रुपन्देहीको तिलोत्तमा-३ जानकीनगरकी प्रतिमा पन्थ बुधबार बिहान कोठाभरि फिजारिएका जुत्ता चप्पल समालिरहेकी थिइन्। विभिन्नथरि कपडा र रबरलाई मिलाएर सिलाएको जुत्तामा सुलेसन लगाएर सोल टाँसी राति त्यत्तिकै राखेकी थिइन्।
कोठामा केही जुत्ता चप्पल तयारी अवस्थामा रहे पनि केही भने कपडा काटेरमात्र छोडिएको थियो। बुधबार तिलोत्तमाकै सीमानगरमा लाग्ने साप्ताहिक हाटबजारमा लैजान उनले काटेर राखिएका कपडाका पनि जुत्ता तयार गर्नु थियो।
प्रतिमाले आफैंले जुत्ता चप्पल बनाएर यसरी साप्ताहिक हाटबजारमा लैजान थालेको तीन सातामात्रै भएको छ। उनले सीमानगरसँगै तिलोत्तमाकै योगिकुटी र ड्राइभर टोलमा लाग्ने साप्ताहिक हाटमा जुत्ता चप्पल लगेर बिक्री गर्छिन्। योगिकुटीमा सोमबार र बिहीबार हाट लाग्छ भने ड्राइभर टोलमा भने मंगलबार र शुक्रबार हाट लाग्छ।
हप्ताको ५ दिन हाट जाने प्रतिमा आइतबार र शनिबार भने घरमै जुत्ता चप्पल, चुरा, पोते, झोलालगायतका वस्तु तयार गर्छिन्। प्रतिमाले चुरा, पोते र जुत्ता चप्पल बनाउन ५ वर्षदेखि सिकेको भए पनि यसलाई व्यवसायको रूपमा उत्पादन गरि बिक्री गर्न थालेको दुई वर्षमात्रै भएको छ।
प्रतिमाका श्रीमान गंगाराम पन्थ मालवाहक ट्रकका चालक थिए। बुटवल तथा भैरहवाबाट मालसामान लिएर गंगाराम देशका विभिन्न स्थानमा पुगिरहन्थे। उनीहरूको जानकीनगरमा चार कठ्ठा जग्गा थियो, त्यसैमा एकतले घर बनाएका थिए।
श्रीमानले ट्रक चलाएर कमाएको पैसाले घर खर्च चल्थ्यो। प्रतिमा दुई छोराछोरी हुर्काउँदै घर सम्हालिरहेकी थिइन्, सानो परिवारमा उनीहरूको जीवन खुसीसँगै बितिरहेको थियो।
२०६७ असोज २ भने प्रतिमाको जीवनको कालो दिन बनेर आइदियो। गंगाराम बुटवलदेखि स्याङ्जातर्फ जाँदै थिए, उनले चलाएको ट्रक पाल्पाको आर्यभन्ज्याङमा दुर्घटनामा पर्यो। गंगारामको दुर्घटनामा मृत्यु भयो।
श्रीमानको मृत्यु हुँदा प्रतिमाको काखमा ४ वर्षको छोरा र ८ वर्षकी छोरी थिइन्। बस्नको लागि घर भए पनि छोराछोरीको पालनपोषण र पढाउने खर्च जुटाउने जिम्मा उनकै काँधमा आइदियो। एकातर्फ २७ वर्षको कलिलो उमेरमा श्रीमान गुमाउनु पर्दाको पीडा थियो भने अर्कातर्फ छोराछोरीको जिम्मेवारी थपिएको थियो।
उनले आफूलाई परेको बज्रपातलाई स्वीकार्दै जीवनलाई सहज बनाउने बाटो रोजिन्। सुरूका केही वर्ष थोरै रहेको जग्गामा भैंसी पाल्ने र तरकारी तथा मकै लगाएर बिक्री गर्ने गरेको उनले बताइन्। गएको वर्ष पनि झन्डै एक लाख रुपैयाँको हरियो मकै बिक्री गरेको प्रतिमाले बताइन्।
‘चार-पाँच वर्ष यता भैंसी पाल्न छोडे पनि एकवर्ष अघिसम्म तीन कठ्ठा जग्गामा मकै लगाएर बिक्री गर्थें, पोहोर हिउँदमा लगाएको मकै ६० हजारमा बिक्री भएको थियो भने लकडाउन सुरू भएपछि छरेको असारे मकै झन्डै ४० हजारको बिक्री भएको थियो,’ उनले भनिन्।
लकडाउनमा मकै किन्न उपभोक्ता घरमै पुगेको उनले बताइन्। छोराछोरीको खर्च बढ्दै गएको र थोरै जग्गामा खेती गरेर खर्च पुर्याउन नसकेपछि यस वर्षदेखि भने व्यावसायीक रूपमा जुत्ता-चप्पल, चुरापोते तथा ब्याग बनाउन र बेच्न सुरू गरेको उनले बताइन्।
प्रतिमाले जुत्ता-चप्पल र चुरापोते बनाउने सीप पनि तिलोत्तमा र बुटवलमै सिकेकी हुन्। उनी सदस्य रहेको शंकरनगरस्थित सामुहिक वचत तथा ऋण सहकारी संस्थाले उद्यमी बन्न चाहने महिला सदस्यलाई ५ वर्ष पहिले नि:शुल्क एकहप्ते बुटिक तालिम चलाएको थियो।
