अविरल वर्षापछि खसेको पहिरोले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सडकहरू अवरूद्ध भएका छन्।
मंगलबार रातिदेखि परेको पहिरोले पाल्पाका एक दर्जन बढी स्थानमा सडक अवरूद्ध छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको आधादर्जन बढी स्थानमा पहिरो गएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार तानसेन नगरपालिका ८ गौंडेपुल र जरेपिपलमा पहिरोले सडक अवरुद्ध भएको छ।
त्यस्तै पाल्पा रिडी सडकखण्डको तानसेन १४ गाईघाट, सोहि सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट ३ हार्थोक र रिब्दीकोट २ मालमोलमा पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरिक्ष पाण्डेले बताए। पाल्पा रामपुर सडकखण्डको आर्यभञ्ज्याङस्थित वाङछापमा पनि मंगलबार साँझदेखि गएको पहिरोले सो क्षेत्रको आवतजावत विच्छेद बनाएको पाण्डेले बताए।
त्यस्तै रामपुर सडक खण्डकै रम्भा ४ हुमिनमा पनि पहिरो गएको छ भने पाल्पा राम्दी सडकखण्डको पिपलडांडा लगायतका स्थानमा पहिरो जाँदा मंगलबार रातिदेखि नै आवतजावत बन्द भएको छ।
त्यस्तै रिडी तम्घास सडकखण्डको रेसुङगा १३ भंगेरीमा पनि पहिरो झरेको भने गोरुसिंगे सन्धिखर्क सडकखण्डको फुदवाङमा गएको पहिरोले सडक अवरुद्ध भएको छ।
प्यूठान भालुवाङ सडकखण्डको सरुमारानी ४ खहरेखोलामा पनि पहिरो जाँदा सवारी संचालन रोकिएको पाण्डेले बताए। यता पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि नेपालगञ्ज सडकखण्ड सुचारु भएपनि मंगलबार विहानैदेखि अवरुद्ध भएको बुटवल बर्दघाट सडकखण्ड सुचारु हुन सकेको छैन।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गको बुटवल धागो कारखानादेखि ५ सय मिटर अगाडि कल्भर्ट निर्माणको लागि बनाएको कजवे भत्किएपछि दुई दिनदेखि पूर्वपश्चिम राजमार्गको आवतजावत ठप्प भएको छ।
सडक निर्माणको क्रममा बनाएको कजवेबाट पानीको भल बगिरहेपछि सडक अस्तव्यस्त बनेको छ। पहिरो र बाढिका कारण बुटवलदेखि पूर्व जाने र सिद्धार्थ राजमार्ग भएर लुम्बिनी प्रदेशका पहाडी जिल्ला तथा स्याङजा, पोखरा लगायतका स्थानमा जाने सडकहरु बन्द भएका छन्। प्रदेशका पहाडी क्षेत्रका सहायक मार्गहरु पनि अवरुद्ध भएका छन्।
यता लगातारको वर्षाका कारण खसेको पहिरोमा परि पाल्पामा एकजनाको मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा घरमाथीबाट आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए। मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भिर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
पाल्पा वुटवल सडक खण्डको डुम्रे, गौडेपुल कालीमाटी, चर्चरे, सिद्धवावा क्षेत्रमा पहिरो खसेर सडक पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पाल्पा बुटवल सडकखण्डमा अत्यन्तै जोखिम भएकोले तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
सिद्धार्थ राजमार्गको डुम्रे गौडेपुल क्षेत्रमा करीव ४५ मिटर सडक नै पहिरोले बगाएको छ। गत बर्ष झरेको पहिरो पन्छाउने क्रममा डुम्रेखोलाले कटान गर्दा पक्की सडक नै बगाएको हो।
तानसेन तम्घास सडकखण्डको सम्मोवारी, भैरवस्थान क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पाल्पाको आर्यभञ्ज्याङ्ग रामपुर सडकखण्डमा हुगी, चापगैरा, विरकोट क्षेत्रमा पहिरो खस्दा राजमार्ग बन्द भएको छ।
पानी परिरहेका कारण डिभिजन सडक कार्यालयबाट पहिरो हटाउने तयारी भइरहेको छ। कार्यालयका सूचना अधिकारी शिवु खत्रीले पानी परिरहेकोले पहिरो हटाउन नसकिएको बताए। पाल्पा-बुटवल सडकखण्डको गौडेपुलको पहिरो हटाउन सकिएको छैन।
कालीगण्डकीमा पानीको बहाव उच्च भएपछि रुरु धार्मिक क्षेत्र रिडिमा बगर क्षेत्रका मानिसलाई सर्तक रहन प्रहरीले आग्रह गरेको छ। कालीगण्डकी ए जलविद्युत् क्षेत्रको मिर्मी बाँधको पुरै ढोका खोलिएपछि रुरु क्षेत्रका तटिय बस्ती जोखिममा परेको स्थानीयवासी चुरामणी तिमिल्सीनाले बताए।
कालीगण्डकी र रिडिखोलाको बाढीले रिडि क्षेत्रको तल्लो भाग डुवानमा परेको तिमिल्सीनाले बताए। यसैगरी रानीमहल क्षेत्रमा रहेका होटल तथा रेष्टुराहरु कालीगण्डकीको बाढीको कारण प्रभावित भएको स्थानीय दिपक पाण्डे क्षेत्रीले बताए। रानीमहल क्षेत्रको तल्लो भागका होटल तथा घरहरुमा बाढी पसेको छ।
यता बुटवलको तिनाउ नदीमा आएको बाढीले तीनवटा घर आधा कटान गरेको छ। आधा भाग नदीमा झुण्डिएका छन्। बुटवल ११ को पवित्रनगरमा विगतमा डम्पिङ्ग स्थल र पवित्र नगरको उत्तरीभागका ६/७ घर जोखिममा परेको छ।