उनी इन्द्रकी आमा बसुन्धरा हुन्। येँया अर्थात् इन्द्रजात्रामा 'दागीं' भनेर चिनिन्छन्।
बसुन्धरालाई एकपटक ब्रत बस्नु थियो। त्यसका लागि पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो। उनले छोरा इन्द्रलाई पाताल पठाइन्। फूल खोज्दै इन्द्र काठमाडौं मरुस्थित भै–केवः मा पुग्छन्। एउटा किसानको बगैंचामा फूल देखेपछि टिप्छन्।
किसानले इन्द्रलाई चोर ठानेर समात्छन्। डोरीले पाता कसेर बीच सडकमै जात्रा गर्छन्। आमा बसुन्धरा अबेरसम्म छोरा नफर्किएपछि आत्तिन्छिन्। अनि इन्द्रको बहान ऐरावत हात्तीलाई पाताललोक पठाउँछिन्।
इन्द्र खोज्न गएको हात्तीलाई पनि किलागलका स्थानीयले समातेर राख्छन्। त्यसपछि इन्द्रकी आमालाई आफैं पाताल झर्नुपर्ने हुन्छ।
उनै आमा 'दागीं' बनेर येँया पुन्हीमा देखिन्छिन्। रातभरि इन्द्र खोज्दै भौंतारिन्छिन्।
पातालकी यी दागीं हुन्, काठमाडौं खुसिबुँ निवासी मंगलमान डंगोल। २०५२ सालमा पहिलो पटक बनेका थिए। तर त्यो वर्ष दागीं बन्नू उनका लागि सहज थिएन।
बुवा दानरत्नको निधन भएको वर्ष थियो त्यो। बुवा गुमाउनुको पीडा एकातिर। परम्परा धान्नु पर्ने बाध्यता अर्कोतिर। विकल्प थिएन।
'पहिलोपटक दागीं बन्दाको अनुभव कस्तो थियो भन्नु,' उनी एकछिन चुप भए र भने, 'बुवा बितेको भर्खरै ६ महिनाजति भएको थियो। वर्खी बारेको सेतो लुगामा थिएँ। जात्रामा दागीं त बन्नुपर्ने नै थियो। तर लुगा, मुकुट लगाउँदा बुवा नै सम्झिइरहेँ।'
उनी अघिका दागीं उनका बुबा नै थिए। इन्द्रजात्रामा यो भूमिका गर्ने डंगोल परिवार नै हो। वर्षौंदेखि परम्परा हस्तान्तरण हुँदै आएको छ। बुवा दानरत्नको निधनपछि मंगलमान बने। उनीपछि छोरा दीपेन्द्रको पालो आउँछ। दीपेन्द्र पनि यो परम्परालाई निरन्तरता दिन तयार छन्।
कुमारी रथ तान्ने दिन दागीं निस्कन्छ। यो दिन काठमाडौंको तल्लो टोल (कोहने) मा रथयात्रा हुन्छ। रथले यात्रा गरेका टोलमै दागीं हिँड्छ।
दागींसँगै वरिपरि वर्षभरिमा निधन भएकाहरूको परिवार हिँड्छन्। दागींले मृत्यु भएका व्यक्तिहरूलाई स्वर्गलोक पुर्याउँछन् भन्ने विश्वास छ।
किम्बदन्तीअनुसार इन्द्रकी आमा (दागीं) ले छोरा खोज्दै जाँदा काठमाडौंमा भेट्छिन्। इन्द्रलाई बाँधेर राखेको देख्छिन्। इन्द्र छुटाउन उनलाई सहज थिएन। स्थानीयले दिएका दुई सर्त मान्नुपर्थ्यो।
पहिलो– मरेपछि स्वर्ग जान पाउनु।
दोस्रो– धान पकाउनका लागि 'कुहिरो' ल्याउनु। कुहिरोका कारण शीतको थोपा बन्छ। पानी नपर्ने मौसममा किसानलाई त्यो महत्व हुन्छ।
इन्द्रकी आमा सर्त मान्न तयार हुन्छिन्। स्वर्गलोक पुग्न दहचोकस्थित इन्द्रदहमा नुहाउनुपर्ने सुझाउँछिन्।
यसैले इन्द्रजात्रापछि 'कुहिरो' लाग्ने र चिसो मौसम सुरु हुने स्थानीयको मान्यता छ।
यही मान्यताका साथ वर्षभरि मरेकाको परिवार दागीं पछ्याउँदै हिँड्छन्। बाटोमा सदबिऊ छर्छन्। बत्ती बाल्छन्। कोही इन्द्रदहसम्मै पुगेर नुहाउँछन्।
इन्द्रजात्राको त्यो दिन मंगलमानको पुरानो घर नरदेवीमा भीड लाग्छ। दागींसँगै त्यो दिन हिँड्न नसक्ने परिवार त्यहाँ पूजा गर्न आउँछन्। त्यो दिन मंगलमानले बिहानै नुहाइधुवाइ गरेर निराहार बस्नुपर्छ।
काठमाडौं मरुगणेशथानस्थित लुकुफल्चाबाट उनी दागीं बनेर निस्कन्छन्। गणेशथान घुम्छन्। फ्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका, जैसिदेवल, लगन, ह्युमटा, भिमसेनथान हुँदै मरुमै गएर टुंगिन्छ।
'यी सबै टोलमा खाली खुट्टा हिँड्नुपर्छ। त्यसै त रातको समय हुन्छ। तर अहिलेसम्म चोट लागेको कुनै दिन छैन,' मंगलमानले भने, 'भगवानको शक्तिले सायद।'
दागींसँगै हिँड्ने मान्छेले बाटोभरि सदबिऊ छर्छन्। दागींको पछि हिँड्दा स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सियोस् भनेर छरिएको भन्ने भनाइ छ।
गणेशथान प्याफल, याट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका लगायतका टोल परिक्रमा गर्दै गर्दा त्यहाँ बौमतः लग्ने तयारी हुन्छ। न्यापकट्टी भनिने निगालोजस्तो बाँसलाई सर्पझैं लस्कर लगाएर राखिएको हुन्छ। ठाउँ–ठाउँमा गोबर टाँसेर त्यसमाथि दियो बालिएको हुन्छ। यसलाई पाँचवटा मानन्धर टोलले बनाउँछन्।
बोमतःलाई नागराजकै प्रतीकका रूपमा निर्माण गरिएको हुन्छ। सबभन्दा माथिको टाउको लायकुसा, घाँटी न्हुँसा, शरीर फल्चासा, बीचको भाग देसाः र पुच्छर चस्वाँदु मानन्धर टोलले बनाएका रहेछन्। आ–आफ्नो टोलमा बनाएर काष्ठमण्डप छेउ राखेर त्यसलाई लामो सर्पजस्तो आकारमा जोडिएको हुन्छ।
गणेशथान हुँदै माथिल्लो टोल परिक्रमा गरेर दागीं काष्ठमण्डपबाट ठ्याक्क कटेर जैसिदेवल, लगन लगायत ठाउँ परिक्रमा गर्दा बौमतःलाई गणेशथानको परिक्रमा गराउँदै दागीं पहिले हिँडकै बाटो बाजागाजासहित हिँडाइन्छ। बौमतः र दागीं भेट हुन नहुने विश्वास पनि छ।
'दागींले करिब आधा बाटो हिँडेपछि मात्रै बौमतः हिँड्छ। किन?'
