पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।
पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ।
२१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।
घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।
गए राति करिब १ बजेतिर पहिरो खसेको थियो। पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ।
घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए।
उनीहरू अर्कै कोठामा सुतेका थिए। उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ।