गाउँपालिकाका कार्यालय कहाँ हुन्छन्?
यो प्रश्नको जवाफ सबैले सजिलैसँग दिन सक्छन्- उक्त गाउँपालिकाको सिमानाभित्र। तर रूपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा कार्यालय भने १५ किलोमिटर टाढा मासिक १६ हजार भाडा तिर्ने गरी फ्ल्याट लिएर सञ्चालन हुँदै आएको छ।
मायादेवी गाउँपालिका-८ (भैरहवा) स्थित एउटा भवनको तल्लो तला भाडामा लिएर तीन महिना यता कर्मचारीले छुट्टै कार्यालय चलाउँदै आएका छन्।
जबकी कोटहीमाई गाउँपालिकाले वडा- ५ मझगावाँमा झन्डै चार करोड रुपैयाँ खर्चिएर गत वर्ष नै सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिसकेको छ।
पालिकाका सम्पूर्ण सेवा तथा गतिविधि यही भवनबाटै सञ्चालन हुनुपर्ने हो। तर यो 'गोप्य' कार्यालयबाट तीन महिनायता गाउँपालिकाका गतिविधि र ठेक्कापट्टाको भुक्तानी हुँदै आएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौड, लेखा अधिकृत निरन्जन ज्ञवाली र इन्जिनियर नवराज भण्डारीलगायत प्राविधिक सिमानाबाहिर खोलेको त्यही 'गोप्य' कार्यालयमा बसेर काम गर्ने गर्छन्।
यो कार्यालयबाट भैपरी खर्चमात्रै होइन टेन्डरको योजना बनाउने, ठेक्कापट्टाको भुक्तानी दिने र बिलभौचर मिलाउनेसम्मका काम गर्दै आएका छन्। गाउँपालिकाले सञ्चालन गरेका निर्माणका कामहरूको फाइल गोप्य कार्यालयमै राखिएको एक कर्मचारीले बताए।
करोडौं रकम खर्चिएर गाउँपालिकाले सुविधासम्पन्न कार्यालय भवन निर्माण गरे पनि आफ्नो क्षेत्रभन्दा बाहिर घर भाडामा घर लिएर गोप्य कार्यालय सञ्चालन गर्नु कानुनविपरीत रहेको स्थानीय बताउँछन्।
स्थानीय गुरूवचन यादवले गाउँपालिकाले सेवाग्राहीलाई सहज सेवा दिने भन्दा पनि कमिसनको काम सजिलो पार्न कर्मचारीले यस्तो काम गरेको आरोप लगाए।
'करोडौं खर्चिएर बनाएको गाउँपालिकाको आफ्नै भवन हुँदाहुँदै आफ्नो क्षेत्रभन्दा बाहिर गएर गोप्य कार्यालय सञ्चालन गर्नु सरासर भ्रष्टाचार हो,' उनले भने, 'कर्मचारीकै कारण गाउँपालिकामा बेलाबेला तालाबन्दी गर्न सेवाग्राही बाध्य हुने गरेका छन्।'
गाउँपालिकाका उपाध्यक्ष भानमती बानियाँले गाउँपालिका भवन हुँदाहुँदै अन्यत्र कार्यालय सञ्चालन भएको भन्ने थाहा पाए पनि किन सञ्चालन गरिएको हो भन्ने आफूलाई जानकारी नगराइएको बताइन्।
'कर्मचारीहरूले ठेक्कापट्टाको काम यहाँबाट गर्न अप्ठेरो भयो भनेर बाहिरै बसेको भन्ने सुनेको छु,' उनले भनिन्, 'यति ठूलो भवन आफ्नै हुँदाहुँदै बाहिर गएर किन भाडामा लिनु परेको हो मलाई थाहा छैन।'
गाउँपालिका प्रमुख चन्द्रभुषण यादव भने यसमा प्रमुख प्रशासकीय अधिकृत गौडलाई दोष दिन्छन्।
उनको जबरजस्तीले एक-दुई महिनाको लागि मायादेवीमा कार्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख यादवले स्वीकार गरे। अहिले भने उक्त कार्यालय बन्द गर्न गौडले आलटाल गरेको उनको आरोप छ।
