इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि गत शनिबार भारतीय जेलबाट रिहा भए। यो चार दशकमा उनीमाथि भएको अन्यायको कथा लामो छ।
उनको कथाजस्तै लामो छ, इलाममा रहेकी उनकी आमालाई भेटाउन महत्वपूर्ण भूमिका खेलेको ह्याम रेडियोको कथा।
कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासले जति प्रयास गर्दा पनि दुर्गाप्रसादको नेपालको ठेगाना पत्ता लगाउन नसकेपछि यो कुरा ह्याम रेडियो प्रयोगकर्तामाझ पुगेको थियो।
दुर्गाप्रसाद अदालती प्रक्रिया बिना दमदम जेलमा छन् भन्ने थाहा पाएका कलकत्ताका ह्याम रेडियो अपरेटर अम्बरिश नाग विश्वासले नेपाली ह्याम रेडियो प्रयोगकर्तालाई उनको परिवार खोज्नु पर्ने सन्देश पुर्याएका थिए।
ह्याम रेडियोमा उनको सन्देश पाएपछि वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले दुर्गाप्रसादकी आमा खोज्न पहल थालेका थिए। खरेल नेपालमा यस्तो रेडियो चलाउने लाइसेन्स पाउने पहिलो व्यक्ति हुन्।
भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीदेखि जोर्डनका पूर्वराजा हुसैनले पनि ह्याम रेडियो राखेका थिए। यो रेडियो राख्नेहरूले बिना इन्टरनेट संसारभरका अरू प्रयोगकर्तासँग कुरा गर्न सक्छन्।
खरेलले कहिले लिएका थिए त त्यो रेडियो?
'यसको लामो कहानी छ,' खरेलले सेतोपाटीसँग भने,'मैले पहिलो पटक ह्याम रेडियो देखेकोचाहिँ २०२८ सालतिर हो।'
त्यतिबेला खरेल ८ वर्षका मात्र थिए। दक्षिण भारतको मदरास घुम्न गएका बेला एक जनाले एन्टेना राखेर कुरा गरिरहेको देखे।
सप्तरीको राजविराजमा उनी पढ्ने बोर्डिङ स्कुलको छेउमा आकाशवाणीको एन्टेना थियो। मदरासमा पनि त्यस्तै एन्टेनामुनि कुरा गरिरहेको देखेर खरेलको बाल मस्तिष्कमा जान्ने रहर जागेछ।
उनी ती मानिसको नजिक गए।
'उहाँको नाम मलाई अहिले पनि याद छ, एमबी चौहान। उहाँले मलाई यो ह्याम रेडियो हो। नेपालमा पनि छ भन्नुभयो,’ खरेलले सम्झिए।
ललितपुरको गोदावरीमा सेन्ट जेभियर्स स्कुल स्थापना गरेका फादर मार्सल मोरानले यस्तो रेडियो राखेका रहेछन्।
गोदावरीको स्कुलमा खरेलका दाइ (ठूलो बुवाका छोरा) पढ्थे। काठमाडौं आएका बेला खरेल गोदावरी गए। मोरानलाई भेटे।
उनले रेडियोबारे खरेललाई बताए।
'यो चलाउन लाइसेन्स चाहिन्छ भन्नुभयो। त्यो लाइसेन्स ठूलो भएपछिमात्र पाइन्छ भनेपछि म फर्किएँ,’ खरेलले भने।
एसएलसी पास भएपछि खरेलले अब त रेडियो राख्ने लाइसेन्स पाउँछु होला ठाने। गोदावरी गएर मोरानलाई भेटे।
मोरानले भने- मैले त राजा महेन्द्रलाई बिन्ती चढाएर हुकुम प्रमांगीबाट पाएको हो।
मोरानलाई दरबारले स्वीकृति दिँदा न त ह्याम रेडियोले नेपालको कल साइन दिएको थियो न त सरकारले लाइसेन्स। राजाले रेडियो राख्न दिनु भनेपछि उनले आफैंले कल साइन लिएर ह्याम रेडियो चलाइरहेका रहेछन्।
