सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सडक सफा र हरियालीमात्र होइन सडक डिभाइडरमा लगाएको फूल फुलेर रंगीचंगी बनेको छ।
नगरभित्रको ६ लेन सडक निर्माण भएलगत्तै सडक बत्तीले रातिको समयमा झिलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली बोटबिरूवा र ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्षक बनेको छ।
सडक बीचमा रहेको डिभाइडरमा विद्युतीय पोल, बुद्धमूर्ति र मौसमी फूलहरू फुलेर रातै र पहेलै देखिएको छ।
'ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा' नारासहित नगरक्षेत्रलाई सरसफाइसँगै हरियाली बनाउने अभियान सुरू गरेको नगरपालिकाले खाली रहेका सार्वजनिक जग्गा, कुलो, नहर तथा सडकका किनारहरूमा विभिन्न बोटबिरूवा लगाएको छ भने ६ लेन सडक क्षेत्रमा फूल रोपेर आकर्षक बनाएको छ।
भारतको सुनौलीदेखि बेलहिया हुँदै नेपाल प्रवेश गरेपछि नै ग्रिनरीसहितको सर्भिस लेन र मुख्य सडकले कुनै विदेशी भूमिमा यात्रा गरेजस्तै आभास दिलाउने ६ लेन सडकमा फुलिरहेका फूलहरूले सडकको सुन्दरता झनै थपिएको छ।
सिद्धार्थनगर र बुटवलको नगरक्षेत्रभित्र पर्ने सडकमा अन्य प्रजातिका बोटबिरूवा र फूल रोपिएको भए पनि तिलोत्तमा नगरभित्रको १४ किलोमिटरको सडक क्षेत्रभित्र भने एकै प्रकारका बोटबिरूवा र फूल रोपिएका छन्।
सर्भिस लेनतर्फको ग्रिनरीमा स्टोनिया, निम लगायत बाह्रै महिना हरियै रहने बोटबिरूवाले हरियै देखिँदा मुख्य सडकको डिभाइडरमा भने विभिन्न रङमा फुल्ने बेगनबेली लगाइएको छ।
गाउँघरमा बार र रूखमा समेत जेलिएर फुल्ने र बाह्रमासे फूलको पहिचान बनाएको बेगनबेली फूल तिलोत्तमा नगरबासीको लागि सामान्य फूलमात्र हैन। रातो, पहेंलो, सेतो, सुन्तला, गुलाबीमात्र नभई एउटै बोटमा तीनचार रङमा फूल्ने बेगनबेलीलाई तिलोत्तमा नगरपालिकाले सिटी फ्लावरको रूपमा छनोट गरी नगरको पहिचानसँग जोडिदिएको छ।
घर, आँगन, बगैंचा होस् या सडकका किनार बाह्रैमास थरिथरि रङमा ढकमक्क फुलेर सिंगो टोललाई नै आकर्षक बनाउने त्यही बेगनबेलीलाई नगर कार्यपालिकाको १९ औं बैठकले ‘सिटी फ्लावर’ को रूपमा छनोट गरेको थियो।
अहिले ढकमक्क फुलेको त्यही बेगनबेली फूलले तिलोत्तमा नगरक्षेत्रभित्रको ६ लेन सडक मनमोहक देखिएको छ।
बढ्दो सहरीकरणसँगै हरियाली मासिँदै गए पनि अरू फूलको तुलनामा लामो समय फुलिरहने र गाइवस्तुले समेत नखाने भएकोले बेगनबेलीलाई नगरपालिकाले सिटी फ्लावरको रूपमा छनोट गरेको थियो।
सोही अनुरूप नगरपालिकाले हरेक नगरबासीलाई आफ्नो घरमा कम्तिमा एउटा बेगनबेली फूल लगाउन अनिवार्य गरेको छ।
घरसँगै सडक, चोक, बगैंचा, पार्क लगायतका सार्वजनिक स्थानमा पनि बेगनबेली प्राथमिकतामा पारिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए।