'कोरोना महामारीका कारण कर्मचारीहरू गाउँपालिकामा जान नमानेपछि एक-दुई महिनाको लागि मायादेवीमा कार्यालय सञ्चालन गरिएको हो,' उनले भने,'अहिले बन्द गरौं भन्दा प्रमुख प्रशासकिय अधिकृत गौडले आलटाल गर्दै आएका छन्।'
अध्यक्ष यादवले प्रमुख प्रशासकिय अधिकृत गौडसँग गाउँपालिकाको सेवाको विषयमा पटक-पटक विवाद हुँदै आएको गुनासो गरे।
'मैले कार्यालय बन्द गरौं भन्दै आएको छु, प्रमख प्रशासकीय अधिकृतले विवाद गर्दै आउनुभएको छ। चर्काचर्की भइरहन्छ, हातपात हुनमात्र बाँकी हो' यादवले भने।
प्रमुख प्रशासकिय अधिकृत गौड पछिल्लो तीन-चार दिन यता विदामा बसेको भन्दै कार्यालयमा उपस्थित भएका छैनन्। यही विषयमा जानकारी लिन खोज्दा गौडले फोन नउठाएपछि सम्पर्क हुन सकेन।
इन्जिनियर नवराज भण्डारीले भने गोप्य कार्यालय नभई आफूले निवासको रूपमा प्रयोग गरेको बताए।
'गोप्य कार्यालय सञ्चालन गरेको भन्दा पनि निवासको रूपमा भाडामा लिइएको हो, कोरोना संक्रमणको जोखिमको बेला केही दिन यहीँबाट काम गरे पनि अहिले म गाउँपालिका कार्यालयमै जाने गरेको छु,' उनले भने।
भण्डारीले निवासको लागि भाडामा फ्लाट लिइएको बताए पनि गाउँपालिकाका सम्पन्न विभिन्न योजनाको भुक्तानी, फाइल सदर, सिफारिस, तोकआदेश लगायतको कामको लागि यही 'गोप्य' कार्यालयमा आउनु परेको सेवाग्राही बताउँछन्।
कोटहीमाई ५ मझगावांका अर्जुन बनियाले नयाँ कामको सिफारिस लिन वा कुनै कामको भुक्तानी लिन पर्यो भने मायादेवी नै पुग्न परेको बताए।
'यस्ता काम प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले मात्र गर्न मिल्छ। विकास निर्माणका योजनादेखि उपभोक्ता समितिमार्फत् गरेका कामको भुक्तानी लिन पनि भैरहवा पुग्नुपरेको छ,' उनले गुनासो गरे।
उनले आफ्नै भवन हुँदाहुँदै भाडामा लिएर अन्यत्र कार्यालय राखिनु जनप्रतिनिधिको लाचारी भएको बताए।
गाउँपालिकाका कार्यालय सहयोगीसहित प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, इन्जिनियरलगायत ६/७ जना कर्मचारी तीन महिनादेखि यही गोप्य कार्यालयमै आउने गरेको गाउँपालिकाका एक कर्मचारीले जानकारी दिए।
'वैशाखदेखि नै गाउँपालिकामा हाजिर गरेर उहाँहरू भैरहवामै जाने गर्नुहुन्छ, लकडाउनको कारण गाउँपालिकामा आउन नसकेको हो भने हाजिर गर्नको लागि त आउन सक्नुभएको छ त,' उनले भने।
गाउँपालिकाबाट दिइने सिफारिस, तोक आदेश, फाइल सदर, भुक्तानीलगायतको काम यही भाडाको कार्यालयबाट गरिँदा गाउँपालिकाको कार्यालयका अधिकांश शाखा भने बन्द छन्।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामनेवास यादवले भने भैरहवामा अर्को कार्यालय छ भन्ने जानकारी नभएको बताए।
कार्यालयको आफ्नै भवन हुँदाहुँदै भाडामा लिएर छुट्टै कार्यालय राख्न नपाइने उनको भनाइ छ।