२०५८ सालमा माओवादी जनयुद्धमा होमिँदा जगनाथ-१ बाजुराका टेकबहादुर बोगटी १६ वर्षका मात्र थिए।
१० कक्षामा पढ्दै गरेका टेकबहादुरलाई जनयुद्धबाट गरिब विपन्न नागरिक र आफूजस्तै युवाहरूका सबै समस्या समाधान हुने विश्वास थियो।
त्यसैले पनि विद्यालयमा प्रशिक्षण दिन आएका टोलीसँगै गएका थिए।
घरदेखि टाढा एक महिना प्रशिक्षणका लागि गएका उनलाई घर फर्किन मन लागेन।
उतैबाट स्काउट हुँदै जनमुक्ति सेनामा होलटाइमर भएर जनताको मुक्ति र राज्यसत्ता स्थापनाको लागि गरिएको लडाइँमा सामेल भए।
२०५८ देखि देश शान्ति प्रक्रियामा आउँदासम्मको अवधिमा टेकबहादुर दर्जनौं ठूला साना युद्धमा सहभागी भए।
तर, टेकबहादुरलाई त्यतिबेला ज्यानको बाजी लगाएर काधमा राइफल बोकेर हिँडेकोमा अहिले पछुतो लाग्छ।
देश शान्ति प्रक्रियामा आएको १५ वर्ष पूरा भए पनि उनी भने अशान्त मन र घाइते शरीर लिएर जीवनको लागि संघर्ष गरिरहेका छन्।
टेकबहादुरले जनयुद्धकै क्रममा कालिकोटकी मुना मल्लसँग लगनगाँठो कसेका थिए।
एक छोरा र एक छोरीको बाबुआमा उनीहरू अहिले बाकेको कोहलपुरमा चिया पसल चलाएर बसेका छन्।
´हामीलाई भर्याङ बनाएर सत्ता र शक्तिमा पुगेका नेताहरूले अयोग्य बनाएपछि चिया पसल चलाउनुबाहेक अर्को विकल्प भएन, हामी दुबै जना घाइते छौं, गह्रौं काम गर्न सक्दैनौं,` टेकबहादुरले भने।
रुकुमको खारामा भएको युद्धमा टेकबहादुर र मुना दुबै घाइते भएका थिए। युद्धले उनीहरूको जीवनमा मिठो सम्झना दिन सकेन। तर, दुबैका शरीरमा गोली र छर्राका निशानी छन्।
टेकबहादुरको गर्धनमा लागेको गोलीको छर्राले समय समयमा दुखाइदिन्छ। गोली लागेको घाउको भन्दा ठूलो दुखाइ उनको मनमा छ।
नवलपरासीका बलिराम देवकोटा माओवादी जनमुक्ति सेनाको चौथो बटालियन परिवर्तन ब्रिगेडका कमाण्डर थिए।
२०५५ सालदेखि जनयुद्धमा होमिएका बलिराम पनि अहिले किराना पसल चलाएर बसेका छन्।
जनयुद्धमा होमिए देशकै मुहार फेरिने सपना देखेका बलिराम पनि आफूहरूलाई सत्ता र शक्तिमा पुग्ने भर्याङ बनाएर फालिदिँदा सरकार, पार्टी र नेताप्रति रुष्ट छन्।
उनले युद्धकै क्रममा इशारादेवीसँग विवाह गरेका थिए। उनीहरू पनि दुबै जना जनयुद्धमा घाइते भए।
बलिराम दाहिने खुट्टाको तीघ्रामा गोली बोकेर हिँडिरहेका छन्। इशारादेवीको त तीघ्रासँगै छातीमा पनि गोली लागेको थियो।
खारामै भएको युद्धमा घाइते भएका उनीहरु बाँच्न सफल त भए तर शारीरिकसँगै आर्थिक र मानसिक समस्या झेलिरहेका छन्।
´हामी देशकै परिवर्तनको लागि युद्धमा होमिएका थियौं, पार्टी र त्यतिबेलाको नेतृत्वले हाम्रो पीडा नबुझे पनि सरकारले हाम्रो समस्या बुझ्नुपर्छ र समाधान गरिदिनुपर्छ,` बलिरामले भने।
शनिबार बुटवलमा सम्पन्न पूर्वजनमुक्ति सेनाको राष्ट्रिय भेलामा सहभागी सबैका पीडा र व्यथा टेकबहादुर र बलिरामको जोडीको भन्दा फरक थिएन।
६ वर्ष माओवादी युद्ध लडेका बाजुराका दुर्गाबहादुरकी श्रीमती अनिता चौधरी ६ वर्षकी छोरी डोर्याएर भेलामा सहभागी भएकी थिइन्।
उक्त भेलामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पूर्वजनमुक्ति सेनाहरू सहभागी भएका थिए।
भेलालाई उद्योग मन्त्री लेखराज भट्ट र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए।
भेलामा सहभागीहरूले जनयुद्धले दिएका घाउ, पीडा र अभाव सुनाइरहँदा उद्योग मन्त्री भट्ट भावुक बनेका थिए।