दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै बुटवलमा दुई वर्ष पहिले सिसिटिभी क्यामरा जडान गरिएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले निगरानी गर्ने गरी बुटवलका विभिन्न १२ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको थियो।
२०७६ भदौ २ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कन्ट्रोल रूम उद्घाटन गर्दै जोडिएका सिसिटिभी क्यामरा दुई वर्ष नपुग्दै बिग्रिएका छन्।
सवारी चाप बढ्दै गए पनि जनशक्ति वृद्धि हुन नसक्दा दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीमा कठिनाइ भएको भन्दै ट्राफिक प्रहरीको आग्रहमा प्रदेश सरकारले सिसिटीभी क्यामरा जडान गरेको थियो।
बुटवलको गोलपार्क, विद्युतचोक, अस्पताल लाइन, भुड्कीचोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड, तिनाउ पुल पारिसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कैद हुने गरी सिसिटिभी क्यामरा जडान गरिएको थियो। तर जडान गरिएका अधिकांश सिसिटिभी बिग्रिएर बन्द भएको महिनौं बितिसक्दा पनि मर्मत हुन सकेका छैनन्।
सिसिटिभी जडानपछि ट्राफिक प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटनापछिको उद्धार, भिआइपीको आवतजावत तथा अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो।
तर जडान गरिएको छोटो समयमै सिसिटिभी क्यामरा बिग्रिएपछि ट्राफिक प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिम समेत बढेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।
‘ट्राफिक व्यवस्थापन, दुर्घटनाको जानकारी, हिट एण्ड रनको निगरानी र अपराधी पत्ता लगाउन सिसिटिभी सहयोगी बनेका थिए, तर सडक निर्माणको क्रममा बुटवलमा जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिएको छ,’ थापाले भने।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मै रोल्पाबाहेक प्रदेशका ११ वटा जिल्लामा सिसिटिभी जडानका लागि ३ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।
सोही बजेटमध्ये दुई करोड ६० लाख रूपैयाँको लागतमा सुरक्षाको हिसाबले संवेदनशील मानिएका प्रदेशका विभिन्न स्थानमा १ सय ४० वटा सिसिटिभी जडान गरिएको थियो।
विनियोजन गरिएको ४० लाख रूपैयाँ भने खर्च नभएको भन्दै मन्त्रालयमै फिर्ता पठाइएको थियो।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बुटवलमा बिग्रिएका सिसिटिभी मर्मत गरी पुनः सञ्चालन गर्न ५ लाख रूपैयाँ आवश्यक पर्छ। तर प्रदेश सरकारको मुकाम रहेको बुटवलमै जडान गरिएका सिसिटिभी मर्मत गरी सञ्चालनमा ल्याउने तर्फ भने प्रदेश सरकारले चासो दिएको छैन।
जथाभावी सवारी पार्किङले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त
सवारी साधनसँगै व्यापार व्यवसाय थपिँदै जाँदा बुटवलमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ।
बुटवलको सबभन्दा व्यस्त बजार क्षेत्र ट्राफिक चोक, बिपी चोक, अमरपथ, जेसिज चोक, राम मन्दिर लाइन, हाटबजार, अस्पताल लाइन लगायतको क्षेत्र अति व्यस्त हुने बजार क्षेत्र हुन्।
बजार बन्द हुने सोमबारबाहेक अन्य दिन यी क्षेत्रमा चारपांग्रे सवारी साधन लिएर पुग्न मुस्किल पर्छ।
सडकको दायाँ र बायाँ दुवैतर्फ अस्तव्यस्त रूपमा पार्किङ गरेर राखिएका गाडी र मोटरसाइकलले अत्यावश्यक कामको लागि हिँड्ने व्यक्तिहरूलाई पनि सास्ती हुने गरेको छ।