'राजाले दिन्छन् भनेपछि मैले हरेक ठाउँमा हुने राजाका भ्रमणमा ह्याम रेडियो राख्न पाउँ भनेर बिन्ती पत्र हाल्थें तर मेरो कुराको कहिल्यै सुनुवाइ भएन,’ खरेलले भने।
त्यतिबेलै उनले थाहा पाए रेडियो नेपाल र सञ्चार मन्त्रालयमा पनि एमेच्योर रेडियो राख्ने निर्णय भएको छ। त्यतिबेला रेडियो नेपालका प्रमुख कृष्ण खत्रीले सञ्चार मन्त्रालयका सचिवबाट यस्तो निर्णय गराएका रहेछन्।
खरेलले खत्रीलाई भेटे र आफ्नो कुरा सुनाए। उनले सचिवस्तरको निर्णय दुई ठाउँमा राख्न पाएको भए पनि अरूले राख्न राजालाई बिन्ती पत्र चढाउनु पर्ने बताए।
त्यस्ता दर्जनौं बिन्तीपत्र त उनले पहिला नै हालिसकेका थिए।
'मेरो लगाव देखेर होला उहाँले मलाई एक दिन बोलाउनु भयो र भृकुटीमण्डपको युवा क्रियाकलाप समन्वय समितिमा जानुभयो भने युवाका लागि भनेर रेडियो राख्न दिन्छन् होला भन्नुभयो,’ खरेलले भने,‘युवा समन्वय समिति भनेको पञ्च युवाहरूको भेला हुने ठाउँ थियो। त्यहाँ गएर पञ्चायती राजनीतिमा लाग्नु पर्ने भएपछि म गइनँ।’
यसो गर्दागर्दै वर्ष बिते। लाइसेन्स नपाए पनि खरेलले घरमा उपकरणहरू जोरजाम गरेर रेडियो चलाउन थालिसकेका थिए।
२०४५ सालतिर रेडियो ऐनमा परिवर्तन हुने भयो। त्यतिबेला खत्री सञ्चार मन्त्रालयमा सल्लाहकार थिए। उनले ऐनको संशोधनमा रेडियोको परिभाषाभित्र एमेच्योर रेडियो पनि राखिदिए।
'ऐनमा संशोधन भएपछि अलि आश पलायो,’ खरेलले भने,‘२०४६ सालको परिवर्तनपछि मैले त्यसैमा ध्यान दिएँ।’
उनले यही विषयमा कुरा गर्न अन्तरिम सरकारका सञ्चार मन्त्री बासु रिसालदेखि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई समेत भेटे। उनीसँग कुरा गर्दा सबैले लाइसेन्स दिन्छौं, हुन्छ भने तर व्यवहारमा कहिल्यै उतारेनन्।
त्यतिञ्जेलसम्म खरेल वकिल भइसकेका थिए। उनका एक जना साथीले यस विषयमा सर्वोच्च अदालतमा सार्वजनिक चासोको मुद्दा हालिदिए।
'देशमा प्रजातन्त्र आयो भन्छन्। विदेशीले रेडियो राख्न पाएको छ नेपालीले छैन। यो भेदभाव भयो भनेर सर्वोच्चमा मुद्दा परेपछि सञ्चार मन्त्रालयबाट मलाई बोलाए,’ खरेलले भने,‘तपाईंहरू मुद्दा फिर्ता लिनुस्, हामी लाइसेन्स दिने प्रक्रिया अघि बढाउँछौं भने।'
आश्वासन पाएपछि खरेलले साथीहरूलाई भनेर मुद्दा फिर्ता लिए।
त्यसपछि रेडियो लाइसेन्स नियमावली आयो। उक्त नियमावलीमा एमेच्योर रेडियोको भागमा खरेलले 'इनपुट' दिए।
नियमावली त आयो तर कर्मचारीले फेरि लाइसेन्स दिन मानेनन्।
'त्यतिबेला सहसचिव प्रभाकर अधिकारी हुनुहुन्थ्यो। उहाँले यो मैले नबुझेको कुरा कसरी लाइसेन्स दिने भन्न थाल्नुभयो,’ खरेलले भने,‘त्यसो भए हामी तपाईंलाई बुझाउँछौं भनेर इन्टरनेशनल एमेच्योर रेडियो युनियनले उहाँलाई जापान र अमेरिका लिएर गयो।'
अधिकारी जापान र अमेरिका घुमेर आए तर लाइसेन्स दिन आनाकानी गरिरहे।
