फागुनको २३ गते बुद्धनगर हेल्थपोष्टमा कोरोनाविरूद्धको पहिलो डोजको खोप लगाउन जाँदा बुटवल ११ का ७६ वर्षीय खगप्रसाद पुन उत्साहित थिए।
कोरोनाको पहिलो लहरको संक्रमण केही सुस्त बने पनि छिमेकी मुलुक भारतमा फैलिँदै गरेको दोस्रो लहरको संक्रमण भारतसँग सीमा जोडिएको रूपन्देहीमा पनि फैलिन थालेको थियो।
यस्तो बेला सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई प्राथमिकता दिँदै खोप अभियान सुरू गरेपछि उनी पनि ७५ वर्षीया श्रीमती भुमादेवी पुनसँगै खोप केन्द्रमा पुगेर खोप लगाएका थिए।
खोप लगाउँदा नै स्वास्थ्यकर्मीले पहिलो डोज लगाएको चार हप्तापछि दोस्रो डोज लगाउनुपर्छ भनेको पनि चार महिना पुग्यो। तर पुन दम्पतीले अझै दोस्रो डोज कोभिसिल्डको खोप लगाउन पाएका छैनन्।
बुटवल-११ कै जेष्ठ नागरिक मेघराज न्यौपानेले पनि पत्नी सविता न्यौपानेसहित फागुन २३ गते नै पहिलो डोज खोप लगाएका थिए।
महामारीबीचमा पनि जेष्ठताको आधारमा सरकारले खोप उपलब्ध गराउँदा उनलाई सरकार नागरिकहरूप्रति संवेदनशिल रहेछ भन्ने लागेको थियो। तर पहिलो डोज लगाएको महिनौं बितिसक्दा पनि दोस्रो डोज लगाउन नपाउँदा भने सरकारप्रति मन खिन्न भएको बताउँछन्।
आफूसँगै खोप लगाएका कतिपयले पहुँचको आधारमा अरू जिल्ला र पालिकामा गएर भए पनि खोप लगाए पनि आफूहरू भने सरकारकै भरोसामा बसेको न्यौपाने बताउँछन्।
‘हाम्रै साथी कतिपयले त अरू जिल्लामा गएर भए पनि दोस्रो डोज लगाएको देखियो, हामी त सोर्सफोर्स लगाउन पनि जानिएन पहुँच पनि भएन, वडा कार्यालय र नगरपालिकाकै भरमा बस्दा चार महिना बितिसक्यो,’ न्यौपानेले भने।
उमेरले ७० नाघेका न्यौपाने दम्पतीले एकमात्र डोज खोप लगाए पनि परिवारका सबैजसो सदस्यलाई कोरोना संक्रमण हुँदा आफूहरूलाई भने संक्रमण हुन नपाएको बताउँछन्।
पहिलो लहरको कोरोना संक्रमणबाट जोगिएको न्यौपाने परिवार दोस्रो लहरको संक्रमणबाट भने जोगिन सकेन।
गत जेठ महिनामा छोराबुहारी र नातिनातिनी गरी ६ जनालाई संक्रमण हुँदा आफूहरू संक्रमणबाट जोगिनुमा एकमात्र डोज भए पनि खोप लगाएकै कारण भएको उनी बताउँछन्।
‘एउटै भए पनि खोप लगाएर हो कि, सँगै घरमा बसेर पनि घरका अरू सदस्यलाई कोरोना हुँदा हामी बुढाबुढी जोगियौं, अझै दोस्रो डोज पनि लगाउन पाएको भए ढुक्क हुने थियौं,’ न्यौपाने भन्छन्।
पहिलो डोज लगाएका पुन दम्पतीलाई भने कतै दोस्रो डोज लगाउन नपाएर कोरोना संक्रमण हुन्छ कि भन्ने त्रास भइरहन्छ।
‘हामी बुढाबुढी मान्छे, यसै पनि छरछिमेकमा जमघटमा जान मन लागिहाल्छ, दोस्रो डोज पनि खोप लगाउन पाए दु:ख विमार भएर अस्पताल जाँदा र हिँड्डुल गर्दा पनि कोरोना सर्ने थिएन कि भन्ने लाग्छ,’ पुन भन्छन्।
बुटवल ११ कै टिका खत्री पनि पहिलो डोज खोप लगाएर दोस्रो लगाउन नपाएका जेष्ठ नागरिक हुन्।
उनलाई पनि दोस्रो डोज खोप लगाउन नपाउँदै पहिलोको प्रभाव सकिने हो कि भन्ने चिन्ता लागिरहन्छ।
पुन, न्यौपाने र खत्री त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै कोभिसिल्डको पहिलो डोजको खोप लगाएर दोस्रोको लागि चार महिनासम्म पर्खिनेहरूमा जसुदा देवी भुसाल, बोमलाल भुसाल र पदमबहादुर खाम्चालगायत बुटवल ११ का मात्रै ८ सय बढी जेष्ठ नागरिक छन्।
