७२ वर्षीया तुल्सा पाण्डे घरभित्र र बाहिर गर्दा दलानमा टांगिएको स्मृति पात्रोमा नजर परिहाल्छ।
इँटाको गारोमाथि जस्ताले छाएको घरमा पाली जोडेर तुल्साले भान्साकोठा बनाएकी छन्। भान्साको ढोकामाथि रातो र सेतो धागोले बुनेको लेससँगै झुण्ड्याइएको छ स्मृति पात्रो।
त्यही पात्रोमा जोडिएका अनेक तस्बिरको बीचमा मुसुक्क हाँसिरहेका छन् उनका छोराहरू।
रूपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगढी चोकदेखि करिब पाँच सय मिटर पश्चिम पुगेपछि रातो रङले पोतिएको सहिद गेट भेटिन्छ। चाइनिज इँटा लगाएर चिटिक्क बनाइएको गेटको माथिल्लो भागमा दुई जनाको सालिक छ।
ती सालिक तुल्साका छोराहरूका हुन्। त्यो सहिद गेट तुल्साले आफ्नै छोराको सम्झनामा बनाएकी हुन्।
तुल्सा भने सहिद गेटदेखि एक सय मिटर दक्षिणतर्फ सानो थुम्कोमाथि बनाइएको कच्चीघरमा कान्छी छोरी विष्णु खत्रीसँग बस्छिन्।
२०४४ सालमा पति झविन्द्रलाल पाण्डेको मृत्यु भएपछि तुल्सा चार जना छोरी र दुई छोरा लिएर गुल्मीको सिमिचौरबाट बाँसगढी झरेकी थिइन्।
झविन्द्रले बाँसगढीमा ४० सालतिरै एक बिगाहा आठ नम्बरी जग्गा किनेका थिए।
पहाडको चिसोमा जन्मिएर हुर्किँदै गरेका छोराछोरीलाई तातो गर्मीमा औलो लाग्ला भन्ने डरले तराईमा ल्याउने आँट गरेका थिएनन्।
उनको मृत्युपछि भने तुल्सालाई श्रीमानसँगै घरजम सुरू गरेको सिमिचौर उराठ लाग्न थाल्यो।
अनि झरिन् चार छोरी र दुई छोरा लिएर श्रीमानले आर्जन गरी किनेको बाँसगढीमा।
अहिले सबै जग्गा तुल्साले चार जना छोरीहरूलाई बराबर बाँडिदिएकी छिन्।
श्रीमान बिते पनि तुल्साले छोराछोरीको पालनपोषणमा कुनै कमी राखिनन्। उनले छोरीहरूलाई पढाइन् र बिहे गरी पठाइन्। छोराहरू पढ्दै थिए।
उनको परिवारमा २०६० साल आयो। त्यसपछि उनको जिन्दगीमा सोच्दै नसोचेका घटना घट्न थाले।
२०५५ सालतिर तत्कालीन माओवादी द्वन्द्व निकै चर्किएको थियो।
तुल्साका कान्छा छोरा युवराजले भर्खर एसएलसी परीक्षा दिएका थिए। १७ वर्षीय युवराज विद्यालय पढ्दा नै माओवादीप्रति झुकाव राख्थे। २०५५ सालमै एसएलसी परीक्षा दिएपछिको एक दिन युवराज सुटुक्क भूमिगत भए।
युवराज माओवादी सेनामा लागेको थाहा पाएपछि सुरक्षाकर्मीहरू दैनिक घर वरिपरि आउने गर्थे।
उनका दाजु दुर्गालाई केरकार गर्थे।
‘भाइलाई कहाँ लुकाएको छस् खोजेर ले भन्थे, कान्छो कहाँ गएको हो भन्ने मलाई, दाजु-दिदी कसैलाई थाहा थिएन उसले कहाँबाट ल्याओस् र?,’ तुल्साले ती दिन सम्झिँदै भन्छिन्।
घरमा कोही पुरूष आएको थाहा पाउनेवित्तिकै खानतलासीको लागि प्रहरी घरमा आइपुग्थे।
‘ठूलो छोरा, ज्वाइँहरू कोही पनि लोग्ने मान्छे घरमा आयो कि प्रहरी आइहाल्थे। कहिले दिदीहरूको काँधमा बन्दुक तेर्स्याएर भाइलाई बोलाउनु भन्थे,’ उनले सम्झिइन्।
