विगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात घर पुरिएका छन्। आइतबार बिहान ६ बजेदेखि बुटवल वडा नं. ३ ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरो अहिलेसम्म रोकिएको छैन।
आइतबार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सात जनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन्।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ। अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ।
बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरो सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ। चुरेबाट झरेको लेदो माटो बुटवल बहुमुखी क्याम्पस, ट्राफिक चोक हुँदै अस्पताल लाइनसम्म पुगेको छ।
सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरूलाई उद्धार गरी बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए।
बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुवँरले जानकारी दिए।
पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरूद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ। २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो।
२०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।
बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्।