बुटवल– ३ ज्योतिनगरमा सोमबार विहान झरेको पहिरोले थप नौं वटा घर पुरिएका छन्। यसअघि गत भदौ १३ गते विहान झरेको पहिरोले ७ वटा घर पुरिएका थिए भने २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।
सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न शुरु गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले यसअघि ज्योतिनगरका बस्तीमा पहिरो झरेकोमा सोमबार भने लक्ष्मीनगर क्षेत्रमा पहिरो झरेको बताए।
सोमबार पनि नौं वटा घर पहिरोले पुरिएको र एक दर्जन बढी घरहरु जोखिममा रहेको कुँवरले बताए। गत भदौ १३ गते पहिरो झरेको ज्योतिनगरमा पनि लेदोसहितको पहिरो झर्ने क्रम रहेको उनले बताए।
ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न शुरु गरेको थियो। ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपपछि स्थानीय त्रसित बनेका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए। बस्तिमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उनले जानकारी दिए।
पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ। बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरुले चेतावनी दिएका छन्।