दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको ९८ प्रतिशत काम पूरा भएको छ।
लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो।
२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको सम्मेलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जनाएको छ।
निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो।
कुल ३१ करोड ७९ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको सम्मेलन केन्द्रको पहिलो चरणको काम करिब अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।
बितेको एक वर्ष कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि निर्माण कार्य केही पछाडि धकेलिएको उनले बताए।
२०७३ साल जेठ ८ गते २५६० औं बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने प्रतिवद्धता गरेअनुरूप दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको शिलान्यास गरिएको थियो।
प्रधानमन्त्री ओलीले दुई वर्षभित्रै सभागृह निर्माण गर्ने बताएको भए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा नै दुई वर्ष बितेको थियो। तीन सय ८६ दशमलव ८८ वर्गमिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमूना भएको कोषको दाबी छ।
कोषका उपाध्यक्ष त्रिपाठीले आगामी बुद्धजयन्ती नयाँ संरचनामा नै मनाउने गरी तयारी गरिएको बताए।
‘पहिलो चरणमा सम्मेलन केन्द्रको निर्माणको काम ९८ प्रतिशत पूरा भएको छ, दोस्रो चरणमा अतिथी गृह, पार्किङ स्थलको निर्माण लगायतको लागि पनि ठेक्का प्रकृयाको काम अगाडि बढेको छ,’ त्रिपाठीले भने।
दोस्रो चरणमा पनि २७ करोडका बराबरका संरचना निर्माण हुनेछन्।
यो सम्मेलन केन्द्र सम्पन्न हुँदा नेपालकै सबभन्दा ठूलो र आकर्षक हुने उनले दाबी गरे। सम्मेलन केन्द्रमा आवश्यकता अनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडित हुनेछ।
पहिलो चरणमा सम्मेलनकेन्द्र, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलनकेन्द्र तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथी हुन सक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ। लुम्बिनी अत्यन्त गर्मी हुने स्थल भएकोले तापक्रम तलमाथि गर्न मिल्नेगरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ।
हलमा छानोदेखि तल १२ हजार ७ सय वर्गमिटरमा फल्स सिलिङ लगाइँदै छ। त्यस्तै, ध्यान केन्द्रको छानो १२ दशमलव ३३ मिटरदेखि २० दशमलव ४९ मिटरसम्मको उचाइको छ।
छाता शैलीमा निर्माण भइरहेको अत्याधुनिक र सुविधा सम्पन्न सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरी त्यसैमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको हो।
एक वर्गमिटर गोलाइका पिलरसहित फरक शैलीमा बनिरहेको सम्मेलन केन्द्रको छाना स्टिल र फलाम प्रयोग गरी बनाइएको छ। सानो ठूलो आकारमा विभाजन गरेर पनि कार्यक्रम गर्न मिल्ने गरी सम्मेलन केन्द्र बनाइएको कोषको भनाइ छ।
जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरूयोजनामा मेलखाने गरी निर्माण गरिएको उपाध्यक्ष त्रिपाठीले बताए।
कोरियन गुम्बाशैलीको गोलाकार छानामाथि बुद्धको आँखा आकृति बनाइने छ।
ठेक्का प्रकृया सुरू भएको दोस्रो चरणमा कम्पाउण्ड वाल, ल्याण्ड स्केप, पार्किङ, विद्युतीकरण, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, शौचालय, सौन्दर्यीकरण लगायतका संरचना निर्माण हुनेछन्।
दोस्रो चरणको काम पनि करिब एक वर्षभित्रै सम्पन्न गरिने त्रिपाठीको भनाइ छ।