गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन नगर कपिलवस्तुमा क्रकुछन्द र कनकमुनि बुद्धको प्रतिमा अनावरण गरिएको छ।
कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा क्रकुछन्द बुद्ध र वडा नम्बर ११ आरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण गरिएको हो।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दुबै स्थानमा निर्माण गरिएका बुद्ध प्रतिमाको अनावरण गरेका हुन्।
कपिलवस्तु नगरपालिका वडा नं ६ मा पर्ने निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थल हो भने वडा नंं ५ गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल मानिन्छ।
यी दुवै ऐतिहासिक एवं प्राचिन स्थलहरूलाई लुम्बिनीसँगै जोडेर विकास गर्ने विभिन्न प्रयास सुरू गरिएका छन्।
बुद्धस्थल तीर्थाटनको लागि नेपाल आएका भारतीय सम्राट अशोकले लुम्बिनीपछि निग्लिहवा र गोटिहवाको पनि तीर्थाटन गरेका थिए।
गोटिहवा भगवान गौतम बुद्धभन्दा पहिलेका क्रकुछन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो।
तीर्थाटनमा आएका सम्राट अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याएका थिए। जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीहरूले चिन्ने गर्छन्।
तर गौतमबुद्ध भन्दा पनि पहिलेका बुद्धहरूले राज गरेका प्राचिन नगरहरूको प्रचारप्रसार र संरक्षण हुन नसक्दा यी स्थलको महत्व ओझेलमा परेको भन्दै बुद्धप्रतिमा निर्माण गरिएको हो।
बुद्ध प्रतिमाको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध प्रतिमाले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुग्ने बताए।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोषसँगको समन्वयमा विभिन्न बुद्धहरूको आकृति पहिचान गरिएको बताए।
मुख्यमन्त्री पोखरेलले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी लुम्बिनीसँगै कपिलवस्तुमा रहेका शाक्यमुनि बुद्धभन्दा अघिका बुद्धको प्राचीन बासस्थानको खोजी गरी ती स्थानहरूको विकासमा प्रदेश सरकार लागेको बताए।
उनले कपिलवस्तुको तिलौराकोटसँगै निग्लिहवा र गोटिहवाको पनि थप उत्खनन् गर्न सके यी क्षेत्रहरूको महत्व र गरिमा बढ्न सक्ने बताए । सनिवार अनावरण गरिएको क्रकुछन्द बुद्धको प्रतिमा विश्वमै पहिलो र कनकमणीको भने दोश्रो भएको दावी गरिएको छ । कनकमणी बुद्धको प्रतिमा भने यसअघि बर्मामा स्थापना गरिएको बताइन्छ।
गोटिहवामा निर्मित क्रकुछन्द बुद्धको प्रतिमासहितका बगैंचा ६० लाख १७ हजार ८ सय ५६ रूपैयाँको लागतमा निर्माण गरिएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ।
त्यस्तै, आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रूपैयाँको लगतमा कनकमुनि बुद्धको प्रतिमा सहितको बगैंचा निर्माण गरिएको हो।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालयले दुवै बुद्धप्रतिमा र बगैंचा निर्माण गरेको हो।
प्राचिन कपिलवस्तु नगरी शाक्यमुनी बुद्धले २९ वर्ष जीवन बिताएको स्थल हो। यहाँ बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको क्षेत्र रहेकोले कपिलवस्तुलाई पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्रको रूपमा लिइन्छ।