रुपन्देहीमा एक साताको फरकमा दुई केवलकारको शिलान्यास गरिएको छ।
फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको वसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलले आइतबार बुटवलको अर्को आयोजना सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन्।
बुटवलमा आधार (बेस) स्टेशन रहेका यी दुवै केबलकारको अन्तिम स्टेशन भने पाल्पामा रहने छन्।
बुटवलदेखि उत्तरपूर्व वसन्तपुर जोड्ने केबलकारको निर्माण लुम्बिनी केबलकार प्रालिले सुरू गरेको छ भने बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रालिले बनाउँदै छ।
सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
विकासका काममा तिव्र गतिमा अगाडि बढेको रुपन्देहीका लागि केबलकार परियोजना रोलमोडल हुने उनको भनाइ छ। सरकारी क्षेत्रबाट निर्माण गरिएको परियोजनासँगै निजी क्षेत्रको लगानीमा निर्माण हुने यस्ता आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै उनले यी आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए।
पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने बताए।
‘०४७ साल अगाडि हामी कहाँ थियौ, आज कहाँ छौं? विश्लेषण गरौं, क्रमिक रूपले हेरौं, रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्दैछ,’ पौडेलले भने।
पौडेलले रुपन्देही विकास सिक्ने पाठशाला बनेको भन्दै आउने दिनमा अझै गतिशील बनाउन आग्रह गरे।
बुटवलको विकासको योजनाकारका रूपमा रहेका लुम्बिनी प्रदेश सभाका सदस्य तथा बुटवलका पूर्वमेयर भोजप्रसाद श्रेष्ठले शिलान्यास भइरहेका र निर्माण भइरहेका आयोजना प्रदेशको राजधानी बन्न नसकेको बुटवलको लागि क्षतिपूर्ति र बुटवललाई केन्द्र बनाउने आफूहरूको योजना पूरा गर्ने महत्वपूर्ण आधार भएको बताए।
उनले सिद्धार्थ केबलकारले ऐतिहासिक नुवाकोट गढीलाई हिल स्टेशनको रूपमा विकास गर्न सघाउने र गत साता शिलान्यास भएको लुम्बिनी केबलकारले उचाइमा रहेको बसन्तपुरलाई पर्यटकीय गन्तव्य बनाउने बताए।
‘यी दुबै आयोजना बुटवल र रुपन्देहीको लागिमात्र नभएर लुम्बिनी प्रदेशकै लागि ड्रिम प्रोजेक्टको रूपमा रहेका छन्,’ श्रेष्ठले भने।
नुवाकोटमा केबलकार लैजाने योजना २०५५ सालमै आफू बुटवलको मेयर भएका बेला बुटवलको भिजनरी प्रोजेक्टको रूपमा अगाडि सारिएको भए पनि सरकारी संयोजन नमिल्दा त्यतिकै रोकिएकोमा अहिले अगाडि बढाइएको श्रेष्ठले बताए।
सिद्धबाबा केबलकार प्रालिमा रुपन्देहीका उद्योगी तथा पर्यटन व्यवसायी गरी करिब १ सय जनाको ८० करोड बढी लगानी छ। प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको बताए।
सरकारले परियोजना भित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि भोगाधिकारको स्वीकृति दिएको छ। १.९४ किलोमिटर लम्बाइको केबुलकारको लागि ८० करोड २५ लाख लागत अनुमान गरिएको गुरुङले जानकारी दिए।
यो केवलकारमा २५ वटा गण्डोल हुने र दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने उनल बताए। केबलकारको एकतर्फी यात्रा ८ मिनेटको हुने छ।
यो समूहले केवलकार संगै नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ भने बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू टावर, स्वास्थ्य केन्द्र लगायतका संरचना पनि बनाउने छ।
महत्वाकांक्षी योजनाका साथ सुरू भएको केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने प्रालिको विश्वास छ।
पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका विभिन्न स्थानका समेत गरी करिब ८ करोड जनसंख्या लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशत मात्रले पनि केबुलकार चढेमा ८० लाख पुग्ने प्रालिको दाबी छ।
बुटवलको जितगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृष्य एकैसाथ अवलोकन गर्न सकिने छ। त्यस्तै नुवाकोट डाँडाबाट भारतको नौतनहवामा रेल गुडेकोसमेत स्पष्ट रूपमा देख्न सकिने स्थानीय बताउँछन्।
