रुपन्देही देवदह चरङगेकी आस्था खत्री दुई-चार जना मानिससँग भेट हुनासाथ क्यान्सरबारे सुनाइहाल्छिन्। उमेरले १८ वर्षमात्रै पुगेकी उनलाई क्यान्सरबारे धेरै कुरा जानकारी छ। ती कुरा उनले पढेर नभई आफैंलाई परेर थाहा पाएकी हुन्।
बाह्र वर्षको कलिलो उमेरमै रक्तक्यान्सर भोगेकी आस्था क्यान्सरमुक्त भएको चार वर्ष भयो। २०७२ साल पुसदेखि आफ्नो शरिरको लागि उनको आफ्नै बोनम्यारोले रगत तयार गर्न थालेको छ।
लाखौं खर्च गरेर क्यान्सर निको हुने भए पनि यसले बिरामीलाई मात्र होइन, परिवार, आफन्तलाई मानसिक र आर्थिक क्षति पुर्याउँछ। भेटेका मान्छेलाई आस्था क्यान्सरको रोकथाम नै सबैभन्दा उत्तम विकल्प हुने सुझाव दिन्छिन्।
२०७० असारमा आस्था बुटवलको एउटा विद्यालयमा ८ कक्षामा पढ्थिन्। उनको पढाइ राम्रो थियो। बुवा वैदेशिक रोजगारीमा थिए, उनी आमा र दुई वर्षका भाइसँगै डेरामा बस्थिन्।
आठ कक्षाको फर्स्ट टर्मिनलको परीक्षा चलिरहेको थियो। एकदिन उनलाई अचानक ज्वरो आयो। त्यो दिन नेपाली विषयको परीक्षा थियो। उनले १० नम्बरको प्रश्नको उत्तर बिगारेकी थिइन्। परीक्षा दिएर घरमा आएपछि उनलाई ज्वरो आयो। परीक्षा बिग्रिएको चिन्ताले ज्वरो आयो होला भन्ने सोचिन्।
उनकी आमाले सिएमए पढेकी थिइन्। आस्थालाई सिटामोल दिइन्, भोलिपल्ट ज्वरो कम भयो उनी परीक्षा दिन गइन्।
भोलिपल्ट पनि उनलाई फेरि ज्वरो आयो। सिटामोल खाएपछि सन्चो हुने फेरि ज्वरो आउने क्रम तीन-चार दिन चलिरह्यो। आमाले अरू कारणले पनि हुनसक्छ अस्पताल जाऔं भनेकी थिइन्। आस्थालाई परीक्षा छुटाउन मन लागेन, अस्पताल नगई औषधी खाएरै परीक्षा दिन गइरहिन्।
परीक्षा सकिएपछि उनलाई आमाले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा लिएर गइन्।
‘त्यतिबेला ज्वरो आउने सन्चो हुने भइरहेको थियो, मलाई भने कमजोरी महशुस भएको थियो,’ आस्था भन्छिन्।
अस्पतालमा गएपछि रगत, दिसा-पिसाब सबै परीक्षणपछि थाहा भयो- उनको रगतमा हेमोग्लोबिनको मात्रा घटेर ८ प्वाइन्टमा झरेको रहेछ। डाक्टरले भाइरल ज्वरो र खानामा ध्यान नदिएकोले हेमोग्लोबिन घटेको भन्दै हेमोग्लोबिन बढाउने औषधी र प्रशस्त अनार खान सुझाव दिएर घर पठाइदिए।
सामान्य बालबालिकाको भन्दा धेरै नै हेमोग्लोबिन घटेको र कमजोरी पनि देखिएकोले उनले दिनमा तीन-चारवटा सम्म अनार खान थालिन्। यो क्रम १०-१५ दिन चल्यो।
‘मैले यति धेरै अनार खान्थें कि मेरा दाँत र जीब्रो कालै हुन्थ्यो, मलाई छिटो सञ्चो भएर बलियो बन्नु थियो,’ उनी सम्झिन्छन्।
जति ध्यान दिएर प्रशस्त पौष्टिक खाना खाए पनि उनको शरिर तंग्रिनुको साटो कमजोर बनिरहेको थियो। दुई हप्तापछि फेरि अस्पताल गएर हेमोग्लोबिन जाँच गरिन्। रिपोर्टमा हेमोग्लोबिन ६.८ मा झरेको देखायो।