'त्यतिबेला उहाँहरू नेपालीलाई लाइसेन्स नदिने तर विदेशीलाई राजाको जन्मोत्सवमा लाइसेन्स दिने गर्नुहँदो रै'छ, त्यसबापत् उहाँहरूलाई सौगात मिल्दो रै'छ,' खरेलले भने,'मैले यो कुरा सञ्चार मन्त्री योगप्रसाद उपाध्यायलाई सुनाएँ। उहाँले यसपालि नेपालीले नपाई कुनै पनि विदेशी पाउँदैन भन्नुभयो।'
मन्त्रीले नै यस्तो भनेपछि खरेल ढुक्क भएका थिए। तर राजा वीरेन्द्रको जन्मदिनमा त फलानो-फलानो विदेशीलाई ह्याम रेडियोको लाइसेन्स दिइएको समाचार आयो।
'मेरो पालो अख्तियारमा फोन गरिदिएँ। अख्तियारको टोलीले अधिकारीलाई पक्रियो। स्काउटको अफिसमा रेडियो चलाइरहेका ३२ जनालाई पनि समात्यो,’ खरेलले भने,‘रेडियो सामग्री र ५ हजार डलर डोनेसन दिने सर्तमा पछि उनीहरू छुटे।’
२०४९ सालमा नियमावलीअनुसार लाइसेन्स लिन परीक्षा लिने व्यवस्था गरियो। लिखित र प्रयोगात्मक दुबै किसिमको परीक्षा हुने भयो।
मन्त्रालयका अधिकारीहरू फेरि उनीहरूको परीक्षा लिनेभन्दा पनि कसरी फेल गराउने भन्नेतिर लागे।
खरेलका अनुसार त्यतिबेला सञ्चार मन्त्रालयमा सचिव सुरेश पुडासैनी थिए। उनले लिखितमा आफूले फेल गराउन नसक्ने बताए।
लिखित परीक्षा मन्त्रालय र मर्स कोड (प्रयोगात्मक)को जाँच नेपाल प्रहरीले लिने भनिएको थियो।
लिखित परीक्षा दिएका २५ मध्ये ७ जना मर्स कोडका लागि पास भए। तीमध्ये ४ जनाले मात्रै मर्स कोडको जाँच दिने भनेका थिए। मर्स कोडमा फेल गराउने योजना छ भन्ने उनीहरूले थाहा पाइसकेका थिए। त्यही भएर ब्रिट्रिस सेनामा मर्स कोड नै पढाउने रामबहादुर गुरूङलाई पनि जाँच दिन लगाएका थिए। अरूलाई जानेनन् भनेर फेल गराए पनि गुरूङलाई त गराउन सक्दैनन् भन्ने उनीहरूको जुक्ति थियो।
'हामी जाँच दिन जाँदा त प्रहरी प्रधान कार्यालयमा रिजल्ट टाँसिएको थियो। अनि सबै जनालाई फेल लेखिएको थियो,’ खरेलले सम्झिए,‘त्यतिबेला एक जना शम्भु शाही भन्ने एसपी थिए। रेडियोजस्तो कुराको तपाईंहरूलाई लाइसेन्स दिन मिल्दैन हजुर भने।'
शाहीको कुरा सुनेर खरेललाई भाउन्न छुट्यो। उनले प्रहरी महानिरीक्षक मोतीलाल बोहोरासँग कुरा गर्न खोजे। बोहोराले भेट्न चाहेनन्। त्यसपछि उनी शेरबहादुर देउवाकोमा गए। देउवा त्यतिबेला गृहमन्त्री थिए।
देउवाले बोहोरालाई बोलाए र उनीहरूको जाँच तुरून्त गर्नु भने।
फेरि जाँच भयो। उनीहरू पास भए।
लामो लडाइँपछि उनीहरूले रेडियो राख्ने अनुमति त पाए तर उनीहरूसँग रेडियो चलाउने उपकरण थिएनन्।
'त्यसपछि अर्को महाभारत सुरू भयो। मैले रेडियो पैठारीको अनुमति पाउँ भनेर निवेदन दिएँ, ९० दिनसम्म त्यसमा कुनै निर्णय भएन,’ खरेलले भने,‘कति पटक सञ्चार मन्त्रालयमा गएर झगडा गरें।’
त्यतिबेला सञ्चार सचिव घनानाथ ओझा थिए। उनले भनेछन्- नियमावलीमा सञ्चालन गर्न दिने पो भनेको छ, रेडियो राख्न दिने भनेको छैन। म त रेडियो ल्याउने अनुमति दिन सक्दिनँ।
