रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानै एम्बुलेन्स र दमकलको साइरन घन्कियो। विमानस्थलभित्रको घाँसे मैदानमा कालो धुँवासहितको आगोको मुस्लो दन्किरहेको थियो।
साइरन बजाउँदै गएको दमकलले आगोको मुस्लो निभाइरहँदा एम्बुलेन्समा भने घाइतेहरू ओसारिँदै थियो।
नेपाली सेना, नेपाल प्रहरी तथा विमानस्थलभित्र रहेको उद्दार तथा अग्नि निवारण शाखाका उद्दारकर्मीले स्ट्रेचर र पिँठ्यूमै बोकेर भए पनि घाइतेहरूको उद्दार गरी एम्बुलेन्समा राखिरहेका थिए। स्वास्थ्यकर्मीले चौरमै पल्टिइरहेका घाइतेहरूको प्राथमिक उपचार गरिरहेका थिए।
अन्तर्राष्ट्रियस्तरमा स्तरवृद्धि हुँदै गरेको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
भौतिक निर्माणका अधिकांश काम पूरा भई उपकरण जडानको तयारीमा रहेको विमानस्थलभित्र आगोको मुस्लो दन्किनु र एम्बुलेन्स र दमकलको साइरन बज्न थालेपछि विमानस्थल नजिकै बसोबास गरिरहेका स्थानीयले विमानस्थलभित्र कुनै अप्रिय दुर्घटना भएको आकलन गरे।
विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले सञ्चार सेटमार्फत विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटनामा परी आगलागी भएको र यात्रुहरू घाइते भएको जानकारी दिइरहेका थिए।
आगलागी, घाइते यात्रुहरू, उनीहरूको उद्दार तथा उपचारलगायत विमानस्थलमा देखिएका यी सबै दृश्य भने वास्तविक थिएनन्।
आन्तरिकतर्फ अति व्यस्त रहने गौतमबुद्ध विमानस्थल केही महिनाभित्रै अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालन हुँदैछ। विमानस्थलमा हुनसक्ने सम्भावित जहाज दुर्घटनापश्चात् उद्दारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर शुक्रबार बिहान आपतकालीन उद्दारको अभ्यास गरिएको थियो।
गौतमबुद्ध विमानस्थलका महानिर्देशक टेकराज पोखरेलका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको उद्दार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा 'फूल स्केल'को आपतकालीन अभ्यास गरिएको हो।
व्यवहारिक अभ्यास र आपतकालीन अवस्थामा अपनाउनुपर्ने कामबारे प्राविधिकलाई जानकारी दिइएको छ।
पोखरेलले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्दारमा सरोकारवालाहरूको सक्रियतालाई व्यवहारिक रूपमै अभ्यास गर्न 'डमी' अभ्यास गरिएको जानकारी दिए।
यस्तो अभ्यासले भविष्यमा हुनसक्ने दुर्घटनापछिको उद्दारमा खटिन सघाउने बताए।
नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान उपमहानिर्देशक छविलाल खनालले यस्तो अभ्यासले भविष्यमा हुनसक्ने दुर्घटनापछिको उद्दारलाई छिटो छरितो बनाउँदै र त्यसपछिको क्षतिलाई कम गर्न सहयोग पुग्ने बताए।
उपमहानिर्देशक खनालले ५ दिनसम्म ८ जना प्राविधिकलाई प्रतिष्ठानले दिएको तालिमपछि दुर्घटनापछिको उद्दार गर्ने तरिकाबारे अभ्यास गरिएको बताए।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, एयरलाइन्स कम्पनीहरू र चिकित्सकको भूमिकालाई समेटेर आपतकालीन अभ्यास गरिएको जानकारी दिए।
यस्तै, दुर्घटनामा विमानमा लागेको आगो नियन्त्रण गर्ने तरिका, घाइते यात्रुहरूको उद्दार र उपचार विधिबारे अभ्यास गराइएको थियो।