केही वर्ष अघिसम्म बुटवलको पक्की पुलबाट उत्तर र दक्षिणतिर हेर्दा तिनाउ नदीले बगर ढाकिएको देखिन्थ्यो। यो वर्ष भदौ पहिलो साता देखिएको तिनाउको पानी उतिबेला हिउँदयाममै बग्थ्यो। फरक यत्ति छ, अहिले धमिलो देखिएको नदी दस वर्ष पहिलेको हिउँदमा सफा देखिन्थ्यो।
पाल्पाको माडीबाट सुरू भएको तिनाउमा बुटवलसम्म आइपुग्दा साना-ठूला तीस वटाभन्दा बढी खोला तथा खोल्सा मिसिएका छन्। वर्षामा चुरेको भेलसहित गड्गडाएर बग्ने तिनाउ हिउँदमै पनि बगर ढाकेर सुसाउँथ्यो। सिंगो रूपन्देहीकै आर्थिक समृद्धिको आधार र बुटवलको सौन्दर्य बनेको तिनाउ अहिले खहरेमा परिवर्तन भइरहेको छ।
पछिल्लो दुई दशकमा बढेको अनियन्त्रित उत्खनन् र मानवीय अतिक्रमणका कारण तिनाउको बाटो मोडिएको छ। रुपन्देहीमा हुने हरेक पूर्वाधार विकास काममा प्रयोग हुने नदिजन्य पदार्थको प्रमुख श्रोत हो। अतिक्रमणका कारण विकासको वरदान मानिएको तिनाउको अस्तित्व संकटमा परेको छ।
चार/पाँच वर्षअघिसम्म पानी बग्ने बहावक्षेत्रमा अहिले पक्की घर ठडिएका छन्। पहिले साढे दुई सय मिटर चौडाइमा फैलिएर बग्ने नदी पचास मिटरमा खुम्चिसक्यो। बगरमा घर ठडिँदै गएपछि वहाव क्षेत्र फैलिनुभन्दा भासिँदै गएको छ।
तिनाउ नदीलाई बुटवलबासीले कसरी अतिक्रमण गरेका छन् भन्ने हेर्न टाढा जानुपर्दैन। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुरानो बटौली बजार र अहिलेको बुटवल बजार जोड्ने पक्की पुलमुनिको किनार हेरे पुग्छ। पाँचवटा पिलर (स्पान) माथि बनेको पुलमुनि अहिले बस्तीले ढाकिएको छ।
तिनाउ र बुटवललाई सात दशकदेखि नजिकबाट हेरिरहेका रवीन्द्र गोपाल लाकौलका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्नुअघि पुरानो बटौली बजार र अहिलेको बुटवल (खस्यौली) बजार जोड्न पक्की पुल बनाइएको थियो। पुलचोकदेखि गणेश मन्दिर जोडेर बनाइएको पुरानो पुल २०३८ साल असोजमा बाढीले बगाएपछि अहिलेको पुल निर्माण गरिएको हो।
लाकौलका अनुसार पुल बनेको २०/२५ वर्षसम्म बगरमा त्यति अतिक्रमण भएन। तर पछिल्लो १२/१५ वर्ष अवधिमा अतिक्रमण बढ्दै गएर पानीको वहावसम्मै पुगिसक्यो। पाँचवटा पिलरमाथि बनेको पुलको तीनवटासम्म बस्ती बसिसकेको छ।
स्थानीय सरकारले यसरी बस्ती बस्न नरोक्ने हो भने गेग्रान थुप्रिएर रूख उम्रिएको अर्को स्पानसम्म पनि बस्ती बस्ने जोखिम बढेको छ। पुलमुनिको आधाभन्दा बढी भागमा बस्ती बसेपछि तिनाउमा आउने बाढीको भार दुइटा स्पानले मात्रै थेग्ने गरेका छन्। पुलको पूर्वतर्फको बगरमा बस्ती थपिँदै जाँदा नदी पश्चिमतर्फ धकेलिँदै गएको छ। यसले गर्दा नदी बग्दै गएको भागको पिलरको आधार कमजोर बन्ने जोखिम बढेको छ।