जेष्ठ नागरिक मञ्च बुटवलका अध्यक्ष ज्योति अर्यालका अनुसार बुटवल ११ मा १६ सय जेष्ठ नागरिक छन्। तीमध्ये ६५ वर्षभन्दा माथिका ८ सय बढीलाई पहिलो डोजको कोभिसिल्ड खोप लगाइएको थियो। तर उनीहरू सबैले दोस्रो डोजको खोप लगाउन पाएका छैनन्।
वडा अध्यक्ष रामचन्द्र क्षेत्रीलाई खोप कहिले आउला भनेर सोध्ने जेष्ठ नागरिकको फोनले दैनिक सताउने गर्छ।
आ-आफ्नो हातमा नभएको कुरा कहिले आउँछ भनेर जवाफ दिनु रुञ क्षेत्री भन्छन्।
बुटवलका अरू वडाभन्दा वडा नं. ११ को जनसंख्या धेरै भएकाले जेष्ठ नागरिकहरूको संख्या पनि स्वभाविक रूपमै धेरै छ।
पहुँच भएका र जनप्रतिनिधिका आफन्तलाई भने दोस्रो डोज पनि दिएको एक जना जेष्ठ नागरिकले गुनासो गरे।
‘हामीसँगै पहिलो डोज खोप लगाएका जनप्रतिनिधिका आफन्त केहीले भने खोप लगाइसके, हामी भने कहिले पाइएला भनेर पर्खिरहेका छौं’, उनको गुनासो छ।
पहिलो डोज लगाएर दोस्रो डोज कोभिसिल्ड लगाउन नपाउनेको संख्या रूपन्देहीमा मात्र ३३ हजारभन्दा बढी छ।
खोप लगाउन नपाउनेमा अधिकांश जेष्ठ नागरिक छन्।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी कोभिसिल्डको पहिलो डोज लगाएका ३७ हजारमध्ये मुस्किलले ३ देखि ४ हजारको संख्याले मात्रै दुइटै डोज खोप लगाएको बताउँछन्।
बाँकी ३३ देखि ३४ हजार नागरिक चार महिनादेखि दोस्रो डोजको खोपको पर्खाइमा रहेको गिरीले बताए।
रूपन्देहीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पत्रकार र जेष्ठ नागरिक गरी १७ क्याटेगोरीका ३७ हजार बढीले गत फागुन २३ र २५ गते कोभिसिल्डको पहिलो डोज खोप लगाएका थिए।
तर अहिलेसम्म दोस्रो डोज कोभिसिल्ड नआउँदा भने जेष्ठ नागरिकमात्र होइन स्वास्थ्यकर्मी नै अन्योलमा छन्।
‘वैशाख दोस्रो साता जिल्लाका १६ वटै पालिकाको लागि भन्दै दोस्रो डोजको १४ सय खोप आएको थियो, त्यसपछि पनि जेठ महिनामा १८ सय डोज आएको थियो, अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई दिँदैमा जेष्ठ नागरिकलाई दिन सकिएन’,गिरि भन्छन्।
बुटवलमा पनि १५० जना जेष्ठ नागरिकलाई मात्र दोस्रो डोजको खोप दिन सकिएको स्वास्थ्य शाखाले जनाएको छ।
कोरोनाको दोस्रो लहरको संक्रमण केही मथ्थर भए पनि नयाँ भेरियन्टको जोखिम उच्च छ।
जिल्ला स्वास्थ्य प्रमुख गिरि पहिलो डोजले शरीरमा एन्टिबडी उत्पादन गर्ने र त्यसको प्रभाव १६ हप्तासम्म कायम रहने भन्ने डब्लु एचओको अनुसन्धानले देखाएको बताउँछन्। गिरिले सरकारले दोस्रो डोजको कोभिसिल्डको लागि पहल गरिरहेकोले छिट्टै आउला भन्ने विश्वास रहेको बताए।
रुपन्देहीमा मात्र होइन कोभिसिल्डको दोस्रो डोज लगाउन नपाउनेहरू देशभर १४ लाख बढी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका सातै प्रदेशमा गरी १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लगाएका थिए। तीमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन्। बाँकी १४ लाख २२ हजार ४४८ जनाले खोप लगाउन पाएका छैनन्।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा मात्र एक लाख ९४ हजार ३१३ जनाले दोस्रो डोजको कोभिशिल्ड खोप लगाउन पाएका छैनन्।
प्रदेशका दुई लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो डोज लगाएकोमा ८४ हजार १६३ जनाले मात्र दोस्रो डोज लगाएका छन्।