पहिलोचोटि कुर्ता सलवार र चुन्नी ओढेर घर बाहिर निस्किँदा रुपन्देहीकी आनिक रानालाई संसार जितेजस्तै लागेको थियो। केटाकेटी उमेरमै घरभित्र लुकेर सल र चुन्नीको सारी बेरेर लगाउने गरे पनि अरुले देख्ने गरी लगाएर हिँड्न भने धेरै संघर्ष गरिन्।
अहिले उनको पहिचान नै निधारमा रातो टिका, सिउँदोमा सिन्दुरसँगै कुर्ता सुरुवाल र सारीसँगै जोडिदिएकी छन्। यो पहिचानको लागि उनले घर-परिवार, छरछिमेक, समाज र राज्यसँग समेत लडाइँ लडिन्।
रुपन्देहीको तिलोत्तमा-८ ज्योतिनगरका रनबहादुर राना र लालसरीलाई एक मात्र सन्तानको रुपमा छोरा जन्मिदा खुसीको सीमा थिएन। रनबहादुरका दुई वटी श्रीमतीमध्ये जेठी श्रीमतीतर्फ दुई छोरा र एक छोरी जन्मिएका भए पनि लालसरीतर्फ भने एक मात्र छोरा जन्मिएका थिए।
छोरा जन्मिएको छ दिनमा रनबहादुरले भावीले सुन्दर भविश्य लेखिदिओस् भन्दै सिरानीमा कपी र कलम राखिदिए। दियो बालिदिएर छैटी गरिदिए। ११ औं दिनमा परिवार छरछिमेकी र आफन्तहरूको उपस्थितिमा न्वारान गरी छोराको नामाकरण गरिदिए- यमबहादुर राना।
रनबहादुरले छोरा यमबहादुरलाई तिलोत्तमाकै कुवरवर्ती इङलिस बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए।
घरभित्र परिवारसँग लुकेर चुन्नी र सलको सारी बनाउने, आमाका टिकी चुरा लगाउने गरे पनि स्कुल जाँदा भने उनी सर्ट पाइन्ट लगाएर नै जाने गर्थे। विदाको दिनमा साथीहरूसँग खेल्दै गाई-बाख्रा चराउँथे।
१०-११ वर्षको उमेरदेखि नै अरु केटाहरूको भन्दा यमबहादुरको रुची फरक हुँदै गयो।
केटाहरूको समूह भन्दा केटीहरूको समूहमा बस्न मन पराउन थाले। हिँडाइ, हाउभाउ र बोल्ने शैलीसमेत परिवर्तन हुँदै गयो।
‘मेरा केटा साथीहरू बल र गाडी घोडा बनाएर खेल्दा मलाई भने पुतली बनाएर खेल्न मन पर्थ्यो, साथीहरू मिलेर बेहुला-बेहुली र जन्ती बनी भाँडाकुटी खेल्थ्यौं। त्यसमा पनि म बेहुली बन्न मन पराउथें। सायद म भित्रको महिला स्वभाव अंकुराउँदै थियो होला,’ उनी भन्छिन्।
सँगै पढ्ने र खेल्ने पुरुष र महिला साथीहरू भन्दा यमबहादुर आफूलाई फरक ठान्थे।
जैविक रुपमा पुरुषको शरीर भए पनि उनी आफूभित्र महिला भावना भएको महसुस गर्न थाले। यस्तै बीचमा विद्यालयकै शिक्षकले यमबहादुरसँगै उनको नाम थपिदिए ‘आनिक’।
अरु बालबालिकाभन्दा फरक भएकै कारण विद्यालयका शिक्षकले राखिदिएको ‘आनिक’ नामबाट उनि अहिले रुपन्देहीमा मात्र होइन, देशभर तेस्रोलिंगी महिलाको रुपमा परिचित छन्।
रुपन्देहीका हरेक सानाठूला सार्वजनिक कार्यक्रममा निधारमा रातो टिका, सिउँदोमा सिन्दुरसँगै सारीमा सजिएर उपस्थित हुने उनको पहिचान नै भइसकेको छ।
महिला र पुरुषभन्दा फरक यौनिकता भएकै कारण आफ्नो पहिचानका लागि घर छोडेर हिँडेको २५ वर्षको अवधिमा आनिकले धेरै अप्ठ्यारो र पीडादायक क्षणहरू पार गरेकी छन्।