अस्पतालमै दुई पोका रगत चढाएपछि उनको हेमोग्लोबिन केही बढ्यो। अलि सन्चो भएजस्तो लाग्यो। दुई-चार दिन घरमा बसेपछि उनी विद्यालय जान थालिन्।
एकदिन घरमै बसेकी थिइन्, अचानक गर्दनको एक साइड नराम्रोसँग दुख्यो। टाउको दाँयाबाँया घुमाउन पनि सकिनन्।
उनलाई काठमाडौंस्थित कान्ति बाल अस्पताल लगियो। कान्तिमा २१ दिन भर्ना गरेर परीक्षण र उपचार गरे पनि निको हुनुको साटो उनको समस्या बल्झिँदै गयो।
‘मलाई ज्वरो आइरहन्थ्यो, ढाड र हिप बोन दुख्थ्यो, बस्न पनि नसक्ने हुन्थें, नदुख्ने औषधी खाएपछि आधा-एक घन्टापछि अलि कम हुन्थ्यो,’ आस्थाले भनिन्।
दैनिक रगत तानेर जाँच्ने क्रम चलिरहेको थियो। उनको रिपोर्टमा भने हेमोग्लोबिन कम हुनेबाहेक अरू के भएको हो भन्ने पत्ता लागेको थिएन।
डाक्टरको सल्लाहमा बोनम्यारो परीक्षण गर्ने सल्लाह भयो, हिमाल अस्पताल काठमाडौंमा बोनम्यारो परीक्षण गर्दा उनलाई रक्तक्यान्सरको लक्षण देखियो।
‘क्यान्सरको सुरूआत भएकाले रिपोर्ट हेर्दा हिमाल अस्पतालको डाक्टरले पनि क्यान्सर नै हो भनेर ढुक्कले भन्न सक्नु भएको थिएन,एक पटक दिल्ली गएर परीक्षण गर्न सुझाव दिनुभयो,’ आस्थाले भनिन्।
दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा परीक्षण गर्दा उनलाई क्यान्सर नै भएको पुष्टि भयो। उनलाई क्यान्सरको सुरूआत (एएलएल बी टाइप) भएकाले उपचारपछि निको हुन्छ भनेर चिकित्सकले परिवारलाई आश्वस्त पारेका थिए।
आस्थाकी आमा मेडिकल विद्यार्थी भएकाले रिपोर्टमा लेखिएको कुरा र चिकित्सकको भाषा बुझ्थिन्। छोरीलाई रक्तक्यान्सर भएपछि परिवारमा चिन्ता थपियो। आस्थालाई भने के भएको भनेर थाहा थिएन। परिवारले यही भएको हो भनेर जानकारी गराउने उनको उमेर पनि भएको थिएन।
बुटवल-काठमाडौं-दिल्ली गर्दा परीक्षण र उपचारमै धेरै खर्च भईसकेको थियो। त्यहाँको उपचार खर्च महंगो हुने भएपछि उनलाई चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा लगियो।
अस्पतालमा एकदिन डाक्टर कृष्णसागर शर्माले 'तिम्रो कपाल लामो रहेछ, काटौं है' भने।
उनलाई भने कपाल मन पर्थ्यो। डाक्टरलाई 'नकाटे हुँदैन' भनिन्। डाक्टर शर्माले तिमीलाई नर्मल क्यान्सर लागेको छ, औषधीले कपाल झर्छ तिमीलाई पनि गाह्रो हुन्छ पहिले नै काटेपछि तिमीलाई पनि सजिलो हुन्छ भनेपछि उनले आफूलाई क्यान्सर भएको थाहा पाइन्।
‘त्यो बेला मसँगै मामा हुनुहुन्थ्यो, आमा भने बाहिर हुनुहुँदो रहेछ, उहाँलाई काउन्सिलिङ गर्न नै तीन-चार घन्टा लागेको रहेछ,' उनले भनिन्,'डाक्टरले भने पनि आमासँग मलाई कसरी क्यान्सर लाग्न सक्छ? यति धेरै समयदेखि अस्पताल धाइरहेका छौं म भनेर कराउन थालें, आमाले सम्झाउनु भयो।’