स्थानीय सन्देश मुनिकारका अनुसार रातमा दागीं र उनीसँगै पछि लाग्ने दिवंगतको परिवार दिनभर भोकै हुन्छन्। त्यसकारण उनीहरू बाटोमा कमजोरीका कारण ढल्ने सम्भावना हुन्छ। बौमतःले बाटोमा कोही ढलेका पो छन् कि भनेर खोज्दै हिँड्ने रहेछ। हामीले अहिले देख्ने 'रेडक्रस' जस्तो बौमतःले तिनीहरूको उद्धार गर्छन्।
दागीं बत्तिँदै सहर परिक्रमा गर्दै गर्दा बौमतःको गति ठ्याक्कै उल्टो हुन्छ। बाजागाजाको पछिपछि चारैतिरबाट बाँस समाउँदै बत्ती निभ्लाझैं मानिसहरू बिस्तारै हिँड्छन्।
मंगलमानका अनुसार दागीं बन्दा उनलाई वरपर के भइरहेको छ केही थाहै हुँदैन।
उनका दाजुभाइले उनलाई समातेर हिँडाउँछन्। दाजुभाइ लगायत उनीसँग हिँड्नेलाई दागींको परिवारले समयबजी खुवाउनुपर्छ। त्यसपछि, दागींसँग हिँडेका अन्य व्यक्तिमध्येमा इन्द्रदह जान चाहनेहरू त्यहीँबाट छुट्टिन्छन्।
'पहिले हिँडेरै पुग्थे। अहिले गाडीमा जान्छन्,' उनले भने, 'त्यहाँ ती मान्छेहरू नुहाइरहेको बेला दह बीचमा 'छप्ल्याङ्ग' आवाज आउँछ भनिन्छ। त्यो भनेको बाँधेर राखिएका इन्द्र र दागीं त्यहीँबाट इन्द्रलोक जानु हो।'
मंगलमान दागीं एक दिन बन्ने हो। तर उनले विभिन्न नियम भने वर्षभरि नै पालना गर्नुपर्ने हुन्छ। प्रत्येक दिन नुहाउनुपर्छ। जाँड–रक्सी, कुखुराको मासु लगायत खानु हुँदैन। चोखो गरेर पकाएको खानुपर्छ। महिनावारी भएको र जुठो परेका मान्छेलाई छुन नहुने मान्यता छ।
दागीं बन्ने दिनको चार दिनअघिदेखि नै मंगलमानले यी नियम अझै ध्यानपूर्वक पालना गर्नुपर्छ। नियममा नबसे बिरामी हुने, जिउ भारी जस्तो हुने उनी बताउँछन्।
'साथीभाइ चाडपर्वमा रमाइलो गरेको देख्दा भने किन दागीं बनेछु जस्तो लाग्छ,' उनले भने, 'के गर्नु नियम मान्नै पर्यो।'
एकपटक मंगलमानको बुवा दानरत्न दागीं बन्नुपर्ने समयमा बिरामी परेछन्। त्यसपछि, माइलो भाइ पूर्णनारायणलाई दागीं बनाइयो। दागीं बनेको महिनादिन नपुग्दै पूर्णनारायण बिरामी परे। उनको निधन भयो।
यसैले मंगलमान भन्छन्, 'अन्य मान्छे दागीं बस्न नहुने रहेछ। दाजुभाइ पनि नहुने। कुनै दिन फेरि त्यस्तै अप्ठ्यारो परे पूजारीलाई चिना देखाएर निर्णय गर्नुपर्ला।'
नियममा बस्नुबाहेक मगंलमानको दिनचर्या सामान्य छ। आफ्नै घरमा फर्निचर कारखाना र बासँबारीमा पार्टी प्यालेस खोलेका छन्। छोरा दीपेन्द्र उनलाई ती काममा पनि सघाउँछन्।
इन्द्रजात्रामा मात्र भगवानको भूमिकामा भए पनि मंगलमानलाई कहिलेकाहीँ साथीभाइकहाँ जाँदा जिस्काउँछन्, 'द्य: मनु वल्ल।'
'देवता मान्छे आयो।'