आनिकका बुवा रनबहादुर भारतीय सेनामा कार्यरत थिए। एउटा श्रीमतीतर्फ छोराको रुपमा जन्मिएको एक मात्र सन्तानलाई छोरीको रुपमा सजिएर हिँडेको हेर्न उनी चाहँदैनथे। त्यसैमाथि अर्की श्रीमतीतर्फका सन्तान, आफन्त, समाज सबैका सामु आनिकले आफूभित्रको महिलालाई मारिदिएर पुरुषकै रुपमा बाँचिदिए हुन्थ्यो भनिरहन्थे।
तर आनिक भने जैविक लिंग पुरुष भए पनि भित्रभित्रै बढिरहेको महिला भावनाले उकुसमुकुस हुन्थिन्। उनीभित्रको भावना र परिवारको अपेक्षाबीच मेल खान सकेन। अन्ततः २०५२ सालमा उनी आफ्नो पहिचान खोज्नको लागि घर छोडेर हिँडिन्।
त्यतिञ्जेलसम्म फरक पहिचानको लागि घरभित्रै मात्र लडिरहेकी आनिकको लडाइँ अब भने भोको पेटसँगै समाज र राज्यसँग सुरू भयो। ‘घरबाट त निस्किएँ तर जाने ठाउँ कहीँ थिएन, केही समय होटलमा भाँडा माझे, पसलमा काम गरे तर बस्ने ठाउँ हुने थिएन। सडकका पेटी र प्रतिक्षालयमा पनि रात बिताएँ,’ उनी सम्झिन्छिन्।
केही महिना होटल र पसल काम गरेकी आनिकको एक दिन जब आफूजस्तै तेस्रो लिंगीसँग भेट भयो, त्यसपछि भने उनको जीवनले अर्कै मोड लियो।
‘हामी एक-अर्काको हाउभाउले गर्दा परिचित भएका थियौं, उहाँले मलाई यसरी काम गरेर हुँदैन हिँड तिमीलाई म अर्कै ठाउँमा लैजान्छु भनेर एउटा घरको कोठाभित्र लैजानुभयो। त्यो कोठाभित्रको दृश्य सम्झिँदा अहिले पनि मन जिरिङ्ग हुन्छ,’ आनिक भन्छिन्।
कोठाभित्र प्रवेश गर्दा पुस-माघको तुवाँलोजस्तै चुरोटको धुवाँले भरिएको थियो। भुइँभरि मदिराका सिसा र गिलास पल्टिएका थिए। हातमा चुरोट नलिएको कोही थिएन। सबै आफ्नै नशामा झुम्मिएका थिए।
त्यो अवैध यौनजन्य क्रियाकलाप हुने क्षेत्र थियो। आनिकले त्यही कोठाभित्र तीन वर्ष बिताइन्। ‘त्यहाँभित्र हुँदा गर्ने काम पनि गरियो, नगर्ने काम पनि गरियो, तर त्यहीँ जाने एक जनाको सहयोग र सल्लाहबाट म त्यो तुवाँलोसहितको दुनियाबाट बाहिर निस्किएँ,’ उनी भन्छिन्।
आफूलाई त्यही दलदलबाट बाहिर निकाल्न सघाउने तिनै पुरुषसँग विवाह गरे पनि उनको पहिचान खुलाउन भने उनी चाहँदिनन्। ‘उहाँको अर्को परिवार पनि छ, श्रीमती छोराछोरी छन्, कानुनले हामीलाई विवाहको मान्यता नदिए पनि म उहाँकै नामको सिन्दुर लगाउने गर्छु म यसैमा सन्तुष्ट छु,’ आनिक भन्छिन्।
आनिकले केही समय बुटवलमा रहेको परिवर्तनका लागि महिला संस्था (वाच) मा पनि काम गरिन्।
वाचमा काम गर्न सुरू गरेपछि उनले कोठा भाडामा लिएर बस्न थालिन्। संस्थामै कार्यरत सहयोगीहरूले उनको हाउभाउ र स्वभाव देखेर काठमाडौंस्थित ब्लू डायमण्ड सोसाइटीमा जान सल्लाह दिए।
उनी काठमाडौं पुगेपछि भने बल्ल आफ्नो अभिभावक र आफूजस्तै सदस्य पाएको महसुस भयो र त्यही संस्थामा जोडिएर काम गर्न थालिन्।
काठमाडौं गएपछि भने उनलाई लेस्रोलिंगीको अधिकार र पहिचानको लागि आवाज उठाउँदै आफू पनि त्यही पहिचानमा खुलेर हिँड्न धेरै सहज भइसकेको थियो। बाहिरी रुपमा महिला भएर हिँड्ने आनिकलाई अहिले भने नागरिकतामा उल्लेख गरिएको ‘यमबहादुर’ नामले झस्काइदिन्छ रे।