पुल विभागका सिनियर डिभिजन इञ्जिनियर ईश्वर रिजालका अनुसार कुनै पनि पुल बनाउँदा बीच भागबाट नदी बग्छ भन्ने आधारमा डिजाइन गरिएको हुन्छ। यस्तोमा एकतर्फबाट मात्र बग्यो भने बगेको भागको आधारमा स्वतः भार थपिन्छ।
'पुल डिजाइन गर्दै बीचको स्पानबाट पानी बग्छ, बीचबाट मात्र बग्न सकेन भने छेउछाउबाट बग्छ भन्ने प्राविधिक आकलन हुन्छ,' रिजालले भने, 'बीचबाट नबगी अर्कोतर्फबाट मात्रै बग्न थाल्यो त्यो भागको स्पानमा भार परिहाल्छ।'
तिनाउ पुल जोखिममा छ भने अतिक्रमण हटाएर नदीलाई आफ्नो क्षेत्राधिकारबाट बग्न दिनुपर्ने उनको सुझाव छ।
'नदीले आफूले चाहेका बेला आफ्नो क्षेत्राधिकारभित्र बग्न पाउनुपर्छ। त्यो क्षेत्राधिकार अतिक्रमण हुनुभएन। तिनाउ मात्र होइन, अन्य पुलको अवस्था पनि यही नै हो,' उनले भने।
डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख इञ्जिनियर जयलाल मरासिनी भने अतिक्रमण हुनु गलत भए पनि पुल जोखिममा नरहेको दावी गर्छन्।
'नदीलाई सबै स्पानबाट बग्न दिनु सबभन्दा राम्रो हो। तर वेल फाउन्डेसनमाथि स्पान बनाइएकाले पुल भासिएको, पिलर कमजोर बनिहालेको भने छैन,' मरासिनीले भने, 'पुलको अवस्थाबारे मैले विभागमा जानकारी गराएको छु। १५/१६ मिटर गहिरो वेल फाउन्डेसनमा बनाइएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको विभागको भनाइ छ। हामी सतर्क छौं।'
अतिक्रमण बढ्दै जाँदा तिनाउले दुर्घटना ल्याउने सम्भावना भने उनी नकार्दैनन्। नदी बग्ने भागमा बस्ती बस्न दिनु सरकारको गल्ती भएको बताउँदै उनले थपे, 'कुनै पनि बेला तिनाउले आफ्नो बाटो खोज्छ, त्यो बेला ठूलो दुर्घटना निम्तिन सक्छ।'
पुल विभागका रिजाल पनि दुर्घटनाबाट जोगिन तिनाउले आफ्नो बाटो खोज्नुअगाडि नै समाधान पहिल्याउनुपर्ने बताउँछन्। तिनाउले कहाँबाट बाटो बदलिएको छ, त्यहीँबाट सोझ्याउनुपर्ने सुझाव उनको छ।
३६ मौजा सिँचाइ प्रणालीको बाँधसम्म आफ्नै क्षेत्रमा बगेको तिनाउ बाँधको सय मिटर तल आइनपुग्दै अतिक्रमणमा परेको छ। पुलको भागसम्म आइपुग्दा बगरमा दुई सय बढी घर बनिसकेका छन्।
बुटवलका पुराना बासिन्दा लाकौल तिनाउमा प्रकोपको जोखिम देख्छन्।
'तिनाउले ३०/४० वर्ष पहिलेजस्तो स्वरूप देखायो भने यो बस्तीको अवस्था के होला,' उनले भने।
बुटवल उपमहानगरपालिका र राजनीति दलका नेताहरू भने तिनाउका सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गर्दै बस्तीलाई वैधानिकता दिन तल्लीन छन्। उपमहानगरले पुलमुनिको बस्ती हटाउनुको साटो त्यहाँ पक्की बाटो बनाइदिएको छ। बगरमाथि धारा र विद्युतका पोल गाडिदिएर बगरमै सुविधा दिएको छ।
तर वगरबासी बाढीको त्रास बीच गुजारा गरिरहेका छन्।
