाइ भएन,’ शिलाले भनिन्, ‘बाँके जिल्ला प्रशासनमा पनि १९ दिनसम्म धर्नामा बस्यौं, न्याय नपाएपछि असोज १ गतेदेखि पैदल यात्रा सुरू गरेका हौं।’
सुरूका दिन दैनिक ३०/३५ किलोमिटर यात्रा पार गरेका उनीहरू दिन लम्बिँदै जाँदा भने थकित बनेका छन्। फितासहितका चप्पल लगाएका उनीहरूका खुट्टामा फोरा उठेर सुन्निएका छन्।
नेपालगञ्जदेखि बुटवलसम्म करिब २ सय ४० किलोमिटर पैदल यात्रा हिँडेका उनीहरू पहिलो दिन करिब २५ किलोमिटर यात्रा पार गरी कोहलपुर आएर बसेका थिए। रुबीले सुरूका दिन लामो यात्रा पार गरे पनि पछिल्ला दिन थकान र खुट्टामा उठेका ठेलाले धेरै हिँड्न नसकेको बताइन्।
यात्राको क्रममा सोमबार लमही, मंगलबार लुम्बिनी प्रदेशको अस्थायी राजधानी भालुवाङ, बुधबार कपिलवस्तुको इमिलिया, बिहिबार जितपुर आइपुगेका उनीहरूलाई त्यहाँबाट बुटवल आइपुग्न दुई दिन लागेको छ। शुक्रबार ग्लोबल पिस पार्कमा बास बसेको उक्त टोली शनिबार दिउँसो ४ बजेतिर बुटवल आइपुगेको हो।
बुटवलमा दुई दिनसम्म रहँदा उनीहरू विश्वहिन्दु महासंघको धर्मशालामा बास बस्नेछन् भने मुख्यमन्त्री कार्यालयमा धर्ना दिने छन्।
न्यायका लागि पैदल यात्रामा निस्किएकी सकिना तेलीले खुट्टामा ठेला उठे पनि न्यायको लागि अगाडि बढेको यात्रा नरोकिने बताइन्।
‘लुम्बिनी प्रदेश सरकारले न्यायको लागि पहल नगरे काठमाडौं पुगेर कडा आन्दोलन गर्ने छौं, प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने छौं,’ उनले भनिन्।