मासिक किस्ता बुझाउन जाँदा सहकारीले दिने तालिमबारे थाहा पाएपछि उनी पनि सहभागी भइन्। सहकारीले दिनभरि तालिममा सिकाउने सीपलाई प्रतिमाले घरमा आएर पनि अभ्यास गर्थिन्।
एक हप्ते तालिममा पनि उनले सारी, ब्लाउज, सल, कुर्तालगायतमा विभिन्न पत्थर र जरी भर्न सिकेको थिइन्। सिकाइकै क्रममा बुटिक भरेर ३०-३५ हजार आम्दानी गरेकी उनलाई हातमा सीप भयो भने पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको थियो। उनलाई चुरा, पोते, क्रिष्टल र मोतीको माला बनाउने तालिम लिने इच्छा भयो।
‘चुरा, पोते र माला बनाउने काम बुटिकसँगै मेल खान्थ्यो, सारी र ब्लाउज बुटिक गर्न ल्याउने दिदीबहिनीले त्यसैसँग मिल्ने चुरा र माला खोज्नुहुन्थ्यो त्यसले पनि मलाई चुरापोते बनाउने तालिम लिन दबाब बढ्यो,’ उनी भन्छिन्।
तीन दिनको चुरा र पोते बनाउने तालिम बुटवलमा उनले ६ हजार तिरेर सिकेकी थिइन्। त्यति धेरै पैसा तिरेर सिकेको सीप बिकेन भने पैसामात्रै खर्च होला भनेर सुरूमा त उनले तालिम नलिने सोचेकी थिइन् रे।
‘त्यतिबेला घरको अवस्था त्यस्तै थियो, ६ हजार जुटाउन धेरै मेहनत गर्नुपर्थ्यो, त्यति खर्च गरेर सिके पनि चुरापोते बिक्री भएनन् भने बेकार हुन्छ भनेर नजाउँ भन्ने सोचेकी थिएँ,’ उनले भनिन्।
उनले घरभित्रै बुटिक र चुरापोते बनाउँथिन्। गाउँघरमा हुने आमा समूह, टोल समिति र बचत समूहका बैठकमा आफूले बनाएका चुरापोते बोकेर जान्थिन्। बजारमा महंगोमा किन्नु पर्ने वस्तु आफ्नै टोल छिमेकमा बजारभन्दा सस्तो पाइने भएपछि दिदीबहिनीहरूले पनि रोजीछाँटी किन्ने गर्थे। प्रतिमालाई हौसला दिन्थे।
प्रतिमाले राति अबेरसम्म बसेर चुरापोते बनाउने गर्थिन्। घरभित्रको सरसफाइ, भान्साको काममा उनलाई छोराछोरीले सघाउने गर्थे। विद्यालयको गृहकार्य र भान्साको काम सकेपछि छोराछोरीले पनि चुरापोते बनाउन सघाउन थाले।
उत्पादन बढ्दै जान थालेपछि उनले सहकारी संस्थाका साधारण सभा, विभिन्न समूहले आयोजना गर्ने तीज मिलन कार्यक्रममा चुरा र पोते बोकेर बेच्न पुग्थिन्। दुई वर्षअघिको तीजमा मात्रै उनले डेढ लाख बराबरको चुरापोते बेचेकी थिइन्।
'गाउँघरमा हुने सबैजसो तीज मिलन कार्यक्रममा चुरापोते लगेर टेबुलमा बिच्छाइहाल्थे, दिदीबहिनी किन्नलाई खोसाखोस गर्नुुहुन्थ्यो,' उनी भन्छिन्, ‘एउटै कार्यक्रममा १० हजारसम्मको पनि बिक्री भयो।’
चुरापोते र बुटिकबाट राम्रै आम्दानी भइरहे पनि प्रतिमाको सीप सिक्ने धोको भने मेटिएको थिएन। चार वर्ष पहिले स्थानीय तहको निर्वाचन नहुँदै तिलोत्तमा नगरपालिकाले महिलालाई ढाका र मखमलका जुत्ता बनाउने ५ दिनको तालिम आयोजना गरेको थियो।
हरेक वडाबाट दुई जनासम्म उद्यमी बन्न चाहने महिलालाई लक्षित गरिएको उक्त तालिममा प्रतिमा पनि सहभागी भइन्। तिलोत्तमा -३ बाट प्रतिमासँगै सीता मल्ल पनि सहभागी भएकी थिइन्।
त्यतिबेला विवाह, पार्टी तथा पूजाआजामा मखमल र ढाकाका जुत्ता चप्पल लगाउने प्रचलन व्यापक भइसकेको थियो। ५ दिनको तालिमले व्यावसायिक बन्न सक्ने गरी सीप सिकाउन नसके पनि जुत्ता चप्पल व्यवसाय सञ्चालन गर्ने भोक जगाइदिएको थियो।