खरेलले मन्त्रालयमा धाएको यति भइसकेको थियो कि कर्मचारीदेखि पियनसम्म उनलाई राम्ररी चिन्ने भइसकेका थिए।
'हाम्रो कुरा सुनिरहेका एक जना पियनले भने- हजुर यो त घोडा चढ्न पाउने तर घोडा राख्न नपाउनेजस्तो कुरा भयो,’ खरेलले भने,‘तै पनि उनले मानेनन्।'
झोक्किँदै उनी सञ्चार मन्त्रालयबाट निस्कँदै थिए। बाटोमा जयप्रकाश आनन्दसँग भेट भयो। जयप्रकाश त्यतिबेला प्रधानमन्त्री कार्यालयमा थिए। उनले के भयो भनेर सोधे।
खरेलले सबै बेलिविस्तार लगाए। जयप्रकाशले त्यही बेला विजयकुमार गच्छदारलाई फोन गरे। गच्छदार सञ्चार मन्त्री थिए।
गच्छदारले उनीहरूलाई आफ्नो कार्यकक्षमा बोलाए र सचिव ओझालाई पनि डाके। आफ्नै अगाडि रेडियो ल्याउन अनुमति दिने निर्णय गर्न भने।
'त्यतिबेला जर्मनीका दुई जना ह्याम रेडियो अपरेटर नेपाल आएका थिए। उनीहरूले हामीलाई सहयोग भनेर उपकरण यहीँ छोड्ने भनेका थिए,’ खरेलले भने,‘फेरि मन्त्रालयले यस्तो कुरामा दान लिनु हुँदैन भन्यो। हामीले त्यही सामान उता पठाएर किनेको कागज बनाएर मगायौं।’
ती सामान ल्याउन ४६ हजार रुपैयाँ भन्सार तिर्नु पर्ने भयो। लाइसेन्स नवीकरण गर्न हरेक वर्ष २० हजार रुपैयाँ बुझाउनु पर्थ्यो।
खरेलका साथी सुरेशराज उप्रेतीले त रेडियो उपकरणको भन्सार तिर्न आफ्नो मोटरसाइकल नै बेच्नुपर्यो।
'उहाँले रेडियोको भन्सार तिर्न मोटरसाइकल बेचेको देखेर परिवारले यस्तो के-केतिर लगायो भनेर मलाई गाली गरे,’ खरेलले भने।
त्यसपछि भने खरेलले निरन्तर ह्याम रेडियो चलाइरहेका छन्।
इटालीका अन्वेषक गुल्येलमो मार्कोनीले सन् १८९० को दशकमा रेडियोको अविष्कार गरेसँगै ह्याम रेडियोको विकास भएको हो। मार्कोनीबाट उत्प्रेरित भएर मानिसहरूले टाढा-टाढा सन्देश पुर्याउन र पाउन ट्रान्समिटर र रिसिभर बनाएर रेडियो राख्न थालेका थिए।
सन् १९०० को पहिलो दशकमा यस्तो चलन संसारभरि लोकप्रिय भएको थियो। आममान्छेले राखेका रेडियोले सैनिक सञ्चारमा समस्या हुन थालेपछि विभिन्न देशले व्यक्तिले यस्ता रेडियो राख्न नदिने गरी कानुन बनाए।
पहिलो विश्वयुद्धमा विभिन्न देशका सरकारले व्यक्तिसँग भएका रेडियो उपकरण जफत गरे।
पहिलो विश्वयुद्ध सकिएपछि सन् १९१९ मा फेरि एम्मेच्योर रेडियो राख्न खुला गरिएको थियो।
खरेलका अनुसार यो रेडियो चलाउनेहरूले अहिले आवाज, चित्र र इमेल सबै माध्यमबाट संसारभरि कुरा गर्न सक्छन्। कति टाढासम्म कुरा गर्ने भन्ने कुरा उपकरणको क्षमता कतिसम्मको छ भन्नेमा भर पर्छ।
'यसमा प्रयोगकर्ताको नाम हुँदैन, संकेतमात्र हुन्छ। एकपटक मलाई एउटा संकेत नम्बर अनौठो लाग्यो। मैले किन तपाईंको नम्बर यस्तो भनेर सोधें। उताबाट मेरो यस्तै छ भन्ने जवाफ आयो,’ खरेलले भने,‘पछि पो थाहा भयो उहाँ त जोर्डनको राजा हुसैन हुनु हुँदो रैछ।'
राजादेखि आम नागरिकसम्म एकै ठाउँमा जोडिने यो रेडियो अहिलेका सामाजिक सञ्जाल फेसबुक, ट्विटरजस्तै हो त?