त्यो बेला टिभीमा 'एक हजारोंमे मेरी बेहेना हे' भन्ने हिन्दी सिरियल आउँथ्यो। सिरियलमा बहिनीलाई क्यान्सर लागेको हुन्थ्यो, दिदीले बोनम्यारो ट्रान्सप्लान्ट गरेपछि सन्चो भएको कथा थियो।
'मैले पनि आमालाई मलाई कसले बोनम्यारो दिन्छ भनेर सोधिरहें,’ आस्थाले भनिन्।
२०७१असोज १७ गते बडादशैं थियो। त्यही दिनदेखि आस्थाको किमोथेरापी सुरू भयो। असोज २३ गते तेह्रौं जन्मदिन पनि उनले क्यान्सर अस्पतालको हेमाटोलोजी वार्डमै मनाइन्।
‘दशैंको दिन केमोथेरापी चढाइएको छ, तिमीलाई दुर्गामाताको पनि आशिर्वाद छ छिटो सन्चो हुन्छ भनेर डाक्टरले सम्झाउनुहुन्थ्यो,’ उनले सम्झिइन्।
आठ क्लासमा भर्ना भए पनि उनी विद्यालय जान नपाएको ४ महिना पुगिसकेको थियो। उनलाई अस्पतालमा किमोथेरापीको पीडाभन्दा धेरै विद्यालयको कोर्स अगाडि पुगेको र आफ्नो छुटेको हुन्थ्यो।
‘परिवार र डाक्टरले एक वर्ष पढाइ छुटेर केही हुँदैन भन्नुहुन्थ्यो मलाई भने स्कुल छुटिरह्यो भने सात कक्षाका साथीहरूसँग अर्को वर्ष सँगै पढ्नुपर्छ भनेर चिन्ता लागिरहन्थ्यो,’ उनले भनिन्।
अस्पतालको हेमाटोलोजी वार्डमा चार महिनाका बच्चादेखि ८० वर्षका वृद्धवृद्धाको एकै ठाउँ उपचार भइरहेको थियो।
रक्तक्यान्सर भए पनि आस्थाको आत्मबल यति बलियो थियो कि उनी केही भएको छैन जस्तो देखिन्थिन् रे।
'डाक्टर नर्सहरूले पनि आत्मबल बढाए छिटो सन्चो हुन्छ भन्नुहुन्थ्यो,' उनले भनिन्,'म पनि मुटु दह्रो पार्थें।'
उनलाई हेमाटोलोजी वार्डमा ६ महिना राखियो। असोजदेखि फागुनसम्म पहिलो चरणको उपचार भयो। अस्पतालको बेडमै १७ दिन कोचिङ पढेर उनले आठ कक्षाको परीक्षा पनि दिइन्।
‘परिवारले फेल भए पनि रून पाइँदैन भनेर परीक्षा दिन सहमति दिनुभयो। फाइनल परीक्षाको बीचमा दुई पटक रगत चढाएर भए पनि दिएकी थिएँ, राम्रै अंक ल्याएर पास भएँ,’ उनले भनिन्।
आस्थाले कलिलैमा जीवन बुझ्ने मौका पाइन्, नेपालको स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने अनुभव गरिन्। दु:खसुखमा परिवार, आफन्त, छरछिमेकीको व्यवहार कस्तो हुने रहेछ भनेर बुझ्ने मौका पनि पाइन्।
अस्पतालमा छोरा र छोरीको उपचारमा परिवार, छरछिमेकी र आफन्तले विभेद गरेको देख्दा अहिले पनि उनको मन पोल्छ ।
‘कतिपय छोरीमान्छेलाई सन्चो नहुने भएपछि उपचार पुरा नगरी फर्काएर लैजानुहुन्थ्यो,’ उनले भनिन्।
उनलाई भने आफ्नो परिवारले उपचारको लागि गरेको संघर्ष देखेर भित्रैदेखि छिटो निको हुने साहस बढ्थ्यो, आत्मबल जाग्थ्यो।
‘मेरो उपचारको लागि परिवार, आफन्त, विद्यालय र साथीहरूबाट पनि आर्थिक संकलन अभियान सुरू भएको थियो, स्कुलका साथीहरू, शिक्षकले पनि पैसा पठाउनुभएको थियो,’ उनले भनिन्।
तीन वर्षको क्यान्सरको उपचार क्रममा पहिलो वर्ष क्यान्सरको निदान र किमोथेरापीमा बिताए पनि ९ र १० कक्षा भने उपचारसँगै विद्यालयमै गएर पढेर पुरा गरिन्।