बुटवल, तिलोत्तमा, भैरहवालगायतका बजारमा मखमल, ढाका र विभिन्न कपडाका जुत्ता बनाउने उद्योग रहे पनि उनीहरूले तालिम भने दिँदैनथे। प्रतिमालाई भने जसरी भए पनि जुत्ता चप्पल व्यवसाय नै सञ्चालन गर्ने गरी सीप सिक्नु थियो।
उनले उद्योग सञ्चालकसँग आफूलाई शुल्क लिएर भए पनि केही महिना सीप सिकाउन अनुरोध गरिन्।
‘सुरूमा त सिकाउन मान्नुभएको थिएन, धेरै अनुरोध गरेपछि एकल महिला सीप सिकेर व्यावसायिक बन्न खोजे राम्रै होला भन्ने सोच्नुभयो होला सिकाउन तयार हुनुभयो,’ उनले भनिन्।
प्रतिमाले दुई महिनासम्म ढाका, मखमल, सिंगापुरे लुंगी, लेदर तथा विभिन्न कपडाबाट बनाइने चप्पल, सेन्डिल, ककसुज, हाप ककसुज, अफिस सुजलगायत झोला र थैलीसमेत बनाउन सिकिन्।
धेरै अनुरोधपछि मात्रै आफूले सीप सिक्न पाएको भए पनि उनी अहिले आफैं प्रशिक्षक बनेकी छन्। दुई वर्षदेखि प्रशिक्षकको रूपमा विभिन्न जिल्लामा पुगेकी उनले १ हजारभन्दा बढीलाई जुत्ता-चप्पल, झोला र चुरापोते बनाउने तालिम दिइसकेकी छन्।
यीसँगै सेनिटरी प्याड, च्याउखेती र अचार बनाउने तालिम पनि उनी सिकाउँदै आएकी छन्। दुई वर्ष पहिले तिलोत्तमा र रुपन्देहीका पालिकामा मात्र तालिम दिने गरेको भए पनि कोरोना महामारीका बीचमै गत वर्ष स्याङजा, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी, अर्घाखाँचीलगायत जिल्लामा तालिम दिन पुगेको उनले बताइन्।
दिनभरि तालिममा जाने र जुत्ता चप्पल बोकेर हाटबजार पुग्ने प्रतिमाले राति अबेरसम्म बसेर जुत्ता चप्पल तयार गर्छिन्।
‘दिउँसोमा त तयार गर्न भ्याइँदैन, राति र साँझ-बिहान बनाउने गर्छु,’ उनले भनिन्। उनी हरेक दिन ३०-३५ जोरसम्म जुत्ता चप्पल बनाउन सक्छिन्।
घरको एउटा कोठामा घरेलु उद्योगको रूपमा सुरू गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि व्यवसायलाई बढाएर दुई-तीन जनालाई रोजगारी दिने उनको योजना छ।
बाहिरबाट बजारमा ल्याइने जुत्ता चप्पलको तलीमा गत्ता प्रयोग हुने भएकोले कमजोर हुने र आफूले रबर प्रयोग गर्ने भएकोले बलियो हुँदा माग बढी हुने गरेको उनी बताउँछन्।
‘एक्लैले बनाउँदा माग पुर्याउन सकेकी छैन, हाटबजार गयो अर्को बजारमा यस्तो खालको जुत्ता बनाएर ल्याउनु है भनेर फोटो लिएरै आउनुहुन्छ,’ उनले भनिन्।
एकदिनको हाटबजारमा ५ हजारसम्मका जुत्ता चप्पल र झोला बिक्री हुने गरेको उनले बताइन्।
श्रीमान गुमाएपछिका तीन-चार वर्ष घर व्यवहार चलाउन धेरै गाह्रो भए पनि दुई-तीन वर्षयता भने आफैं कमाउन थालेपछि घर चलाउन सजिलो भएको उनको अनुभव छ।
एसएलसीमा गणित विषय लागेपछि पढाइलाई त्यतिकै रोकेकी प्रतिमाले छोराछोरीलाई भने दु:ख गरेर भए पनि धेरै पढाउने सपना देखेकी छन्। छोरीले अहिले बिबिएस पढ्दै छन् भने छोराले १० कक्षामा पढ्दै छन्।
उनले जुत्ता चप्पल बनाएर बिक्री गरेकै पैसाबाट छोराछोरीको पढाइ र घरखर्चसँगै मासिक केही बचतसमेत गर्न थालेकी छन्।
‘बचत तथा ऋण सहकारी, साना किसान सहकारी र दिदिबहिनीले बनाएको समूहमा गरेर मासिक ५-६ हजार बचत गर्छु, घर खर्च राम्रै चलेको छ,’ उनले भनिन्।
आर्थिक अवस्था कमजोर भएका, श्रीमान गुमाएका र विभिन्न कारणले एकल अवस्थामा पुगेका महिलाहरूलाई आफूले जस्तै सीप सिकेर उद्यमी बन्न सके परिवार, आफन्त र छरछिमेक कसैसँग आर्थिककै कारण कमजोर बन्न नपर्ने उनको सुझाव छ।