वडा नं. ५ शान्तिटोलकी जुना विश्वकर्मालाई साँझ परेपछि घर पस्न मन लाग्दैन। दिनभरी ज्याला-मजदुरी गरी साँझपख घर फर्के पनि सिद्धबाबामाथिको डाँडा बादलले ढाकिएको देख्यो कि उनी घरबाहिर बस्छिन्। बुटवलमा घाम लागे पनि सिद्धबाबा र नुवाकोटतर्फको डाँडामा पानी पर्यो भने तिनाउमा बाढी आइहाल्छ।
बुटवल बजारलाई दुई भागमा बाँडेर बगेको तिनाउको मुहान पाल्पा हो। यहाँ बाढी आउन पाल्पाको दोभान, झुम्सा लगायत क्षेत्रमा पानी आए पुग्छ। यस वर्ष असारदेखि नै दैनिक पानी पर्न थालेपछि बाढी पनि दैनिकजसो आइरहन्छ।
'अस्ति पनि बाढी आयो। दिउँसो भएकाले भागेर मन्दिरमा गएर बस्यौं। राति भएको भए जे पनि हुनसक्थ्यो,' जुनाले भनिन्। बाढी आउँदा नजिकैको राधाकृष्ण मन्दिर उनीहरूको आश्रयस्थल बनेको छ।
दिलबहादुर नेपाली तिनाउ पुलमुनि बस्दै आएको १२ वर्ष भयो। बगरमा छाप्रो हालेर बस्दा बाढीको जोखिम हुन्छ भन्ने उनलाई थाहा छ। तर अरूको सिको गर्दै उनी त्यहीँ बसे।
नेपाली भन्छन्, 'बाढी आउँछ भन्ने सबैलाई थाहा छ नि। तर बसिसकेपछि कहाँ जाने? पहिल्यै बस्न दिन नहुने थियो। अब बसिसकेपछि हाम्रो सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी सरकारको हो।'
भोटको लोभमा यहाँ बस्ती बस्दा पनि नेताहरू चुपचाप बस्ने उनी बताउँछन्। उनले थपे, 'भोट पाइन्छ भनेर पहिले चुपचाप लागे। अहिले अतिक्रमण गरे भनेर हुन्छ। त्योबेला किन नरोकेको?'
बुटवल वडा नं. ५ का अध्यक्ष तेजप्रसाद सुनार भने आफूहरू जनप्रतिनिधि नहुँदै बसेको बस्ती हटाउन नसक्ने बताउँछन्।
'हामी आउनुभन्दा दस वर्ष पहिलेदेखि बसेकालाई अन्त व्यवस्थापन नगरी हटाउन सकिने अवस्था छैन,' उनले भने, 'व्यवस्थापनका लागि तीनै तहका सरकारको सहयोग आवश्यक छ।'
तिनाउ पानीको बहावसँगै बस्ती बसिरहेको भने यहाँ मात्र होइन। चिडियाखोलादेखि सुरू भएको अतिक्रमण तिलोत्तमाको सिमानगरसम्मै छ। तिनाउ अतिक्रमण गरी सबभन्दा धेरै बस्ती भने बुटवल वडा नं. ११ मा बसेको छ।
किनारका बिनापाते, हात्तीसुँड, तिनाउनगर, मजुवा, बुद्धनगर, प्रगतिनगर, सालघारीसँगै तिलोत्तमाको सिमानगर नदी उकास क्षेत्र हुन्। झन्डै तीस हजार जनसंख्याका यी बस्ती बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन्।
वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार बहाव क्षेत्रमा कति घर-टहरा छन् भन्ने यकिन तथ्यांक छैन। तर उकास क्षेत्रमा छ हजार घर-टहरा छन्। यहाँ रातारात टहरा निर्माण बन्ने भएकाले कति थपिए भन्ने तथ्यांक वडा कार्यालयमा पनि छैन।
घरको जगसँगै बाढी बग्दा पनि बस्ती बस्न रोक्नेतर्फ सम्बन्धित वडा कार्यालय र नगरपालिकाले पहल गर्न सकेको छैन। नदीको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बुटवलका वडा नं. १, २, ३, ५, ६, ९, ११, १८ र तिलोत्तमाको वडा नं. ३ सम्म पानी बग्ने स्थानसम्मै पुगेर घर-टहरा बनेका छन्।