'हार्टबिट' लामो समयदेखि बालबालिकाका लागि काम गर्दै आएको संस्था हो। सन् २००६ मा सुरू यस संस्थाले विद्यार्थीको शिक्षा र सामाजिक सेवामा काम गरिरहेको छ। पछिल्लो समय 'फुड फर एजुकेसन' भनेर संस्थाले साताको दुई दिन स्कुलका विद्यार्थीलाई खाजा खुवाउँथ्यो।
काठमाडौं, टेकुस्थित श्री महेन्द्र सेवा आधारभूत विद्यालय त्यहीमध्ये एक हो। अघिल्लो लकडाउनको तेस्रो दिनमा त्यहाँका चार विद्यार्थी हार्टबिटको ढोका नै घचघचाउन आइपुगेका रहेछन्। आफूहरूसँग केही खाना नभएको र भोकभोकै भएको भन्दै उनीहरू कसोकसो गरेर हार्टबिटसम्म पुगेका संस्थापक जुजुकाजी महर्जनले बताए।
'उहाँहरू सानेपादेखि डल्लुसम्म हिँडेर आउनुभएको थियो,' महर्जनले भने, 'त्यो पनि सबै परिवारका सदस्यसहित। किन यसरी आउनुभएको भन्दा आफूहरूको स्थिति देखायो भने सहयोग पाइन्छ कि भनेर परिवार नै आएको बताउनुभयो।'
त्यसरी आएका मान्छेलाई सहयोग नगर्ने कुरै भएन। उनीहरूलाई चामल र त्यहीँको कौसीमा साना केटाकेटीलाई सिकाइएको खेतीबाट उमारिएको साग दिएर महर्जनले फर्काए।
यो त चार परिवारको कुरा थियो। तर त्यो समय सबैका लागि सहज थिएन। त्यही भएकाले त्यसपछि करिब २५ परिवारलाई राहत र सडक मजदुर, रिक्सा चालक लगायतलाई उनीहरूलाई खाना खुवाए।
महेन्द्र सेवा आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक पृथ्वीकुमार मगरका अनुसार करिब दुई सय विद्यार्थी विद्यालयमा अध्ययनरत छन्। त्यसमध्ये ५० जनालाई हार्टबिटले छात्रवृत्ति दिएको छ। लकडाउनको समयमा हार्टबिटले आर्थिक अवस्था विपन्न भएको परिवारलाई सहयोग गरेदेखि उनी यो संस्थामा सामाजिक सेवा गरिरहेका छन्।
'बिहान अनलाइन कक्षा सकेर यहाँ आउँछु। अरूका लागि केही गर्दैछु भन्ने कुराले पनि आत्मसन्तुष्टि दिन्छ,' मगरले भने।
हार्टबिटले लकडाउनको तेस्रो दिनदेखि लकडाउन नसकिएसम्म दिनको करिब तीन सय प्याकेटका दरले करिब पाँच लाख प्याकेट खाजा खुवायो। त्यसबेला थली, डल्लु, ठमेल लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उनीहरूले खाजा बाँडे। सँगै मास्क, स्यानिटाइजर दिए र कोभिडबारे जनचेतना फैलाए। लकडाउन सकिएपछि भने उनीहरूले खाजा खुवाउन बन्द गरेका थिए।
'सधैं सहयोग गर्यो भने मान्छे अरूमा निर्भर हुन्छ। त्यही भएकाले उनीहरूलाई आत्मनिर्भर बनाउन तरकारी खेती गराउन सिकायौं,' संस्थापक महर्जनले भने।
त्यहीबीच फेरि कोरोनाको दोस्रो लहर सुरू भयो। बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रले आफ्ना स्टाफ र बिरामीलाई खाजा खुवाउन हार्टबिटलाई घचघचाएपछि उनीहरू फेरि खाजा खुवाइरहेका छन्।
'हामी बिहानै तरकारीहरू किनेर ल्याउँछौ र एक बजेभित्रमा पकाएर पठाउन तयार गरिसक्छौं। गाडीमा हालेर लग्छौं। बिरामीका लागि हुने भएकाले नुन, खुर्सानी र मरमसला कम राखेर बनाएका हुन्छौ,' हार्टबिटकी कार्यक्रम निर्देशक प्रकृति श्रेष्ठले भनिन्, 'पहिलेजस्तो सडकमा गएर मान्छेहरूलाई नदिने भएकाले मान्छेको प्रत्यक्ष सम्पर्कमा पनि आउनुपर्दैन। हस्पिटलको निश्चित ठाउँमा हामी खाजा राखेर फर्किन्छौं।'
राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा करिब तीन सय बिरामी र एक सय बीस कर्मचारी छन्। उनीहरू सबैले हार्टबिटबाट ल्याएको खाजा खाने होइनन्। कोहीले आफ्नै घरबाट ल्याउने भएकाले उनीहरूले दिनको करिब डेढ सय खाजा बनाए पुग्छ। दिनको कति खाजा ल्याउने भनेर बिहानै अस्पतालबाट हार्टबिटलाई खबर पुग्छ।
'अहिलेको समयमा बाहिर पनि सबै बन्द छ। त्यही भएकाले हामीले उहाँहरूलाई आग्रह गरेको,' अस्पतालका प्रशासन अधिकृत सुमन राउतले भने, 'उहाँहरूले खाजा ल्याइदिँदा हामीलाई सहज भएको छ।'
संस्थापक महर्जनका अनुसार सुरूमा उनीहरूले एक हप्ता मात्र यसरी खाजा खुवाउने योजना बनाएका थिए। तर बिस्तारै मान्छेहरूले आग्रह गर्न थाल्दा दोस्रो चरणको कोरोना लहरसम्म पुग्यो। पहिलो लकडाउनमा स्वयंसेवकहरू पनि भएकाले काम गर्न सजिलो थियो। अहिले भने पाँच जना साथीभाइ मात्र मिलेर काम गरिरहेका छन्।
'अहिले मान्छेको चासो पनि कम हुँदै गएको हुन सक्छ। कतिपय मान्छेले नगर, गाह्रो हुन्छ पनि भनिरहेका छन्,' उनले भने, 'त्यही पनि मानवता नै सबभन्दा ठूलो धर्म हो भनेर काम गरिरहेका छौं।'
सहयोगको पनि अपेक्षा गर्दै हार्टबिटकी प्रकृतिले भनिन्, 'तपाईंले ठूलो केही गर्नुपर्छ भन्ने छैन। पैसा नभए खाजा बनाउन चाहिने तरकारी, चामल लगायत सामान नै दिँदा पनि हामीलाई सहयोग हुन्छ।'