बुटवल उपमहानगरपालिकाले हालसम्म पार्किङको लागि कुनै पनि स्थान छुट्याउन नसक्दा पसल व्यवसाय सञ्चालन गर्ने व्यवसायीसँगै किनमेलको लागि जाने उपभोक्ताहरूले समेत सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ। जसले गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने मात्र होइन पार्किङकै झमेलाको कारण उपभोक्ताहरू अन्यत्र जान बाध्य भएको व्यवसायी बताउँछन्।
वर्षौंदेखि बिपी चोकमा प्लाष्टिकका सामग्री विक्री गर्दै आएका रुपन्देही व्यापार संघका कोषाध्यक्ष एवं अमरबुद्ध टोल विकास संस्थाका अध्यक्ष दीपक अधिकारी पार्किङ अभावकै कारण उपभोक्ताले बुटवलको विकल्प खोज्न थालेको बताउँछन्।
मुख्य बजार क्षेत्रमा सडकको बीच भाग र पैदलयात्री हिँड्ने पेटी समेत गाडी र मोटरसाइकल पार्किङ गरेर ढाकिएको हुन्छ। त्यसैमाथि सडकमै कोचाकोच हुने गरी सञ्चालन हुँदै आएका अटोरिक्सा र ठेलाहरूले बजार क्षेत्र झनै अस्तव्यस्त हुने गरेको छ।
पसलको मुखै ढाकिने गरी अव्यवस्थित राखिने सवारी साधन पन्छाउँदै किनमेलको लागि जाने उपभोक्ताले आफ्नो सवारी साधन पार्किङ गर्न नपाएपछि फर्किने गरेको अधिकारीले बताए।
पार्किङ व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकाले चासो नदिएपछि अमरपथ, दुर्गामन्दिर, राममन्दिर लाइनलगायत क्षेत्रका व्यवसायी आफैंले आलोपालो गरी एकातर्फमात्र पार्किङ गर्न थाले पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन।
यातायातको केन्द्र बन्दै गएको बुटवलमा लुम्बिनी प्रदेश सरकारको अस्थायी मुकाम भएसँगै सवारी साधनको चाप अत्यधिक बढेको छ।
फुटपाथमा राखिने ठेला तथा नाङ्ले पसलहरूले साँघुरिँदै गएका सडकको दायाँबायाँ नै सवारी साधन पार्किङ गर्दा घण्टौंसम्म ट्राफिक जाम सुरू भइसकेको छ।
ट्राफिक व्यवस्थापनको लागि बुटवल उपमहानगरपालिकालाई पार्किङ क्षेत्र तोक्न पटक-पटक आग्रह गर्दै आए पनि खाली स्थान नहुँदा उपमहानगरले अहिलेसम्म पार्किङस्थल छुट्याउन सकेको छैन।
मुख्य सडकको अस्पताल लाइनको पुष्पलालपार्कदेखि भुड्की चोकसम्म नै सवारी साधनले खचाखच भरिँदा कतिपय समयमा उपचारको लागि अस्पतालमा आउने बिरामी तथा एम्बुलेन्स र आपतकालीन सवारी साधनको आउजाउ समेत रोकिने गरेको छ।
व्यवसायीसँग चन्दा उठाएर ट्राफिक संकेत बोर्ड राखियो
प्रदेशको मुकाममै रहेको ट्राफिक प्रहरी नै स्रोत साधनको अभावमा चन्दा उठाउँदै ट्राफिक संकेत बोर्ड राख्न बाध्य छ।
बुटवलको मुख्य बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनको लागि ट्राफिक प्रहरीले व्यवसायिक संघसंस्था र स्थानीय टोल विकास संस्थाहरूको सहयोगमा ट्राफिक संकेत बोर्डको जोहो गरेको हो।
बुटवलका विभिन्न संघसंस्थाहरूले ट्राफिक संकेत लेखिएका १०३ वटा बोर्ड आइतबार ट्राफिक प्रहरीलाई प्रदान गरेका हुन्। सवारी साधन र किनमेलको लागि आउने ग्राहकको बढी भीडभाड हुने क्षेत्रमा ती बोर्ड राख्न थालिएको छ।
बुटवलका अमरबुद्ध टोल विकास संस्था, बिपी चोक टोल विकास संस्था, अमर तिनाउ टोल विकास संस्था, राम मन्दिर टोल विकास संस्था तथा विभिन्न व्यवसायीहरूले समेत व्यक्तिगत रूपमै ट्राफिक संकेत बोर्ड उपलब्ध गराएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
ट्राफिक व्यवस्थापनको लागि स्थानीय तहले चासो नदिँदा सानो सहयोगको लागि समेत व्यवसायीहरूको सहयोग लिन बाध्य भएको पाण्डेको भनाइ छ।