बुटवलदेखि पूर्व-उत्तरतर्फ रहेको हिलपार्कमा 'बिग बुद्ध' पार्क निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ।
बुटवल उपमहानगरपालिकाले यसअघि नै हिल स्टेसनका रूपमा विभिन्न संरचना निर्माण गरिरहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम सुरू गरिएको हो।
बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिने बुटवलमा बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरूप हिलपार्कमा बिग बुद्धपार्क बनाउन लागिएको हो। उचो स्थानमा रहेको हिलपार्कलाई लुम्बिनी परिपथसँग जोड्ने गरी ३५ मिटरको अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गर्ने योजना अगाडि सारिएको थियो।
सवा अर्ब बढी लागतमा निर्माण गरिने बुद्धपार्कको डिपिआर लगायतका आवश्यक काम पूरा भइसके पनि कोभिड महामारीका कारण थप काम अगाडि बढाउन रोकिएको थियो।
अहिले आएर आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम अगाडि बढाएको र बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माण कार्यले गति लिएको उपमहानगरपालिकाले जनाएको छ।
सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उपमहानगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ।
बुटवलले बनाएको पाँच वर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा र ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई समावेश गरिएको थियो।
सोही योजनाअनुरूप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारेको थियो। सो डिपिआर स्वीकृत समेत भइसकेको छ।
अहिले आयोजनास्थलमा माटो परीक्षण, सर्भे र डिपिआरका काम पूरा भइसकेका छन् भने ईआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफूखुसी जहाँ कहीँ बुद्धका प्रतिमा निर्माण गर्न र राख्न नपाइने भए पनि उपमहानगरले भने बौद्ध मान्यता अनुसारका सबै प्रक्रिया पूरा गरेर आयोजना अगाडि बढाएको दाबी गरे।
‘हामीले बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरूका समेत मूर्ति बनाएर ख्याति कमाएका मूर्तिकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्न डिपिआर बनाएका हौं,’ सुवेदीले भने।
यो आयोजनामा संघीय सरकार र प्रदेश सरकारले समेत लगानी गर्न चासो देखाएको र आफूहरूको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले दाबी गरे।
सुवेदीका अनुसार परामर्शदाताले दिएको दुई विकल्पमध्ये पहिलोमा बुद्धप्रतिमाको अनुहारमा मात्रै सुनको जलप लगाउन सकिने र दोस्रोमा भने प्रतिमाको पूरै भागमा सुनको जलप लगाउन सकिन्छ।
आयोजनाको स्रोत सुनिश्चितता भने ईआइए सकिएपछि हुने सुवेदीले जानकारी दिए।
ईआइएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रिनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ। यो संस्थाले आगामी असोज १५ गतेसम्म ईआईए प्रतिवेदन बुझाउन समय दिइएको छ ।
विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुद्धपार्कमा निर्माण गरिने बुद्धप्रतिमा बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिनेछ।
चार वटा ब्लकमा निर्माण गरिने बुद्धपार्कमा पहिलो ब्लकमा बुद्धप्रतिमा बन्नेछ। करिब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको प्रतिमा बनाइने छ।
अर्धकमलमाथि बसेको आकारमा बनाइने बुद्धप्रतिमाको सतह तामाले बनाइने छ। अनुहारमा सुनको जलप लगाइने छ। बाँकीमा सुनौलो ‘इपोक्सी’ नखुइलिने रंग लगाइने छ ।
हिलपार्कको डाँडामाथि लुम्बिनीतर्फ फर्काएर बनाइने बुद्धमूर्तिको लागत मात्रै ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ अनुमान गरिएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।
त्यस्तै, पार्कको दोस्रो ब्लकमा तीन करोड ६७ लाखको लागतमा तीन तले भिक्षुगृह बनाइने छ भने तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौथोमा एक तले शौचालय बनाइने छ। यी दुई संरचनाको लागत करिब १ करोड अनुमान गरिएको छ।
पार्कमा यीबाहेक करिब ५ करोडको लागतमा टेलिकम्युनिकेसन, सरसफाइ तथा ढल प्रणाली, पानी आपूर्ति लगायतका संरचना बन्नेछन्।
बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक तीन हजारभन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने उपमहानगरपालिकाको आकलन छ।
चुरे संरक्षणको लागि विभिन्न कार्यक्रम अगाडि बढिरहेका बेला प्रस्तावित पार्क निर्माणस्थल भने चुरे क्षेत्रमै छ।
उपमहानगर प्रमुख सुवेदीले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वन मन्त्रालयबाट स्वीकृतिको लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए।
बुद्ध र लुम्बिनी पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पुँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग जोडिएकाले बुद्धमूर्ति बनाउने योजना प्रस्ताव गरिएको उपमहानगरप्रमुख सुवेदीले बताए।