भूमिगत भएपछिको पाँच वर्षमा युवराज मुस्किलले ६/७ पटक घरमा आए होलान्। आमालाई भेट्न घरमा आए पनि राति घर बस्दैनथे। गाउँमा साथीहरूको घरमा गएर सुत्थे। भोलिपल्ट बिहानै फेरि भूमिगत भइहाल्थे। भाइ माओवादी युद्धमा लागे पनि दुर्गालाई भने युद्धमा होमिने मन थिएन।
सुरक्षाकर्मीले गर्ने केरकार र खानतलासीबाट वाक्क बनेका दुर्गा दैनिकजसो खेप्नुपर्ने ‘टर्चर’बाट टाढा रहन भन्दै ५८ सालतिर रोजगारीको लागि भारत गए।
रोजगारीभन्दा पनि माओवादी र सुरक्षाकर्मीको बीचमा परेर व्यहोर्नुपर्ने झण्झटबाट मुक्ति खोजेका थिए उनले।
घरमा धेरै मेहनतको काम नगरेका दुर्गाले मुग्लानमा अरूको खटनपटनमा रहेर काम गर्न सकेनन्, भारत गएको ७/८ महिनामै घर फर्किए।
केही महिना गाउँमा नदेखिएका दुर्गा घर आएपछि सुरक्षाकर्मीले लख काटे, माओवादीमा लागेर घर आयो।
घरमा देख्यो कि दैनिकजसो सोधपुछलाई प्रहरी आइहाल्ने तुल्सा बताउँछिन्।
अन्ततः दुर्गा पनि एक दिन माओवादी युद्धमा होमिए।
२०५९ सालमा माओवादी सेनामा होमिएका दुर्गाले युद्ध भने धेरै लड्नु परेन।
युद्धमा होमिएको एक वर्षमै त्यो दिन आयो, त्यसले उनलाई लिएर गयो।
‘कान्छो भूमिगत भएपछि घर आउनै पाएको छैन, तिमी पनि गयौ भने हामी कसरी बस्ने भनेर धेरै सम्झायौं तर हाम्रो बिन्ती नसुनी गएको थियो,ְ’ माइली दिदी कमला श्रेष्ठले भनिन्।
दुर्गा भूमिगत भएपछिको कुरा हो। गुल्मीको वामी टक्सारमा भएको लडाइँमा गोली लागेर उनका भाइ युवराज गम्भीर घाइते भए। उनी उपचारको लागि भारत गएका थिए।
उपचार गरी नेपाल फर्किएका युवराज २०६० साल असोज १९ गते लुम्बिनी सुन्डिहवाबाट गिरफ्तारमा परेका थिए।
प्रहरीले छोरालाई गिरफ्तार गरेको थाहा पाएपछि तुल्सा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पुगिन्।
हिरासतमा रहेका छोरा भेट्न केही खानेकुरा, कपडा र पैसा लिएर पुगेकी तुल्सालाई जिल्ला प्रहरी कार्यालयको गेटबाटै भित्र जान दिइएन।
‘तपाईंको छोरा र अरू कसैलाई पनि यहाँ ल्याइएको छैन भनेर गेटबाटै भित्र जानै दिएनन्,’ तुल्सा भन्छिन्।
वर्षौंदेखि भेट नभएको छोरा भेट्न गएकी तुल्सा दिनभर प्रहरी कार्यालय बाहिर बसेर साँझ निराश बन्दै घर फर्किएकी थिइन्।
२०६० सालको फागुन १७ गते उनका अर्का छोरा पनि प्रहरीको निसानामा परे।
त्यो साँझ दुर्गा बाँसगढी सेरूवास्थित साथीको घरमा क्यारम बोर्ड खेलिरहेका थिए। दुर्गा गाउँमा आएको सुरक्षाकर्मीले दिउँसो नै थाहा पाएका थिए। राति ९ बजेतिर प्रहरीले क्यारम बोर्ड खेल्दै गरेका दुर्गासहितका चार जनालाई घेरा हाली गोली हान्यो।
घटनास्थल घरदेखि पाँच सय मिटर नजिकै रहे पनि तुल्सा र दिदीहरूले दुर्गाको हत्या भएको भोलिपल्ट बिहान मात्र थाहा पाए।