‘आनिक नाम यति प्रचलित भयो कि मैले त आफ्नो नाम ‘यमबहादुर’ हो भन्ने पनि बिर्सिन्छु, कहीँ जाँदा र केही काम पर्दा नागरिकता र पासपोर्ट देखाउँदा बल्ल झस्किन्छु,’ आनिक भन्छिन्।
बाहिरी पहिचान महिला भए पनि नागरिकता र पासपोर्टमा पुरुषको नाम लेखिएको कारण कहिलेकाहीँ यात्रामा झमेला समेत व्यहोर्नुपरेको उनको अनुभव छ। सारी र कुर्ता सुरुवालमा महिला पहिचानमा हिँड्ने आनिकलाई ढाका टोपी लगाएको फोटोसहित नागरिकता परिवर्तन गर्नु थियो।
त्यति नै बेला सरकारले तेस्रोलिंगीले पनि आफ्नो पहिचान सहितको नागरिकता पाउने प्रावधान ल्यायो।
सरकारले आनिकले खोजेको जस्तै प्रावधान ल्याएको भए पनि जिल्ला प्रशासन कार्यालयमा पुग्दा सुनेका शब्द र वाणीहरूले फेरि मन दुखाइदियो। लिंगका आधारमा नागरिकता पाऊँ भनी उनले दिएको निवेदनपछि उनलाई तेस्रोलिंगी भएको डाक्टरी प्रमाण लिएर आउन भनिएको थियो।
अर्कैले प्रमाणित गरिदिएको आफ्नो लैंगिकताको प्रमाण बोकेर नागरिकताका लागि जिल्ला प्रशासन धाउनु उनलाई स्वीकार थिएन। लिंगका आधार नागरिकता दिन संविधानले दिएको अधिकारबाट बञ्चित गराइएको भन्दै उनी मानवअधिकार आयोग हुँदै गृह मन्त्रालयसम्म पुगिन्।
कतै सुनुवाइ नभएपछि आनिक ब्लू डायमण्ड सोसाइटीमा पुगिन्। ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष तथा पूर्वसभासद सुनिलबाबु पन्त, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र आनिकले २०७० असोज १६ गते सर्वोच्च अदालतमा ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइ रिट दायर गरेका थिए।
उक्त रिटमाथि भएको सुनुवाइपछि २०७२ माघमा सर्वोच्चले उनीहरूको पक्षमा फैसला गरिदिएपछि उनले २०७३ साल वैशाख ५ गते नागरिकतामा यमबहादुरसँगै आनिक र महिला या पुरुष लेख्नुपर्ने स्थानमा अन्य लेखेर प्रतिलिपि लिएकी छन्।
‘ठूलो लडाइँपछि तेस्रोलिंगीले आफ्नो पहिचानबाटै नागरिकता र पासपोर्ट लिन पाएका छौं, हाम्रो आधा लडाइँ पूरा भएको छ,’ उनले भनिन्।
तर, विभिन्न कार्यक्रममा सहभागी हुँदै गर्दा महिला र पुरुषलाई मात्र प्राथमिकता राख्ने र शौचालय पनि महिला र पुरुषको लागि मात्रै छुट्याएको देख्दा उनलाई चित्त दुख्छ रे। ‘म पहिचानमा महिला हुँ, तर जैविक रुपमा पुरुष शरीर छ भने मेरो लागि बनाइएको संरचना कुन हो?,’ हरेक कार्यक्रममा उनको यो प्रश्न रहन्छ।
घरपरिवारको तिरस्कार, टोल समाज र साथीभाइले सम्बोधन गर्ने शब्दका तिखा प्रहार सुन्दै उनी अहिले आफूजस्तै हजारौं आनिकहरूको अधिकारको लागि लडिरहेकी छन्। रुपन्देहीमा उनलाई नचिन्ने सायद कमै होलान्। पहिले दाइ भन्नेहरू अहिले उनलाई दिदी र आन्टी भनेर सम्बोधन गर्छन्।