उपचारको क्रममा सुइका घोचाइ र किमोथेरापीभन्दा क्यान्सर जितेर आए पनि बिचरा भनेर हेरिने व्यवहारले आस्थालाई पीडा दिन थाल्यो।
उनले कक्षामा मेहनत गरेर पढ्थिन्, राति अबेरसम्म गृहकार्य लेख्थिन्। परिवारलाई भने पढाइभन्दा उनको रोग र उपचारको चिन्ता थियो।
‘आमाले सर-मेडमलाई धेरै गृहकार्य नदिन भन्न थाल्नुभयो, सरहरूले पनि गाह्रो हुन्छ भने होमवर्क नलैजाउ भन्नुहुन्थ्यो मलाई भने म बिरामी भनेर कमजोर देख्नुभयो भनेर पीडा हुने गर्थ्यो,’ उनले भनिन्।
उनलाई क्यान्सरसँग लडिरहेकी बिचरी भनेर घरपरिवार, विद्यालय, आफन्त टोलछिमेकीले गर्ने दयाभावले पीडा दिन्थ्यो। कहिलेकाहीँ त जीवन नै अन्त्य गरौं भन्ने गलत भावना मनमा आउँथ्यो रे।
‘म अब सन्चो भए पनि केही गर्न सक्दिनँ कि भन्ने लाग्थ्यो, बुवाआमाले ऋणधन गरेर उपचार गरिरहे पनि जीवनलाई नै अन्त्य गरूँजस्तो लाग्थ्यो। अहिले सम्झिँदा त्यतिबेला म गलत रहेछु भन्ने लाग्छ,’ उनले भनिन्।
अहिले उनी आफूलाई भएको क्यान्सरलाई कमजोरी नठानी यसले दिएको अनुभवलाई बलियो पक्षको रूपमा लिन थालेकी छन्।
‘मैले क्यान्सलाई जिते पनि क्यान्सरसँग लडिरहेकालाई प्रेरणा जगाउन चाहन्छु, समाजलाई क्यान्सरविरूद्ध सचेतना जगाएर सेवा गर्छु भन्ने सपना देख्न थालेकी छु,’ उनले भनिन्।
कहीँ पनि थोरै बोल्ने अवसर पाए अहिले उनी आफ्नो भोगाइ सुनाउँछिन्: क्यान्सर जो-कोहीलाई जहिले पनि हुन सक्छ त्यसको लागि आफ्नो खानपान, रहनसहन र जीवनशैलीमा सुधार गर्नुपर्छ।
‘क्यान्सर भयो भन्दैमा जीवन नै सकियो भनेर आत्तिने होइन, आत्मबल बलियो बनाएर म रोगलाई जित्छु भनेर उपचार गरे निको हुन्छ भनेर सल्लाह दिने गर्छु,’ आस्थाले भनिन्।
उनी अहिले क्यान्सरविरूद्धको सचेतना अभियानसँगै युवाहरूलाई १८ वर्ष पुरा भएपछि रक्तदान गर्न प्रोत्साहन गर्दै आएकी छन्।
'बिरामीका लागि रगतको महत्व के हुन्छ भन्ने मैले बुझेकी छु, मैले कोही रक्तदाताको रगतबाटै जीवन पाएकी हुँ, मेरो जीवन रक्तदानको महत्व र क्यान्सरविरूद्धको अभियानमा लगाउन चाहन्छु,' उनले भनिन्।
आस्था अहिले स्टार्ट एटिन स्टार्स टिम रुपन्देहीकी सचिव छन्। जुन क्लबले अठारौं जन्मदिनमा किशोरकिशोरीलाई रक्तदान गर्न हौसला बढाउने गर्छ। उनले क्यान्सरका गरिब बिरामीको उपचारको लागि रकम संकलन पनि गर्छिन्।
‘क्यान्सर निको हुनुमा बिरामी, परिवार र चिकित्सकमात्र नभएर आफन्त, समाज र सरकारको साथ आवश्यक हुन्छ,’ आस्था भन्छिन्, ‘म मेरो क्यान्सर कथा धेरैभन्दा धेरैलाई सुनाउन चाहन्छु ताकी हरेक उमेर पुगेको युवाले रक्तदान गर्ने तत्परता देखाओस् र क्यान्सरको उपचार सम्भव छैन भन्नेहरूले मेरो कथा सुनेर आफ्नो सन्तान अझै छोरीहरूको उपचारप्रति चासो दिन सकून्।’