'होइन, थोरै मानिस हुने भएकाले यसका प्रयोगकर्तामा भातृत्वको भावना निकै बलियो हुन्छ, कहिलेकाहीँ त अर्को देशको ह्याम रेडियो अपरेटर आफ्नो देशमा आउँदा त्यो देशका ह्याम रेडियो अपरेटर एयरपोर्टमै लिन जान्छन्,’ खरेलले भने।
नेपालमा अहिले झन्डै १ हजार जनाले ह्याम रेडियो प्रयोगको लाइसेन्स लिएका छन्। सूचना विभागले वर्षमा दुई पटक लाइसेन्सको जाँच लिन्छ। वर्षको २ सय रुपैयाँमा लाइसेन्स नवीकरण हुन्छ।
'२०७२ को भूकम्पपछि धेरै मानिसमा ह्याम रेडियोबारे चासो बढेको हो। त्यसपछि धेरैले लाइसेन्स लिए तर सक्रिय रूपमा चलाएको भने देखिँदैन,’ उनले भने।
५ वर्षअघिको भुइँचालोका बेला विदेशबाट ह्याम रेडियो प्रयोगकर्ताले नेपालमा रहेका आफ्ना मान्छेहरूबारे सोधीखोजी गरेको र आफूले सकेसम्म उनीहरूको अवस्थाबारे जानकारी दिएको खरेलले बताए।
उनका अनुसार अहिले ह्याम रेडियोले प्रविधि अन्वेषण गर्ने, अन्तर्राष्ट्रिय भातृत्व बढाउने, सामाजिक कार्य गर्ने र प्रकोपका बेला सञ्चार गर्ने काम गरिरहेको छ।
टेलिफोन, इन्टरनेटलगायत अरू सञ्चारका माध्यम अवरूद्ध भए पनि ह्याम रेडियो अपरेटरले आपसमा कुरा गर्न सक्छन्। अहिले यसैका माध्यमबाट अरूलाई पनि इमेल पठाउन सकिन्छ।
'२०६१ सालमा राजाले कू गर्दा अरू सबै बन्द भयो। मैले रेडियोबाट मजाले कुरा गरिरहेको थिएँ,’ खरेलले हाँस्दै भने,‘अब कसैले फेरि कू गर्यो भने सबैभन्दा पहिला मैलाई पक्रिन्छ होला।’
खरेल वकालतमा नाम चलेका अधिवक्ता हुन्। उनी प्राय: मुद्दा मामिलामा व्यस्त भइरहन्छ। अनि यो ह्याम रेडियोचाहिँ कति बेला चलाउँछन् त?
'शनिबार, दशैं-तिहारको विदामा अरू तास खेलेर बस्छन्, म रेडियो चलाउँछु,’ उनले भने।
धेरै वर्षअघि, अति दु:ख गरेर खरेलले पाएको ह्याम रेडियोले यतिका वर्षपछि गजब काम गर्यो- भारतीय जेलमा ४० वर्षदेखि अन्यायपूर्ण रूपले थुनिएका दुर्गाप्रसादको सूचना नेपाल ल्याइपुर्यायो। त्यो सूचनापछि खरेलले दुर्गाप्रसादको परिवार खोजे। परिवार कलकत्ता गयो, जेलमा दुर्गाप्रसादलाई भेट्यो। कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासले पनि सहयोग गर्यो। अन्तत: दुर्गाप्रसाद जेलबाट छुटे।
'दुर्गाप्रसाद छुट्नुमा ह्याम रेडियोबाट सानो सहयोग गर्न पाएकोमा औधी खुसी लागेको छ,’ खरेलले भने।
दमदम जेलदेखि आमाको काखसम्म दुर्गाप्रसादलाई पछ्याउँदा हेर्नुहोस् भिडिओ