आनिक तेस्रोलिंगीहरूको अधिकारको लागि क्रियाशिल निल हिरा समाजसँगै रुपन्देहीका थुप्रै सामाजिक संघ-संस्थामा आवद्ध छन्। उनकै नेतृत्वमा रुपन्देहीमा सशक्तिकरण नेपाल र साहसिक कदम नेपाल संस्था स्थापना गरिएका छन्। आनिक ती दुबै संस्थाको अध्यक्ष छिन्।
दुबै संस्थाले लैंगिक तथा अल्पसंख्यक समुदायसँगै अपाङगता भएका तथा हिंसामा परेका महिलाहरूको लागि पनि काम गर्दै आएका छन्। आफूहरूलाई अरु नागरिक सरह स्थापित गर्न काम गरिरहेको उनी बताउँछिन्।
उनका अनुसार रुपन्देहीमा यौनिक अल्पसंख्यकहरूको संख्या ठूलो भए पनि समाज र परिवारले फरक पहिचानमा स्वीकार गर्न नसक्दा खुल्न सकेका छैनन्। तेस्रो लिंगीहरूको आधिकारिक तथ्यांक नआएको भए पनि रुपन्देहीमा मात्र करिब ९ हजार यौनिक तथा अल्पसंख्यक रहेको उनी दाबी गर्छिन्।
राष्ट्रिय जनगणना २०६८ मा देशभर जम्मा तीन सयको हाराहारीमा मात्रै तेस्रो लिंगीहरूको तथ्यांक संकलन गरिएकोमा २०७८ सालको जनगणनामा भने आफूहरूको पूर्ण र सत्य तथ्यांक आउनुपर्ने उनको माग छ।
‘विश्व स्वास्थ्य संगठनले कूल जनसंख्याको ८ देखि १० प्रतिशत यौनिक अल्पसंख्यक रहेको तथ्य सार्वजनिक गरेको छ, तर नेपाल सरकारले भने देशभर तीन सयको संख्यामा रहेको तथ्यांक सार्वजनिक गर्छ, सही तथ्यांक ल्याउनको लागि त हामीहरूलाई सोधिनु पर्यो नि,’ उनी भन्छिन्।
पहिचान खुलेका यौनिक अल्पसंख्यक समुदायको गाँस, बास र कपासको लागि रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाइ छ।
‘राज्यले हामीले पहिचान दिए पनि समाजबाट विभिन्न आरोप र लान्छना लगाउन छोडिएको छैन। राज्यका निकायहरूमा हाम्रो पहुँच पुग्न सकेको छैन, सबै तहमा हाम्रो पहुँच सुनिश्चित गराउन र रोजगारीको लागि राज्य जिम्मेवार बन्नुपर्छ,’ उनी भन्छिन्।
यौनिक अल्पसंख्यकहरूको अधिकारको लागि लडिरहँदा विगतका अँध्यारा कोठाभित्रका यादहरू हराउँदै गए पनि त्यही रहँदाका नमिठो छाप भने आफ्नो जीवनमा सधैं रहिरहने उनी बताउंछिन्।
आफू एचआइभी संक्रमित समेत रहेको आनिक बताउँछिन्।
‘मलाई कहिले संक्रमण भयो थाहा नै भएन, लामो समय खोकी लागिरहन्थ्यो, अस्पतालमा चेकजाँच गर्दा ब्रोङकाइटिस भएको भन्दै औषधी खाएँ, लामो समय औषधी खाँदा पनि निको नभएपछि फेरि चेकजांच गर्दा संक्रमित भएको थाहा पाएँ, संक्रमित भएको थाहा भएको पनि २० वर्षभन्दा बढी भइसक्यो अहिले त साँझ एकपटक औषधी खाँदा सम्झिए पनि अरु बेला बिर्सिएकी हुन्छु,’ उनी भन्छिन्।
आफू संक्रमित भए पनि आफूजस्तै धेरै संक्रमितहरूको जीवन बचाउन पाएकोमा भने उनलाइ खुसी लाग्छ रे।
‘म संक्रमित भएको थाहा भएर होला, धेरै संक्रमितहरू मेरो सम्पर्कमा पनि आउनुहुन्छ, संक्रमित भएको स्वीकार गर्न नसकि आत्महत्या गर्ने अवस्थामा पुगेका कतिपयलाई सम्झाएर जीवन जिउन हौसला दिने गरेकी छु,’ आनिक भन्छिन्।
हरेक दिन सामाजिक क्षेत्रमै सक्रिय रहने आनिक यौनिक अल्पसंख्यकहरूको हक अधिकारको लागि लडिरहेकै कारण नई रामलक्ष्मी पुरस्कारबाट समेत सम्मानित भइसकेकी छन्।