होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ।
बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनुका साथै १०-१२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच झडप हुँदा २ जनाको ज्यान गएको हो।
सो घटनामा निसीखोला गाउँपालिका - ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको निसिखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले सेतोपाटीलाई जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार दुई जनाको शव घटनास्थल नजिकै भिरमा भेटिएको थियो।
बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा विवाद हुँदा एक दर्जनभन्दा बढी सम्पर्कबिहिन रहेको वडा अध्यक्ष कुँवरले बताए।
दिउँसो चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कुँवरले बताए।