विद्युतीय सडक बत्ती, बुद्धमूर्ति र बोटबिरूवाको हरियाली र फुलेका फूलहरूले अरू क्षेत्रको सडकभन्दा तिलोत्तमा क्षेत्रभित्रको सडकको पहिचान फरक देखिने गरेको छ।
शंकरनगरका यमलाल पोखरेलले सडक पूर्वाधारसँगै सरसफाइ र हरियालीमा पनि तिलोत्तमा नगरपालिका अगाडि रहेको बताए।
घिमिरेका अनुसार नगरपालिकाले सिटी फूल घोषणा गरेपछि १७ वटै वडा कार्यालय, सामुदायिक विद्यालय, सरकारी कार्यालय, बेलहिया बुटवल ६ लेन सडक डिभाइडरमा यही फूल लगाइएको थियो।
एउटा पुरानो बोटबाट हांगा काटेर सयौं बिरूवा सार्न सकिने भएकोले यो फूल लगाउन आर्थिक भार समेत पर्दैन।
तराईको गर्मी, त्यसैमाथि कालोपत्रे सडकको विचमा लगाइएका बोटबिरूवा। तर पनि यहाँका बोटबिरूवा सधैंभरि हरियै देखिन्छन् ।
नगरपालिकाले सडकमा लगाएका बोटबिरूवाको नियमित रेखदेख र गोडमेलको लागि कामदार समेत खटाउने गरेको छ।
नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सडक किनार र डिभाइडरमा लगाइएको बोटबिरूवाको गोडमेल, सिँचाइ तथा नियमित काँटछाँटको लागि कामदार राखेर खटाउने गरेको बताए।
नगरबासीहरूले घरवरिपरिको करेसाबारी, छत र कौसीमा लगाएको तरकारी र फलफूलसँगै सडकमा लगाइएका बोटबिरूवाको हेरविचार र स्याहार सुसारमा पनि उत्तिकै ध्यान दिने गर्छन्।
गाईवस्तुबाट बोटबिरूवा जोगाउन चारैतर्फ जाली लगाइएको छ भने बीचबीचमा बनाइएका प्रतीक्षालय पैदलयात्रा गर्नेहरूलाई सुस्ताउनको लागि सहयोगी बनेका छन्।
सडकमा फुलेका फूलहरूमा बसेर तस्वीर खिची सामाजिक सञ्जालमा हाल्नेहरू पनि अहिले बढेका छन्।
सार्वजनिक क्षेत्रहरू साँघुरिँदै जाँदा त्यहाँको हरियाली समेत मासिँदै जाने भएकोले नगरपालिकाले हरियाली क्षेत्र कायम गर्न हरेक नागरिकलाई आफ्नो जन्मदिनमा भए पनि एउटा बिरूवा लगाउन आग्रह गर्दै आएको छ।
त्यस्तै, घर वरिपरि फलफूलका बिरूवा रोप्न आग्रह गर्दै अनुदानमा उपलब्ध गराउने गरेको छ।
त्यस्तै, नगरपालिकाले स्वदेशमै पुष्पखेतीतर्फ युवाहरूलाई आकर्षित गर्न बाहिरबाट ल्याइएका मालाहरूको प्रयोगलाई निरूत्साहित गर्दै आएको छ।
नगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा खादा तथा बाहिरबाट आयातित मालाको प्रयोगलाई प्रतिबन्ध लगाए पनि नगरक्षेत्र भित्र व्यवसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्।
नगरपालिकाले सडक किनार, नहरको छेउ तथा खाली रहेको सार्वजनिक जमिनमा बोटबिरूवा र फलफूलका बिरूवा लगाउने अभियान थालेपछि नगरबासीले पनि त्यसको सिको गर्न थालेका छन्।
थोरै जग्गामा घर बनाएर जग्गा खाली नहुनेहरूले पनि गमलामा भए पनि फलफूलका बिरूवा रोप्ने क्रम बढेको छ। नगरपालिकाले गमलामै भए पनि सिटी फ्लावर बेगनबेली र एक दुइ वटा फलफूलका बिरूवा लगाउन आग्रह गरेको छ।