‘गोली चलेको आवाज राति सुनिएको थियो तर भाइलाई गोली हानेर हत्या गरेको भन्ने बिहान मात्रै थाहा पायौं, शव इलाका प्रहरी कार्यालय सालझण्डीमा लगेको थाहा पाएपछि प्रहरी कार्यालय गयौं तर शवसमेत देख्न पाएन,’ कमलाले भनिन्। त्यो दिन सम्झेर अहिले पनि कमलाका आँखा भरिन्छन्। मनमा गाँठो पर्छ।
जेठा छोरा मारिए पनि तुल्सालाई कान्छो छोरा त छन् भन्ने थियो। कान्छा छोरा खोज्दै उनी दर्जनौं पटक जिल्ला प्रहरी कार्यालय भैरहवा र रामनगरस्थित नेपाली सेनाको ब्यारेकको गेटमा पुगिन्। तर छोरालाई भेट्न त परैको कुरा अवस्था बुझ्न समेत पाइनन्।
अहिले पनि उनी छोरा टुप्लुक्क घर आइपुग्छन् कि भन्दै हरेक साँझ आँगनको डिलमा उनी नजर डुलाउँछिन्।
‘१२ वर्षमा त खोला पनि फर्किन्छ भन्छन्, छोरा किन नफर्केला,’ उनको मनले भनिरहन्थ्यो।
आमाले कुरेको बाटोमा कान्छा छोरा कहिल्यै आएनन्। छोरा हराएको १२ वर्षपछि त उनले आश पनि मारिन्।
‘हिरासतमै मारेको भए पनि मर्यो भनिदिए त म मर्दा पनि राम्रोसँग प्राण जाने थियो, न त जेठा छोराको लाश देख्न पाइयो न त कान्छोको,’ तुल्साको गुनासो छ।
कहिलेकाहीँ उने जेठो छोरालाई सपनामा देख्छिन्, कान्छोलाई त सपनामा पनि देख्दिनन्।
‘कहिलेकाहीँ सपनामा आए पनि त अँगालो मार्ने थिएँ,’ उनले भनिन्, ‘सपनामा पनि नआउने गरी कति माया मारेर गएछौ भन्छु।’
सपनामा नआउने गरी गए पनि तुल्सालाई लाग्थ्यो, कान्छो छोराले ठूलै सपना देखे होलान्।
‘नभए त यत्तिकै ज्यानको बाजी थापेर किन हिँड्थ्यो? भन्ने लागिरहन्थ्यो नि,’ उनले भनिन्।
कान्छो छोराको सपनाको घानमा ठूला छोरा पनि परे। उनलाई आफ्ना छोराहरू गएको बाटोले मुलुकमा थिति बसाउँछ भन्ने आश थियो।
‘हेर्दाहेर्दै छोराहरूलाई ठूला सपना देखाउनेहरू कहाँ बिलाए कहाँ,’ उनले भनिन्, ‘उनीहरूका सपनाको बिल्लबाठ भयो। देशको पनि यो हाल छ।’
छोराहरूको पार्टीले गरेका काम देखेर पनि उनी दिक्क बन्दै गइन्।
दुई वटै छोरा जनयुद्धका कारण गुमाएकी तुल्साले सरकारबाट छोराहरूको जीवन गुमेबापत १०/१० लाख क्षतिपूर्ति पाएकी थिइन्। उनलाई लाग्छ, उनीहरूको सपना पूरा भएको भए त्यही सबभन्दा ठूलो क्षतिपूर्ति हुन्थ्यो। अरूले पूरा गरिदिनुपर्ने सपनाको भर उनलाई छैन।
त्यसैले, क्षतिपूर्ति रकममा पाएपछि उनले स्थानीय जनचेतना माविमा अक्षयकोष स्थापना गरिदिइन्। सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्षबाट मारिएका र बेपत्ता पारिएका दुई छोराहरूकै सम्झनामा सहिद गेट बनाइन्।
‘छोराहरूले जीवन गुमाएर पाएको पैसाले उनीहरूको नाममा केही चिनो बनाइदिऊँ भन्ने लाग्यो। घर अगाडि सडकमा सहिद गेट र सालिक बनाएँ,’ उनले भनिन्, ‘आफूहरूले धेरै पढ्न पनि पाएनन्, लामो जीवन बाँच्न पनि पाएनन्। अनि उनीहरूको नाममा स्कुलमा अक्षय कोष पनि स्थापना गरें।’