लुम्बिनी प्रदेशका ७ वटा जिल्लामा लक्ष्यभन्दा धेरै कमले कोरोना विरुद्ध पहिलो चरणको खोप लगाएका छन्। गत माघ १४ गतेबाट नेपालभर सुरू भएको पहिलो चरणको खोप अभियान २४ गते सकियो।
यो अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ५१ जनाले खोप लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको थियो। लक्ष्य लिएमध्ये खोप लगाउने यो संख्या ८४ प्रतिशत मात्रै हो।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ७ वटामा लक्ष्यभन्दा कमले खोप लगाएका छन् भने ५ वटा जिल्लामा लक्ष्यभन्दा बढिले खोप लगाएका छन्। प्रदेशमा कोरोना संक्रमणको बढि प्रभाव देखिएको रूपन्देही, बाँके, बर्दियासँगै अर्घाखाँची, रोल्पा, गुल्मी र पूर्वी रूकुममा लक्ष्य भन्दा कमले खोप लगाएका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा कम बाँकेमा जम्मा ६५ प्रतिशतले पहिलो चरणको खोप लगाएका छन्। बाँकेमा ७ हजार ७ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेकोमा ४ हजार ९ सय ६७ जना मात्र खोप लगाएका हुन्।
त्यस्तै कोरोना संक्रमणको धेरै जोखिम रहेको रूपन्देहीमा पनि लक्ष्यभन्दा ३३ प्रतिशत कमले खोप लगाएका छन्। रूपन्देहीमा १० हजार १ सय ५३ जनालाई खोप लगाउने लक्ष्य लिएको भए पनि ६ हजार ७ सय ९१ जनाले मात्र खोप लगाएका छन् भने ३ हजार ३ सय ६२ जना खोप लगाउन गएनन्।
बाँकेमा दुई वटा स्थानमा खोप केन्द्र तोकिएकोमा रूपन्देहीमा ५ स्थानबाट खोप लगाउने व्यवस्था मिलाईएको थियो। त्यसैगरि अर्घाखाँचीमा ६९ प्रतिशत, पूर्वी रूकुममा ८२ प्रतिशत, रोल्पामा ९१ प्रतिशत, बर्दियामा ९८ प्रतिशत र गुल्मीमा ९३ प्रतिशतले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै कोरोनाको बढि प्रभाव देखिएको दाङ र कपिलवस्तु संगै पाल्पा, पश्चिम नवलपरासी र प्यूठानमा लक्ष्य भन्दा बढीले खोप लगाएका छन्।
दाङमा २ हजार ९ सय ७० जनाले खोप लगाउने लक्ष्य लिएकोमा ३ हजार ५ सय ४६ जनाले खोप लगाएका छन्। त्यस्तै पाल्पामा पनि २ हजार ७ सय १२ जनाले खोप लगाएका छन्। पाल्पामा २ हजार ४ सय ६० जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले कतिपय जिल्लामा थोरै र कतिपय जिल्लामा धेरै लक्ष्य निर्धारण गरिएकोले लक्ष्य भन्दा धेरै र थोरै खोप लगाएको देखिएको बताए। खोप लगाउनुपर्नेहरु डराएर नभई जिल्लाहरुले लक्ष्य तोक्दा नै बढि र कम तोकेर पठाउंदा लक्ष्य भन्दा तलमाथी भएको देखिएको चौधरीको भनाई छ।
तर खोप अभियान सुरू हुँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अरू स्वास्थ्यकर्मी तथा चिकित्सक खोप लगाउन तयार नभएपछि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल आफैंले खोप लगाएर अभियानका शुरुवात गरेका थिए।
डा. खनाल र केही चिकित्सक र स्वास्थ्यकर्मीले पहिलो दिन लगाएको खोपको कुनै नकारात्मक असर नदेखिए पनि दोस्रो र तेस्रो दिनदेखि बल्ल खोप लगाउनेहरुको संख्या बढ्न थालेको थियो।
स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरिले यो खोप नयाँ भएकोले केही नकारात्मक असर देखिन्छ कि भनेर डराए पनि रूपन्देहीमा २ जनामा सामान्य ज्वरो बाहेक अरुमा केहि असर नदेखिएको बताए।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभशिल्ड खोपमध्ये लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई २ डोज पुग्ने गरि ८ हजार ७ सय ६८ भाईल खोप आएको थियो।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका र कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिनेहरुलाई प्राथमिकता दिईएको थियो। सोहि अनुरुप १४ गतेदेखि २४ गतेसम्म सम्बन्धित जिल्ला अस्पताल तथा तोकिएका खोप केन्द्र मार्फत खोप लगाईएको थियो।
देशका सबै जिल्लामा १४ गते एकैपटक खोप अभियान शुरु गर्ने सरकारको लक्ष्य भएको भएपनि लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा भने प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयको वेवास्ताका कारण शुरु हुन सकेको थिएन।
पहिलो चरणमा खोप लगाएकाहरुलाई पुनः ४ हप्तापछि दोश्रो डोज खोप लगाईने छ। पहिलो डोज लगाएकाहरुलाई खोप केन्द्रमा दिईएको कार्डका आधारमा दोश्रो डोज लगाईने प्रवक्ता चौधरीले बताए।