आफू अनुकूलको काम नगरेको भन्दै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडाअध्यक्षले पालिकामै कार्यरत सबओभरसियरलाई कुटपिट गरेका छन्।
वडाअध्यक्ष नारायणबहादुर यादवले गाउँमा निर्माण गरिएको सडकको गलत रिपोर्ट तयार गरी प्रमाणित गर्न भनेको र गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत सबओभरसियर प्रेमसागर पासवानले अस्वीकार गरेपछि कार्यालयमै कुटपिट गरेका थिए।
वडाको रायपुर भन्ने स्थानको नहरदेखि पश्चिम जाने १३ सय मिटर सडक गाउँपालिकाको करिब एक करोड रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत् कालोपत्रे गरिएको थियो।
उपभोक्ता समितिको नाममा कागजी प्रक्रिया पुर्याएर वडा अध्यक्ष यादव आफैंले निर्माण गरेको उक्त सडक मापदण्डभन्दा कमसल बनाइएको भए पनि मापदण्ड अनुरूप निर्माण भएको भन्ने प्रमाणित गरिदिन दबाव दिएपछि सबओभरसियर पासवानले अस्वीकार गरेका थिए।
पासवानले आफू अनुकूल सडकको कागजातमा प्रमाणित नगरिदिएपछि वडा अध्यक्ष यादवले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
उक्त सडक कालोपत्रे गर्दा १५ सेन्टिमिटर थिकनेस गर्नुपर्ने भए पनि ७ सेन्टिमिटरमात्रै गरिएको छ। तर वडा अध्यक्ष यादवले भने १५ सेन्टिमिटर थिकनेसको कालोपत्रे गरिएको भनी प्रमाणित गरिदिन दबाव दिएको र आफूले अस्वीकार गरेपछि कुटपिट गरेको पीडित पासवानले बताए।
यता वडा अध्यक्ष यादवले पासवानलाई कुटपिट गरेपछि कर्मचारीहरूले सोमबार गाउँपालिकाको कामकाज ठप्प पारेका छन्।
सहकर्मीमाथि हातपात भएको भन्दै गाउँपालिकाको कामकाज ठप्प पारेका कर्मचारीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत धर्ना दिन पुगेका थिए।
वडा अध्यक्षले गरेको कुटपिटविरूद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष र आधिकारीक ट्रेड युनियनका प्रतिनिधिहरूलाई रुपन्देही प्रहरीले जाहेरी नलिई फिर्ता गरेको संगठनका अध्यक्ष केशवराज भट्टराईले बताए।
भट्टराईले न्याय र सुरक्षा खोज्दै प्रहरी प्रशासनमा पुगेका कर्मचारीहरूको जाहेरी नलिई फिर्ता गरेको घटनाले आफूहरूको मनोबल खस्किएको गुनासो गरे।
‘जनप्रतिनिधिहरूको ज्यादती छ हामी असुरक्षित भयौं भनी निवेदन लिएर जाँदा समेत प्रहरीले सुनेन, यसरी काम गर्न सकिँदैन,’ भट्टराईले भने।
‘तराईका दक्षिणी भेगका स्थानीय तहका जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त छन्, कर्मचारीलाई फसाउनेमात्र काम भएको छ उनीहरूले भनेको गलत काम गर्न नमाने ज्यान जाने अवस्था आयो,’ उनले गुनासो गरे।
मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाले गैरकानूनी काम गर्न नमानेकोले ज्यान मार्ने धम्की दिएको भन्दै यसअघि पनि पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले नै ज्यानको सुरक्षा पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।
तर प्रहरी प्रशासनले नै विगतमा दिएको उजुरी र निवेदनउपर कुनै कारबाही प्रक्रिया अगाडि नबढाएकाले आफूहरू असुरक्षित अवस्थामा काम गर्न बाध्य भएको कर्मचारीहरूको गुनासो छ।
मर्चवारी गाउँपालिकामा गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि भन्दै सञ्चालन गरिएका क्वारेन्टिनमा व्यापक अनियमितता भएको समाचार सार्वजनिक भएको थियो।
क्वारेन्टिनमा भएको अनियमितताबारे समाचार सार्वजनिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कागजात नियन्त्रणमा लिएको थियो।