छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण बढिरहे पनि नेपाल-भारतका सिमानाका व्यवस्थित हुन सकेका छैनन्। स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ठूलो नाका रुपन्देहीको बेलहिया नाकामा नाममात्रैको हेल्थडेस्क राखेर तापक्रम नापेर नेपाल प्रवेश गराउने गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीको समन्वयमा सिद्धार्थनगर नगरपालिकाले दशगजाभित्रै स्वास्थ्यकर्मी खटाएर हेल्थडेस्क सञ्चालन गरे पनि आवश्यकताअनुसारको स्रोत साधन र जनशक्ति छैनन्। हेल्थडेस्कमा सशस्त्र प्रहरीले समेत सघाउने गरेको छ।हेल्थ डेस्कमा स्रोतसाधन र जनशक्ति अभाव हुँदा भारतका विभिन्न स्थानबाट नेपाल फर्किएकालाई तापक्रम नापेर प्रवेश गर्न दिइएको छ।
एक सातापहिले भारतको दिल्ली गएर मंगलबार नेपाल फर्किएका भरतपुर नगरपालिका ४ चितवनका गोविन्दप्रसाद अधिकारीले सिमानाकामा चेकजाँच र निगरानी बढाउन नसक्ने हो भने नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमणको जोखिम हुने बताए।
नेपाल एयरलाइन्सबाट भारतको इन्दिरा गान्धी विमानस्थलको कडा चेकजाँच र सोधपुछ छिचोल्दै दिल्ली पुगेका उनी नेपाली सिमानाकामा भने सामान्य सोधपुछ र तापक्रम हेरेकै भरमा निस्फिक्री छोड्न नहुने बताउँछन्।
बेलहिया नाका हुँदै अहिले दैनिक ४ सयको हाराहारीमा रोजगारी तथा अन्य पेशा व्यवसायका कारण भारत गएकाहरू स्वदेश फर्किने गरेका छन्। किनमेल तथा उपचारको लागि भारतीय बजार सुनौली, नौतनवा तथा गोरखपुरसम्म पुगेर फर्किनेहरूको संख्या दैनिक सयौं हुने गरेको छ।
किनमेल तथा उपचार गर्न र नेपालमा रोजगारी गर्ने भारतीय मजदुर भने तापक्रम जाँचबिना नै नेपाल प्रवेश गर्ने गर्छन्।
सिद्धार्थनगर नगरपालिकाबाट हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी अनिलकुमार यादव पनि किनमेलको लागि भारतीय बजार पुगेर फर्किनेको तापक्रम लिने नगरिएको बताउँछन्। किनमेलको लागि दैनिक सयौं व्यक्ति भारतीय बजार पुग्ने गरेकाले चेकजाँच गर्न सम्भव नभएको उनको भनाइ छ।
दैनिक ५ सयभन्दा बढीको संख्यामा भित्रिने मालवाहक गाडीका चालक, सहचालक तथा हेल्परको समेत चेकजाँच हुने गरेको छैन। हेल्थडेस्कमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीले कोरोना जोखिम नियन्त्रणका लागि अपनाइनु पर्ने सुरक्षाका मापदण्ड र अन्य व्यवस्थापनबारे नागरिकलाई सजगता गराएका त छन् तर त्यो पर्याप्त छैन।
सिमानाकामा हेल्थडेस्क राखिएको भए पनि नेपाल प्रवेश गर्नेहरू सबैको स्वास्थ्य परीक्षण नगरिँदा नेपालमा कोरोनाको संक्रमण बढ्ने उच्च खतरा देखिएको छ। एकसाता भन्दा बढी भारतमा बसेर फर्किनेहरूलाई उनीहरूले बोकेका झोला तथा सामानको आधारमा पहिचान गरेर मात्र चेकजाँच हुने गरेको छ।
हेल्थडेस्कमा तापक्रम लिने गरिए पनि कोरोना संक्रमण हुनसक्ने अवस्थाका व्यक्तिलाई तत्काल राख्न होल्डिङ सेन्टर वा आराम गरेर बस्ने स्थानसमेत तयार गरिएको छैन। सिद्धार्थनगर नगरपालिकाले शंकास्पद व्यक्तिको आरडिटी परीक्षणको लागि भन्दै छुट्टै हेल्थडेस्क स्थापना गरे पनि साँझ-बिहान जनशक्तिविहीन हुने गरेको छ। मंगलबार साँझ ५ बजे उक्त हेल्थडेस्कमा कुनै कर्मचारी थिएनन् भने हेल्थ डेस्क बन्द गरिएको थियो।
हाल तीन जना स्वास्थ्यकर्मी खटाउने गरे पनि आवश्यक परे थप स्वास्थ्यकर्मी खटाउने गरी व्यवस्था गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले दाबी गरेको छ। दुई साताअघि भारतबाट नेपाल आउँदै गरेका एक जनालाई शंका लागि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
अहिलेसम्म तापक्रम बढी देखिएका ५० जनाको आरडिटी परीक्षण गरिए पनि पछिल्लो एक सातायता भने त्यस्तो शंकास्पद व्यक्ति नभित्रिएको हेल्थडेस्कको दाबी छ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले प्रदेशका मुख्य तीन वटा नाकामा संघीय सरकारमातहत जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय पालिकाको समन्वयमा स्वास्थ्य परीक्षण गरी प्रवेश गर्न दिइएको जानकारी दिए। पछिल्लो समय सिमानाकामा भइरहेको चेक जाँचमा प्रदेश सरकारको सहभागिता नरहेको उनले बताए।
‘रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको रूपडिया गरी मुख्यनाकामा संघीय सरकारमातहत हेल्थ डेस्क स्थापना गरिएको छ, प्रदेश सरकारले कालीदह, भगवानपुर, महेशपुरलगायत नाकामा हेल्थडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गर्दै आएको छ,’ उनले भने।
पछिल्लो समय नेपालमा पनि कोरोनाको संक्रमण फैलिएकाले नाकामा चेकजाँच र निगरानी बढाउने गरी तयारी गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले पनि अहिले स्थापना गरिएका हेल्थडेस्कलाई प्रभावकारी बनाउँदै होल्डिङ सेन्टरसमेत स्थापना गर्ने गरी तयारी गरिएको बताए।
‘अहिले स्थापना भएका हेल्थडेस्क पूर्ण रूपमा व्यवस्थित नभए पनि एक-दुई दिनभित्रै शंकास्पद व्यक्तिलाई राख्ने छुट्टै हेल्थडेस्क र होल्डिङ सेन्टरसमेत सञ्चालन गर्ने गरी तयारी गरिएको छ,’ थापाले भने।
बेलहियास्थित अध्यागमन कार्यालयको एउटा फ्लाट खाली गरेर भए पनि एक-दुई दिनभित्रै होल्डिङ सेन्टर बनाउने तयारी गरिएको उनले दाबी गरे। जिल्ला प्रशासन कार्यालय लुम्बिनी प्रदेश सरकार र स्थानीय पालिकासँग नियमित समन्वय र सम्पर्कमा रहेको र सिमानाकाबाट प्रवेश गर्नेको जाँचलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उनले बताए।