बिहीबार साँझ शव भेटिएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का घनश्याम कोइरीको हत्यामा उनकै साथीहरूको संलग्नता रहेको पाइएको छ।
गत चैत २ गतेदेखि बेपत्ता रहेका कोइरीको शव बिहीबार साँझ साढे ५ बजेतिर रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं.४ पर्सौनीस्थित परासी भैरहवा सडकदेखि उत्तरतर्फ शिव्वन यादवको गहुँ खेतमा फेला परेको थियो।
अनुहार तथा शरीर सड्न लागिसकेको अवस्थामा भेटिएको उक्त शव चैत २ गतेदेखि हराइरहेका आफ्ना श्रीमानको रहेको भन्दै मृतकको श्रीमती शिला कोइरीले पुष्टि गरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शुक्रबार बिहान हत्यामा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ।
प्रहरीले कोइरीको हत्या आरोपमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय रहेमान अली, वर्ष २६ को सुनिल गुरुङ, २८ वर्षीय मुख्तार पठान र वडा नं. १२ बस्ने वर्ष २१ को धर्मराज अहिरलाई पक्राउ गरेको हो।
मृतकका परिवार तथा पक्राउ परेका युवाहरूसँगको सोधपुछ पछिको अनुसन्धानमा हत्या हुनुको कारण रिसिइबी र लागुऔषध दुर्व्यसन रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्येका गुरूङ र मृतक कोइरीको परिवारबीच करिब ८ महिना अगाडि सामान्य झैझगडा भई गत साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएको थियो।
जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दुई परिवारको बीचमा विभिन्न समयमा झैझगडा र वादविवाद भइरहन्थ्यो।
दुई परिवारको बीचमा भइरहने सोही झैझगडाको बदला लिन लागुऔषध दुर्व्यसनको कुलतमा परेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले हत्या आरोपमा पक्राउ परेका आरोपित चारै जना लागुऔषध दुर्व्यसनीको कुलतमा संलग्न रहेको र हत्या अघि पनि लागुऔषध सेवन गरेपछि विवाद निकाली हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए।
पक्राउ परेका चारै जनाले हत्या आरोप स्वीकार गरेको र चैत २ गते कुटपिट गरी हत्या गरेर गहुँ लगाएको खेतमा लगेर फालेको बताएको प्रहरीले जनाएको छ।
प्रहरीले शुक्रबार बिहान पक्राउ परेका चारै जना युवालाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।