रूपन्देहीमा भाइसँग मिलेर दाजुले श्रीमतीको हत्या गरेको खुलेको छ। ऋण मिनाहासहित बिमा रकम पाउने लोभमा देवर र आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।
हत्या गरेपछि उनीहरूले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आईतबार पत्रकार सम्मेलन गरि उक्त घटनाबारे सार्वजनिक गरेको हो।
गत फागुन १५ गते राति करिब साढे १० बजे ईलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर १ पतिजियामा एक महिलालाई गम्भीर घाइते अवस्थामा उद्दार गरि भैरहवास्थित भिम अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भईसकेको घोषणा गरेका थिए।
उनी थिईन्- सम्मरीमाई गाउँपालिका-५ बस्ने ३२ वर्षिया कुशुम लोध। घाईतेसँगै रहेका कुशुमका श्रीमान शैलेश कुमार लोधले लु २ च १५१७ नम्बरको पिकअफ गाडीमा सवार ४ जनाले पटक पटक गाडी ब्याक गरेर उनलाई मारेको र आफ्नो कञ्चटमा पेस्तोल तेर्साई मृतकको मंगलसुत्र लगेको प्रहरीसामू प्रारम्भीक बयान दिएका थिए।
पतिजिया सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने भित्री सडकमा लु ६२ प १४०१ नं. को मोटरसाइकल रोकिएको अवस्थामा थियो। शैलेशले आफ्नी १५ महिनाको छोरा र श्रीमतीलाई सोही मोटरसाइकलमा राखी लुम्बिनीबाट घरतर्फ जाँदै गर्दा शौच गर्न रोकिएको र सोहि क्रममा गाडीले ठक्कर दिई घाईते बनाएपछि पटकपटक ब्याक गरेर मारेको बताएका थिए।
प्रहरीले मृतकका श्रीमान लोधको किटानी जाहेरीको आधारमा उक्त गाडी र त्यसमा उल्लेख गरिएका ब्यक्तिलाई पक्राउ गरि सोधपुछ गर्यो। प्रहरीले उनीहरूलाई सोधपुछ गर्दा नै निर्दोषजस्तो देखेपछि शैलेशतर्फ अनुसन्धान बढायो।
जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलले दुर्घटनामा श्रीमतीको मृत्यु भए पनि श्रीमानमा कुनै चिन्ता पिर नदेखेपछि उनीतर्फ अनुसन्धान शुरु गरेको पत्रकार सम्मेलनमा बताए। ‘श्रीमतीको मृत्यु हुँदा पनि श्रीमानमा कुनै पीडा नदेखिएपछि उनलाई हामीले शंकाको घेरामा राख्यौ,’ प्रहरी प्रमुख पोखरेलले भने।
प्रहरीले उनको परिवारमाथि निगरानी बढाउँदै गयो, सोही क्रममा शैलेशले प्रयोग गर्ने भारतीय नम्बर प्लेटको गाडीमा रगतका दाग, रौं देखिएका थिए भने गाडीमा झिंगा भन्किएको थियो।
शुरूदेखि नै शंकाको घेरामा रहेका शैलेश गाडीमा केही प्रमाण भेटिएपछि शंकाको घेरा झनै बढ्यो। पहिलेदेखि नै शंकामा रहेका शैलेशलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरे।
त्यतिबेलासम्म प्रहरीले मृतकको भिसेरा जाँच, घटनास्थलमा पाईएको सिसिटिभी फुटेजलगायत अध्ययन गरिरहेको थियो। सोधपुछमै उनले श्रीमतीको नाममा विमा गरेकोले सोही विमा रकमको लागि भाइसँग मिलेर हत्या गरेको स्वीकार गरे।
शैलेश बिमा एजेण्ट समेत हुन्। उनले श्रीमतीको नाममा भारत र नेपालबाट गरि करिब ४० लाखको विमा गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोही विमा रकम पाउने लोभ र श्रीमतीको नाममा बैंकमा रहेको ऋण फिर्ता हुने लोभमा योजनाबद्ध रूपमा आफ्नै कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अहिले शैलेश र उनका भाई राजेश दुवैलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा थप अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेश लोध र देवर राजेश कुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धी मुद्दा चलाइरहेको छ।
यस्तै प्रहरीले पुस १ गते जलेको अवस्थामा घरभित्रै फेला परेकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ की २१ वर्षीय सम्झना चाईको हत्यामा पनि श्रीमान मुकेश चाईको संलग्नता रहेको पुष्टि गरेको छ।
मुकेशले दाईजोको लोभमा सम्झनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
मुकेशले श्रीमतीलाई जलाएर हत्या गरे पनि भित्रबाट चुकुल लगाईदिएर आत्महत्या गरेको भन्ने देखाउने प्रयास गरेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा कोठा भित्र खाटको सिरान तर्फ सम्झनाको खुट्टा र गोड्यान तर्फ टाउको थियो। उत्तानो अवस्थामा रहेको शव आत्महत्या गर्न खोजे माथीबाट तल तिर जलेको हुनु पर्नेमा छाती लगायतको अधिकांश भाग जलेको भेटिएपछि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेको थियो।
अनुसन्धान गर्दै जाँदा र पोष्टमार्टममा पनि मृतकको फोक्सो, स्वाशनली परीक्षण गर्दा धुवाँको अंश नदेखिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी दिए।
सोही अनुरुप अनुसन्धान गर्दै जाँदा श्रीमानले नै ७ महिनामै जन्मिएको छोराको मृत्यु भएको र दाईजोको कारण हत्याको योजना बनाएको बताए।
हत्या योजना अनुसार सम्झनाको कोठामा रहेको भेन्टिलेसनबाट छिरेर हत्या गरि कोठा बन्द गरेर फेरि सोही भेन्टिलेशनबाट बाहिर निस्किएको प्रहरी सामु स्वीकार गरेका छन्।