बुटवलदेखि नुवाकोटसम्म केबुलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। सुरूआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ।
रुपन्देही र पाल्पा जिल्लाको संगमस्थलका रुपमा रहेको नुवाकोट गढीको मनोरम प्राकृतिक दृश्यसंगै त्यहाँबाट उत्तरतर्फ देखिने हिमश्रृंखला र दक्षिण तर्फको समथर फांटले पर्यटकहरु आकर्षण गर्ने गरेको छ। त्यस्तै नुवाकोट विकास समितिको पहलमा नेपाली सेनाले फूलबारीबाट निर्माण गरेको कर्णेल उजिरसिंह सिंढीमार्ग बाट करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको रूपमा रहेको नुवाकोट गढीमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रुद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवासमेत रहेको छ। कर्णेल उजिर सिंह थापाले यही नुवाकोट गढीमा मोर्चाबन्दी गरेर अंग्रेज फौजलाई परास्त गरेका थिए।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण र रमणीय रहेको नुवाकोट क्षेत्रमा सरकारले सडक निर्माण गरेसँगै निजी क्षेत्रबाट गुरुयोजनासहित अर्बौंका योजना अगाडि सारिएका हुन्।
छोटो दूरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ति मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिने लक्ष्य रहेको लगानीकर्ता बताउँछन्।
बुटवलभन्दा यहाँको तापक्रम झण्डै ८ डिग्री सेल्सियस कम हुने गर्छ। बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु तथा नवलपरासीमा आउने पर्यटकलाई लक्षित गरेर योजना अगाडि बढेको हो।
सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको इतिहास पाइन्छ।
ऐतिहासिकसँगै सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने नुवाकोटबाट जितगढी किल्लासम्म पुग्न सुरुङमार्ग भएको दाबीसहित खोजी गरिए पनि यसको पुष्टि भने भइसकेको छैन।
नुवाकोटगढी पुग्न बुटवल बेलबास शान्तिचोकदेखि ११ किलोमिटर सडक निर्माण गरिएको छ। बेलबासदेखि नुवाकोट हुँदै झुम्सा निस्किने उक्त सडकलाई सिद्धबाबा झुम्सा सडकको वैकल्पिक मार्गका रूपमासमेत विकास गर्ने योजना रहेको छ। त्यस्तै फूलबारीबाट नुवाकोटसम्म उजिरसिंह सिँढीमार्ग पनि निर्माण गरिएको छ। सिँढीमार्गबाट दुई घन्टा पैदलयात्रामा नुवाकोट पुग्न सकिन्छ।
नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका होटल व्यवसायी माधव नेपाल नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकिय विकासमा ठूलो टेवा पुग्ने बताउँछन्। नुवाकोटमा जितगढी युद्धको झल्को दिनेगरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सक्ने नेपालको अपेक्षा छ।
बुटवल ३ गोलपार्क बमघाटमा आधार स्टेशनदेखि तीन किलोमीटर लामो लुम्बिनी केबलकारको यात्रापछि पाल्पाको तिनाउ गाउँपालिका ३, बसन्तपुर डाँडामा पुगिने छ। लुम्बिनी केबलकार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माका अनुसार केबलकारको अन्तिम स्टेशन वसन्तपुरमा सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण गरिने छन्।
तीन अर्ब ५२ करोड रुपियाँको लागत अनुमान गरिएको यो परियोजनाको लागि नेपाल सरकारले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्बाटै स्वीकृति दिएको छ। बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा ६.२७ हेक्टर वन क्षेत्र पर्दछ। लुम्बिनी केबलकार प्रालिले कार्ययोजना निर्माण थालेको १४ वर्षपछि बल्ल सरकारी स्वीकृति पाएको हो।
कोरोना महामारीका कारण एक वर्षयता नेपालको पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको अवस्थामा लुम्बिनी केबलकार प्रालिले दुई वर्षभित्रै केबलकार सञ्चालन गर्ने जनाएको छ।
यो आयोजनामा मुख्य लगानी लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको रहेको छ भने करिब २५ प्रतिशत लगानी स्थानीय केही जनप्रतिनिधि लगायतको छ।